शनिवार |

आँसु बगेको छ इन्द्रावतीमा

विनोद नेपाल

वैश्विक महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै चपेटामा पारेपछि हिँडिरहन रुचाउने गोडा कुँजिएजस्ता भएका छन् । मानिससँग मानिस डराउनुपर्ने अवस्थाले घरबाहिर निस्कनै पनि एकखालको सजगता अपनाउनुपर्ने बाध्यता छ भने अलि पर पुग्ने कुरा त झन् डरलाग्दो । धेरै कुरा सोच्नुपर्ने ।

शनिबार, असोज ९ गते । “आज कतै घुम्न जाने कि ?” दिनेश भाइले एकाबिहानै प्रस्ताव गरे । खुट्टा उचालिए । मन हौसियो तर “यस्तो समय छ, भीडभाडमा मिसिनु असुरक्षित हुन सक्छ, खानपिनको तालमेल पनि मिलाउनै प¥यो, कहाँ जाने होला त ? डरैडरको यात्रा कसरी आँट्नु ?” सोचमा परेँ । यसपछि केही दिनको बिदामा अमेरिकाबाट आएको कान्छो छोरो सुविज्ञलाई सोधेँ, “कतै घुम्न जाने विचार छ बाबु ?”
“हुन्छ जाउँ न त, बरु कहाँ जाने ?” उसले हत्त न पत्त जवाफ फर्कायो । उहाँ पढाइले थिचिएको र घुम्नकै लागि यहाँ आएको उसले नजाउँ भन्ने कुरै थिएन । यसपछि ठाउँको खोजी हुन थाल्यो । अन्त्यमा हामी पुग्यौँ, मेलम्ची बजार जाने निर्णयमा । यस वर्षको मनसुनी वर्षाको प्रारम्भमै विपत्तिको चपेटामा परेको मेलम्ची क्षेत्र अहिलेसम्म नपुगेको म यसका लागि तयार भएँ ।

खानापश्चात् १० बजेको हाराहारी यात्रा प्रारम्भ भयो, साँगा भञ्ज्याङ पुग्न झन्डै ४५ मिनेट लाग्यो । यता नागढुङ्गा र उता साँगाबाट बाहिर निस्केपछि राहतको महसुस गर्छ, भिन्नै संसारमा प्रवेश गरेको महसुस गर्छ ज्यानले । खै किन हो ? उकुसमुकुसबाट मुक्त भएकोमा लामो श्वास फेर्छ तर मानिस यही काठमाडौँ खाल्डो मन पराउँछन्, यतै तानिन्छन्, यतै हानिन्छन् । रोगव्याधि, अपराध, के छैन यहाँ ? समस्यै समस्या छ । फोहोरको समस्या छ, पानीको समस्या छ । आएको मेलम्ची पनि हरायो । आफूलाई सभ्य ठान्ने असभ्यको, पढेलेखेर पनि अशिक्षितको रजगज भएको खाल्डो हो यो । यहाँ मनपरी गर्न सक्नेले मोजमस्ती गर्छ । कालाबजारी, भ्रष्ट, तस्कर र दुराचारीको वाहवाही हुन्छ । ढोङ्गी, आडम्बरीको चुरीफुरी चल्छ । सम्भवतः काठमाडौँबाहिर मात्रै साँच्चिकै नेपाल छ । यहाँबाट बाहिर निस्केपछि मात्रै वास्तविक नेपाल देखिन्छ । यसैकारण काठमाडौँका यी भञ्ज्याङ कट्दा बेग्लै आनन्द महसुस हुन्छ ।

