धरणीधर कोइराला रम्घामा
डा. जयराज आचार्य
यस वर्ष (२०७८ साल) माघ २२ गते हामी धरणीधर कोइराला (विसं १९४९–२०३६) को १२९औँ जन्मजयन्ती मनाउँदैछौँ । विसं २०२९ असार २९ गते भानुजयन्ती मनाउन तनहुँ चुँदी रम्घा पुगेका कवि धरणीधर कोइरालाले आफ्नो भाषणमा भन्नुभएको थियो, ‘यस्तो रमणीय ठाउँमा जन्मेका भानुभक्त आचार्य कवि नभएर अरू के होऊन् त ? यस भेगको हावापानीमा साहित्यिक रस रहेछ कि के हो – आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, माधव घिमिरे आदि नेपालका ख्यातिप्राप्त कविहरू यतै जन्मिए ।’
धरणीधर कोइरालाले त्यहाँ आयोजित सानो आमसभामा बडो मार्मिक भाषण दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘आज दुईवटा कुरा गलत साबित भएका छन् । नेपालीमा उखान छ – जब पुग्यो असी, तब घर बसी । त्यो गलत रहेछ । म आज असी वर्षको उमेरमा काठमाडौँदेखि रम्घा आइपुगेँ । म घर बसिरहेको भए यहाँ आइपुग्थेँ र ? अर्को उखान छ – जब पुग्यो असी, तब बुद्धि खसी । त्यो पनि गलत रहेछ । मेरो बुद्धि खसेको भए तपाईंहरूले मलाई सभापति बनाउनुहुन्थ्यो त ? ती दुवै उखान गलत रहेछन् ।’
‘हामी तीन जना सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) युवावस्थामा दार्जिलिङमा २००६ सालमा हामीले नै स्थापना गरेको भानुभक्तको मूर्ति देखाएर भन्थ्यौँ– एक दिन हामी तीनै जना यी भानुभक्त बाजेको घर रम्घा पुग्नुपर्छ । आज केही हामी काठमाडौँबाट यहाँ आइपुग्यौँ– हामी त भत्खरू मात्रै हौँ– जन्ती आउँदैछन् । म पहिला आइपुगेँ, अब अरू पनि आउलान् । आज मेरो अन्तिम इच्छा पूरा भएको छ । अब म मरे पनि मलाई यहीँ चुँदी खोलामा फालिदिए हुन्छ ।’ त्यस भनाइले उहाँमा भानुभक्तको जन्मस्थल पुग्ने चाहना कति तीव्र रहेछ भन्ने व्यक्त गथ्र्याे । उहाँको त्यो भाषण रेडियो नेपालको प्राविधिक टोलीले टेप–रेकर्ड गरेर रेडियोबाट प्रसारण पनि गरेको थियो ।
दार्जिलिङमा भानुभक्तको मूर्ति स्थापना गराउने र भारतको संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई समावेश गराउने सफलताको पृष्ठभूमिमा सूधपाको भाषा आन्दोलनको योगदान सबैले बुझेको कुरा हो । धरणीधर कोइराला कवितामा भन्नुहुन्थ्यो, ‘‘गाऊँ–गाऊँ र घ–र्घर् घुमिघुमि सबले राष्ट्रभाषा कराऔँ’ । अनि उहाँले भानुभक्तको अमरत्वको रहस्य पनि उनको कृति रामायण नै हो भन्नुभयो । ‘रामायण एक अमर कृति हो तर त्यो नेपालीमा थिएन । भानुभक्तले रामायण लेखे – त्यो पनि बडो बेजोड भाषा र मार्मिक शैलीमा ।’’ रामायणबाहेक अरू कृति लेखेको भए त्यति लोकप्रिय हुने थियो कि थिएन भन्न गाह्रो छ । मलाई त्यो ठीक लाग्यो ।
