शनिवार |

स्वरसाम्राज्ञी लता

विजयरत्न तुलाधर

भारतका प्रसिद्ध सङ्गीतकार पण्डित दीनानाथ मङ्गेशकरका पाँच सन्तानमध्ये पहिलो सन्तान हुनुहुन्थ्यो आवाजका जादुगर लता मङ्गेशकर । भारतमा मात्र नभएर विश्वप्रसिद्ध गायिकाका रूपमा परिचित लताको जन्म भने सन् १९२९ सेप्टेम्बर २८ तारिखमा भारतको इन्दोरमा भएको थियो ।

लताको नाम सुरुमा हेमा राखिएको थियो तर पछि पण्डित दीनानाथले आफ्नो नाट्य प्रस्तुति ‘भाव बन्धन’को एक पात्र लतिकाको नामबाट प्रभावित भई छोरीको नाम लता राख्नुभयो । आशा भोसले, उषा मङ्गेशकर, मीना मङ्गेशकर, हृदयनाथ मङ्गेशकर उहाँका भाइबहिनीहरू साङ्गीतिक क्षेत्रमै हुनुहुन्छ । हजुरबुबा गणेश भट्ट भारतको पर्यटकीय नगरी गोवाको मङ्गेशी निवासी हुनुहुन्थ्यो । आफ्नो थातथलो मङ्गेशी भएकोले बुबा पण्डित दीनानाथले आफ्नो थर नै मङ्गेशकर राख्नुभयो ।
विद्यालयको पहिलो दिन नै लता विद्यालय प्रवेशबाट वञ्चित हुनुपरेको थियो किनभने उहाँले विद्यालय जाँदा आफूसँगै आफ्नी बहिनी आशालाई पनि बोकेर जानुभएको थियो । विद्यालय जाँदा बहिनी लैजान निषेध थियो । आफ्नी सानी बहिनी हेर्ने जिम्मा उहाँको काँधमा थियो र त्यही जिम्मेवारीका कारण उहाँ विद्यालय प्रवेशबाट वञ्चित हुनुप¥यो ।

लताका पिता दीनानाथको नाट्य समूह बलवन्त सङ्गीत मण्डली थियो । यही कारण उहाँले पाँच वर्षकै उमेरमा कलायात्राको आरम्भ अभिनयमार्फत गर्नुभयो । ‘सुभद्रा’मा नारदको र ‘गुरुकुल’मा भगवान् कृष्णको भूमिकामा उहाँले खेल्नुभयो । यसरी जारी रहेको पितापुत्रीको कलायात्रामा तब विश्राम लाग्यो, जब सन् १९४२ अप्रिल २४ का दिन ४२ वर्षको उमेरमा पिता दीनानाथ मङ्गेशकरको निधन भयो । त्यतिबेला लता १३ वर्षकी हुनुहुन्थ्यो । पिताको अकस्मात् निधनपछि बिचल्लीमा परेको यो परिवारलाई पिताका मित्र मास्टर विनायक दामोदर कर्नाटकीले संरक्षकत्व प्रदान गर्नुभयो । मास्टर विनायकको रेखदेखमा लताले मराठी भाषामा ‘नाचु या गाडे खेलु सारी’ बोलको पहिलो गीत रेकर्ड गराउने अवसर पाउनुभयो ।
सदाशिव राव नेर्भेकरको सङ्गीत रहेको यो गीत मराठी चलचित्र ‘किती हासल’का लागि रेकर्ड गरिएको थियो तर दुर्भाग्यवश यो गीत चलचित्रमा समावेश नै गरिएन । यसपछि मास्टर विनायककै प्रयासमा लताले ‘पहिली मङ्गला गौर’ नामक मराठी चलचित्रमा अभिनय गर्ने अवसर पाउनुभयो । यही चलचित्रका लागि ‘नटली चैत्राची’ बोलको गीत पनि गाउनुभयो । सन् १९४५ तिर मास्टर विनायकले बनाउनुभएको ‘बडी माँ’ चलचित्रमा लताले आफ्नी बहिनी आशासित एउटा सानो भूमिकामा खेल्ने मौका पाउनुभयो । यो चलचित्रमा पनि ‘माता तेरी चरणों मे’ बोलको गीत गाउनुभयो ।