काभ्रेमा थुप्रै छन्– अवलोकनयोग्य र सुन्दर स्थान । साँगाको अग्लो शिव मूर्ति अचेल विशेष आकर्षणको थलो भएको छ । बनेपा आसपास र धुलिखेलको सुन्दरता अनि उता पनौती र खोपासीमा अझै पनि आफ्नोपन जीवित छ, आफ्नै कर्ममा रमाउनेको बाहुल्य छ । धुलिखेलबाट ओरालो लागेपछिको भूगोल गजब रमाइलो लाग्छ । तल समथर फाँट, परपर हरिया पहाड । उता पर पछाडिपट्टि हाँसिरहेका हिमाल । आहा ! कति सुन्दर दृश्य ! भिन्नै संसारमा पुगेजस्तो महसुस हुन्छ । ओरालोमा केराघारी भन्ने ठाउँ आइपुग्छ अनि तीनपिप्ले । वनस्पतिका नाम जोडिएका स्थान स्मरणमा आउँछन् ह्वाह्र्वार्ती । थुप्रै छन् हामीकहाँ यस्ता नाम– बरबोटे, पीपलटारी, पीपलडाँडा, लप्सेफेदी, केराबारी, चिलाउनेवास, ओखरबोट, आँपचौर, बाँसगढी, लाँकुरी भञ्ज्याङ, खनियाँखर्क आदि ।

उता प...र डाँडामा पलाञ्चोक भगवतीको मन्दिर देखिन्छ । हाम्रो संस्कार मन्दिर देख्नासाथ हात जोड्ने, शिर निहुराउने छ, सोहीअनुसार श्रद्धामा शिर निहुरिन्छ, स्वचालित रूपमा हात जोडिन्छन् । रमाइला दृश्य हेर्दाहेर्दै पाँचखाल पुगेको पत्तै हुँदैन । सेरोफेरो सबैतिर बाक्लिँदो र बढ्दो बस्ती देखिन्छ । गर्मी महसुस हुन्छ । राजधानीसँगको रसबस र लसपस तथा बजारको उपलब्धताले होला, यहाँका मानिस सचेत र टाठाबाठा अनि व्यावसायिक छन् ।
सहरलाई समृद्धिको सूचक मानिन्छ तर सहरीकरणको चपेटामा परेको छ हाम्रो कृषि । पाँचखालको उर्वर भूमि पनि अन्यत्र जस्तै यस्तै आक्रमणको निसाना बनेको छ । काठमाडौँको तरकारीको मागको ठूलो हिस्सा अहिलेसम्म यहीँबाट पूर्ति हुन्छ । बढ्दो व्यावसायिक सोच नराम्रो होइन तर बिचौलियाको चलखेलले वास्तविक कृषक र उपभोक्ता दुवै मर्कामा परिरहेको यथार्थ कसैबाट छिपेको छैन । यहाँका कृषकको पनि समस्या उही नै होला, कुरा ठूलाकै सुनिन्छ, पहुँचवालाकै सुनिन्छ, के गर्नु ?

उत्तरी सीमा कोदारी ७० किलोमिटर पर पर्छ पाँचखालबाट, सडकछेउको थुम्को बोल्छ । यो राजमार्गको पनि आफ्नै कथा छ । त्रिभुवन राजपथले काठमाडौँलाई भारतको सीमा रक्सौलसँग जोेडिएपछि उत्तरी छिमेकीले पनि चासो देखायो रे, अनि काठमाडौँ–कोदारी अरनिको राजमार्गले काठमाडाँैलाई चीनको सीमासम्म पु¥यायो । यो राजमार्ग निर्माणको सन्दर्भमा तत्कालीन राजा महेन्द्रले भनेका थिए रे “साम्यवाद मोटर चढेर आउँदैन ।” भनिन्छ, यो जवाफ दक्षिणी छिमेकीको आशङ्का लक्षित थियो । पाँचखालबाट केही तल ओरालोमा जिरोकिलो बजार छ । त्यहीँबाट देब्रेतर्फ लाग्नुपर्ने रहेछ मेलम्ची बजार पुग्न । दूरी चाहिँ झन्डै २० किलोमिटर । मेलम्ची–हेलम्बु सडक भनिँदोरहेछ यसलााई । यता कोदारी राजमार्गतर्फ सात किलोमिटर ओरालो झरेपछि पुगिँदोरहेछ दोलालघाट बजार ।
हामी लक्ष्य ताक्दै मोडियौँ पश्चिमतर्फ ओरालो । सडक कालोपत्रे छ । ‘फेदी’ पुगियो । पारि भित्तामा उधिनिएको दृश्य, भारी बोक्न तम्तयार ट्रिपर देखिए । विकास भन्नु नै प्रकृतिको बीभत्सता भएको छ अचेल र त्यही विकासको नाममा प्रकृति दोहनको एउटा चित्र थियो त्यो ।