यस वर्ष धरणीधर कोइराला (सन् १८९३–१९८०) को जन्मजयन्ती मनाउने प्रसङ्गमा मेरो सानो पुस्तक सङ्ग्रहमा रहेको उहाँको कवितासङ्ग्रह नैवेद्य खोज्दा त्यसमा मैले कताबाट टाइप गरेर राखेको एउटा अङ्ग्रेजी चिठी पाएँ । ¥याल्फ लिलि टर्नर (सन् १८८८–१९८३) को तुलनात्मक तथा व्युत्पत्तिमूलक नेपाली शब्दकोष सन् १९३१ मा चन्द्रशमशेर राणाको आर्थिक सहायतामा छापिएको ठूलो कोष हो । त्यसमा धरणीधर कोइरालाको ठूलो योगदान थियो भन्ने कुरा उहाँले लेख्नुभएको भूमिकाबाट स्पष्ट हुन्छ । यस चिठीमा पनि सो कोषको कुरा परेको छ । त्यसको अनुवाद यस्तो छ –
हेभरब्यक
१५ जुलाई ७९
मेरा प्रिय धरणीधर,
तपाईंको १५ मईको पत्र पाउँदा अति खुसी लाग्यो जुन पत्र मलाई गत शनिबार डा. प्याटर्सनले ल्याएर दिनुभयो । डा. प्याटर्सन र उहाँकी श्रीमतीले तपाईंं र तपाईंकी नातिनीलाई व्यक्तिगत रूपमा भेट्न गएको कुरा र तपाईंहरू कुशल हुनुहुन्छ भन्ने समाचार मलाई बताउनुभयो । तपाईंहरूको, काठमाडौँको र नेपालको बारेमा उहाँहरू अलि धेरैबेर बसेर मलाई बताएको भए पनि हुन्थ्यो भन्ने चाहना थियो तर छोटो भेटघाट मात्र भयो ।
जब संस्कृतको अध्ययन भइरहेको छ भन्ने कुरा सुन्दछु म सधैँ बडो खुसी हुन्छु किनकी जुन साहित्यमा संस्कृति आधारित छ त्यसको अध्ययन हुनुपर्छ भन्ने कुरा ज्यादै महìवपूर्ण छ र जसले यसको संरक्षणको महìव छ भन्ने बुझेका छन् ती सबैले यो कुरा बुझ्नु जरुरी पनि छ । यो कुरा भारतमा मात्र होइन, अपितु भारतबाट फैलिएका विचारबाट प्रभावित भएका सबै देशमा लागू हुन्छ । संस्कृतबाट आएका सबै भाषाहरूको अध्ययन गर्दा मैले यो प्रभाव कति व्यापक रूपमा परेको रहेछ भन्ने थाहा पाएँ ।
सन् १९७९ मा मेरी प्यारी श्रीमतीको देहावसान हुनुअघि मेरो भारोपेली भाषाहरूको तुलनात्मक शब्दकोष प्रकाशित भएदेखि यता म त्यस शब्दकोषका परिशिष्ट (थप शब्द) सङ्कलन गरिरहेछु । मेरो मृत्युपछि ती शब्दहरू लण्डनको प्राच्य अध्ययन विद्यालयको पुस्तकालयमा राखिनेछन् । ती प्रकाशित भएनन् भने पनि कम्तीमा हेर्न र अध्ययन गर्नका लागि उपलब्ध हुनेछन् ।
नेपाली शब्दकोषको दोस्रो संस्करण पाइयो र डा. प्याटर्सनले तपाईंलाई दिन पाउनुभयो भन्ने सुन्दा म ज्यादै खुसी भएँ । मैले आफूलाई पनि एकप्रति पाइन्छ कि भनी प्रकाशकलाई सोधेको थिएँ तर त्यो दोस्रो संस्करणका सबैप्रति बिक्री भएर सकियो भन्ने जवाफ पाएँ ।
सदा तपाईंको
¥याल्फ टर्नर
(हेभरब्यक लन्डनबाट पूर्वोत्तर बेलायतमा २५७.३ माइल (२४३.९ किमि) पर पर्छ ।)