परिवारको संरक्षकका रूपमा रहनुभएका मास्टर विनायकको पनि सन् १९४७ मा निधन भयो । यसपछि उहाँको परिवारको रेखदेख सङ्गीत निर्देशक गुलाम हैदरले गर्नुभयो । गुलाम हैदरको सङ्गीतमा लताले ‘दिल मेरा तोडा’ बोलको गीत गाउनुभयो । सन् १९४८ मा प्रदर्शित ‘मजबूर’ चलचित्रको यो गीत त्यसबेला लोकप्रिय भएको भयो ।

सन् १९४९ मा लताले ‘आएगा आनेवाला’ बोलको गीत गाउन पाउनुभयो । त्यतिबेलाका ख्यातिप्राप्त निर्देशक कमाल अमरोहीले बनाउनुभएको ‘महल’ चलचित्रको यस गीतमा मधुबालाले अभिनय गर्नुभएको थियो । मधुबाला त्यतिबेला नाम चलेकी अभिनेत्री हुनुहुन्थ्यो । यही गीत लतालाई सफल गायिकाको रूपमा स्थापित गराउन सफल रह्यो । यसपछि वैजयन्ती माला, नर्गिस, माला सिन्हादेखि रेखा, हेमा मालिनी, रीना राय, जीनत अमानको पुस्ता हुँदै नयाँ पुस्ताकी पद्मिनी कोल्हापुरी, माधुरी दीक्षित, काजोल आदि नायिकाका लागि पाश्र्व गायन गर्नुभयो । ‘जिन्दगी प्यारका गीत है’, ‘दिदी तेरा देवर दिवाना’, ‘तुझे देखा तो ये जाना सनम’, जस्ता लोकप्रिय गीत उहाँले गाउनुभयो । निर्माता–निर्देशक यश चोपडाका सबैजसो चलचित्रमा लताले गाउनुभएको छ । यश चोपडाका दाजु बीआर चोपडाका चलचित्रमा भने आशा भोसलेको वर्चस्व रहने गर्दथ्यो ।

लताले भारतका प्रख्यात गायक मोहम्मद रफीसँग ‘ओ सनम तेरे हो गई हम’, ‘रुत है मिलन की’, ‘झिलमिल सितारोंका आँगन होगा’ जस्ता धेरै गीतमा युगल गायिकाका रूपमा साथ दिनुभयो । यी गीतहरू लोकप्रिय छन् । यही क्रममा गीतहरूको आय आर्जनमा गायकगायिकाले पनि केही अंश पाउनुपर्छ भन्ने आवाज लताले उठाउनु थाल्नुभयो तर यस विषयमा मोहम्मद रफीले आफ्नो शालीन छविको कारण साथ दिनुभएन । आयको अंश माग्दा चलचित्र निर्माता र सङ्गीतकारहरूसँग सम्बन्ध बिग्रिन सक्ने सम्भावना देखाई रफीले यो प्रस्ताव अस्वीकार गर्नुभयो । यही कारण रफी र लताको सम्बन्धमा केही फाटो आएको थियो । रफीसितभन्दा किशोरकुमारसित गीत गाउन लता बढी रुचाउनुहुन्थ्यो ।