‘चा खोला’ पुल तरेपछि रानीटार आयो । सवारीको चाप उत्तिको छैन । यसैले गतिमान छ हाम्रो गाडी । हरियो फाँट छिचोल्दै कुन्ताबेँसी पुगियो । कुन्ताबेँसी सुन्दर रहेछ । बजार विस्तार हुँदै छ उर्वर भूमिमा यहाँ पनि । धान फल्ने खेतमा घर फल्ने क्रम बढ्दै रहेछ । यहाँ पुग्दा ट्रिपरका लाम देखिए । कसैको नाम लिँदै ‘ऊ पारि माथि डाँडामा हो फलानाको घर’, सहयात्रीमध्येका एकले सुनाए । यो सुन्दा समकालीन राजनीतिका केही पात्र र प्रवृत्ति स्मरणमा आए ।

यत्तिकैमा आयो ‘हिगुवापाटी’ । नेवार बस्ती भएको अनुमान गरियो ठाउँको नामबाट । यहाँबाट चाहिँ अर्को कोल्टो फेरियो । तल इन्द्रावती देखियो । धमिलो रहेछ । बगर व्यापक, छेउछाउमा बचेखुचेका हरिया खेत । उहिले पढेको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’का रमेश विकलको सम्झना आउँछ । जुगल हिमालको पाँचपोखरीबाट उत्पन्न भई दोलालघाटनेर सुनकोसी नदीमा मिसिन्छ यो ।
इन्द्रावती शान्त छ तर यो युद्धपछिको शान्ति हो, मुर्दा शान्ति हो, हामी जानकार छौँ । हामी यसैको उपद्रोलाई नजिकबाट नियाल्न अघि बढ्दै छौँ । इन्द्रावती छाती फर्काएर बगिरहेको छ, मान्छेका मनमा चोट थोपरेर, यद्यपि ती चोट आफ्नै कर्मले निम्त्याएका हुन् भन्ने वास्तविकता मानिसले स्वीकार गर्नैपर्छ चाहेर वा नचाहेर पनि ।

मण्डनदेउपुर गाउँपालिकाको सीमा सकिएसँगै काभ्रे छाडियो, सिन्धुपाल्चोक जिल्ला पसियो । पहिरोले लछारेका घाइते भीर, पाखा र ढिक ठाउँठाउँमा देखिए । साँच्चै कति दुख्दो हो, कति पीडा हुँदो हो धरतीलाई यस्ता चोट लाग्दा ? मनमा अनेक कुरा खेल्न थाल्छन् । म भावुक हुन्छु, आफ्नै शरीरमा कतै सानो घाउ लाग्दाको पीडा सम्झन पुग्छु ।
आँखा उता आफ्नै धुनमा बगिरहेको इन्द्रावतीतर्फ हुत्तिन्छन् । मनमनै भन्छु, यस वर्षको मनसुनका प्रारम्भिक दिनमै बबण्डर मच्चाउने यही इन्द्रावती त हो, कस्तो रौद्र रूप देखाएछ, कति निर्दयी भएछ हँ त्योबेला ? लाग्थ्यो नदीहरू मान्छेका पीडा बगाइदिन्छन्, आँसु बगाइदिन्छन्, दुःख बगाइदिन्छन् । गतिशील भएर जिउनका लागि ऊर्जा र प्रेरणा दिन्छन् । यसैले सबै बगाउँदा बगाउँदै पनि यी पवित्र र पुज्य मानिन्छन् तर यिनले बेलाबखत पीडा दिन्छन्, दिइरहेछन् । शान्त देखिए पनि आफ्नो मार्गमा अवरोध उत्पन्न गरिँदा, बाटो मिचिँदा, बहाव रोकिँदा नदीको आक्रोश देखिन्छ ।

सडकमाथि नै इन्द्रावती चढेको ठाउँठाउँमा भत्केको सडक र इन्द्रावतीले छाडेका डोबबाट प्रस्टै हुन्थ्यो । सानो खोलाले पनि थुप्रै क्षति पु¥याएको अनुमान सडकछेउका फोहोरका थुप्राबाट गर्न सकिन्थ्यो । फेदीमा हरियो फाँटमाथि हरियो वन सुन्दर देखिन्छ, उता पारि इन्द्रावती किनारमा । उजाड बगर फैलिएको छ यता लमतन्न । मेलम्ची नगरपालिकाअन्तर्गत फटकेश्वर भन्ने सानो बजार आइपुग्यो । जर्के खोलामाथिको पुल पार गरेर अगाडि बढियो । सिन्धु खोला, सिन्धु पुल हुँदै यात्रा अगाडि बढ्दो छ । दायाँतर्फ छ इन्द्रावती अघिदेखि नै । पारिपट्टि समानान्तर सडक छ स्तरोन्नति हुँदै गरेको, “चौतारा पुग्छ यो सडक,” कसैले भन्छ ।
‘बाहुनीपाटी’ पुगियो अनि देखियो इलाका प्रहरी कार्यालय मेलम्ची । बजार छ सानो, नजिकै पक्की पुल देखिन्छ इन्द्रावतीमाथि । “अस्तिको बाढीले यो पुल नाघेको थियो,” दिनेशले भने । गन्तव्य नजिकिँदो छ, कौतुहल बढ्दो छ ।
फूल भनेर मात्र के गर्नु कोही कस्ता कोही कस्ता ! काँस फुलेको छ सडकछेउ । पीडामा परेका मानिसको अनुहारजस्तो फुङ्ग उडेको काँसको फूलले उदास उराठ महसुस गराउँछ । आँखालाई आराम गर्नै नदिएर अगाडि बढ्दाबढ्दै मेलम्ची नगरपालिका–११, मेलम्ची बजार पुग्दा दिउँसोको १ बज्यो ।

गर्मी छ । “ऊ क्रसरै पो पुरिएछ,” खोलातिर देखाउँदै हाम्रा चालकले भने । सडकछेउ पुरानो बजारको दृश्य हेर्दा केही भएको छैन जस्तो, पीडा भुलिसके जस्तो लाग्छ । गाडी अड्याएर इन्द्रावतीको बगरतर्फ लाग्छौँ । सडकबाट तल बगरमा चाहिँ बाक्लै घर रहेछन् । बगरका घरमध्ये कुनै सग्लै उभिएका छन्, कुनै उत्ताना, घोप्टा, कोल्टे परेका । कोल्टिएका, ढल्केका घर हामीजस्ताका हातेफोनमा तस्बिरका रूपमा कैद भइरहेका छन् । बगरमा, बालुवामा सम्पत्ति कोट्याउने प्रयत्न गर्दैछन् कोही । काम पाएको छ डोजरले । सग्ला घरको सरसफाइ हुँदै छ । कोही ग्राहकको प्रतीक्षामा छन् । सन्नाटा होला भन्ने लागेको थियो तर जीवन रोकिन कहाँ सक्छ र ? चल्नै पर्छ, पीडा भुलेर हाँस्ने प्रयास हुँदै थियो त्यहाँ पनि ।

बगरमुनि पुरिएका छन् सयौँ मान्छेका करोडौँका सम्पत्ति, भौतिक संरचना अनि कतिका सपना । दृश्य बडो अकल्पनीय, हृदयविदारक छ तर यसको दोष हामीले नै लिनुपर्छ । प्रकृतिमाथि जबर्जस्ती गर्दा मानिसले महँगो मूल्य चुकाउनु परिरहेको छ ।
अलि माथि पश्चिमबाट आएको मेलम्ची खोला र उत्तरतर्फबाट आएको इन्द्रावतीको सङ्गम रहेछ । मेलम्ची बजारस्थित इन्द्रावतीको पक्की पुल नै टुक्राटुक्रा भएको छ, मेलम्चीमाथिको झोलुङ्गे पुल भने बचेछ । “ऊ पर बादलमुनि पर्छ पाँचपोखरी,” अशोकजीले औँलाको इशाराले देखाउनु भयो । “अनि मेलम्ची कहाँ त ?” मेरो प्रश्न ।

“ऊ.. त्यता पर्छ मेलम्चीको मुहान, यहाँबाट झन्डै २० किलोमिटर होला, कच्ची सडक छ ।” प...र पानी परिरहेको ठाउँतिर देखाउँदै अशोकजीले नै भन्नुभयो । “ए.. म त मेलम्ची बजार मेलम्चीकै छेउछाउ होला पो भनेको थिएँ त,” मैले आश्चर्य मान्दै भनेँ । “धेरै जनालाई त्यस्तै लाग्छ । आउनेहरू प्रायः त्यसै भन्छन्,” अशोकजी भन्नुहुन्छ ।
“धेरै अलमल नगरौँ भो, पानी प¥यो भने गाह्रो हुन्छ फर्कौं अब,” म अघि आउँदा देखेको सडकको अवस्था सम्झाउँदै भन्छु । अघि आएको पहिरै पहिरो भएको बाटो सम्झेर हामी जतिसक्दो छिटो मेलम्ची छाड्न हतारियौँ । झन्डै एक घन्टा मेलम्ची बजार र त्यस आसपास बाढीले पु¥याएको क्षतिको अवलोकन गरी त्यहाँबाट फिर्ता भयौँ ।

सिन्धुपाल्चोक वनको संरक्षणमा नमुना जिल्ला हो, यसैले हरियाली छ सबैतिर तर प्राकृतिक विपत्तिको पीडा पटकपटक भोगेको छ यस जिल्लाले । जुरे पहिरो, २०७२ सालको भूकम्प आदि पछिल्ला पीडा हुन्, हरेक वर्ष केही न केही भइरहेकै हुन्छ, प्राकृतिक विपत्ति परेकै हुन्छ यहाँ । सिन्धुले भोगेका मानवीय र भौतिक क्षतिको हिसाबकिताब छैन । दोहोरिइरहने पीडा भुलेर बाँच्न बाध्य छ सिन्धुपाल्चोक । यसो भन्न सकिन्छ इन्द्रावती होस् वा सुनकोसी, तिनमा आँसु बग्छ बर्सेनि र लाग्यो आँसु बगेको छ इन्द्रवातीमा यतिखेर पनि । मेलम्चीको यो यात्रामा मेलम्ची बजारका लडेका, खण्डहरमा परिणत भएका र बालुवामा दबेका बडेबडे घर र तिनका खण्डहर अनि बचेखुचेका सम्पत्ति कोट्याइरहेका मानिस देख्यौँ । यो प्रकृतिमाथिको ज्यादतीकै परिणाम हो र यसका लागि हामी नै दोषी हौँ भन्ने ठहर त्यहाँका दृश्य देख्दा यो मनले ग¥यो । त्यही मन लिएर काठमाडौँतर्फ फर्कियौँ ।