लताको रफीसित जोडिएको अर्को विवाद गिनिज बुक अफ वल्र्ड रेकर्डको कीर्तिमानमा पनि हो । सन् १९७४ मा लताको नाम सबैभन्दा धेरै गीत गाउने कलाकारका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि पठाइएको थियो । त्यतिबेला उहाँले बीस वटा भारतीय भाषामा करिब २५ हजार गीत गाउनुभएको दाबी पेश गरिएको थियो । त्यसको केही समयलगत्तै मोहम्मद रफीले पनि आफूले २८ हजार गीत गाएकोे दाबी पेश गर्नुभएपछि दुई बीचको विवाद अझै चुलिन पुगेको थियो । कीर्तिमानका लागि प्रस्तुत गरिएको गीतको सङ्ख्या अद्यावधिक भने हुन पाएको थिएन । सन् १९४२ देखि रफी वा लताले गाउनुभएका गीतको अभिलेख कतै नभएको र राख्ने चलन पनि नभएका कारण कीर्तिमानका लागि प्रमाण नपुगेपछि रेकर्ड कायम गर्ने काम त्यतिबेला स्थगित हुन पुगेको थियो । १९८० जुलाई ३१ मा रफीको निधनपछि सन् १९८४ मा वल्र्ड रेकर्डमा तीस हजारभन्दा बढी गीत गाउनुभएकी गायिकाका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लता मङ्गेशकरको नाम लेखिएको थियो ।

हुन त लता मङ्गेशकरले भारतका सबै सङ्गीतकारसित गीत गाउनुभएको छ तर ओपी नय्यरसित भने उहाँको कुनै गीत रेकर्ड हुन सकेको छैन भने कतिपय सङ्गीतकारसँग उहाँको मनमुटाव पनि भयो । एस डी बर्मन, शङ्कर जयकिशन र लक्ष्मीकान्त प्यारेलालसित उहाँको सम्बन्ध राम्रो थिएन । कतिपय सङ्गीतकारले लताको विकल्पमा अर्की गायिकालाई प्रतिस्थापन गर्ने प्रयत्न पनि गरेका थिए । शङ्कर जयकिशनले शारदा गायिकालाई अगाडि ल्याउने कोसिस गर्नुभयो । शारदाको स्वर रहेको चलचित्र ‘सुरज’को ‘तितली उडी उड जो चली’ गीत हिट भयो तर लताको जस्तो प्रभाव भने छोड्न सकेन । यस्तै एसडी बर्मनले सुमन कल्याणपुरलाई केही चलचित्रमा गीत गाउन दिनुभयो । ‘बात एक रात कि’ चलचित्रको ‘न तुम हम जानो’ गीतले सुमन कल्याणपुरलाई गायिकाका रूपमा स्थापित त गरायो तर तर उहाँले लताको जस्तो ख्याति भने कमाउन सक्नुभएन । यसपछि एसडी बर्मन ‘गाइड’, ‘आराधना’लगायतका चलचित्रमा लतालाई रोज्न बाध्य हुनुभयो ।

लतालाई लिएर चर्चा भइरहने अर्को विषय उहाँको विवाहबारेको हो । उहाँ जीवनभर अविवाहित नै रहनुभयो तर उहाँको नाम विभिन्न व्यक्तिसँग जोडिएर आएको पाइन्छ । एकपटक सङ्गीतकार भुपेन हजारिकासँग जोडिएर चर्चामा आयो । यस्तै अर्को नाम डुङ्गरपुरका राजा राज सिंहसित पनि जोडिएर आयो । सङ्गीतकार हजारिकाले आफ्नो आत्मकथा ‘मोइ एति जज्बात’मा आफू एक प्रसिद्ध गायिकको प्रेममा परेको प्रसङ्ग उल्लेख गर्नुभएको तर नाम भने खुलाउनुभएको छैन । धेरैले यो नाम लता मङ्गेशकरको हुनुपर्ने अनुमान मात्र गरेका छन् । राज सिंह भने क्रिकेट खिलाडी हुनुहुन्थ्यो । उहाँ भारतको क्रिकेट बोर्ड बीसीसीआईको पूर्व अध्यक्ष पनि हुनुभयो ।

सञ्चारमाध्यमले उल्लेख गरेअनुसार राज सिंहले आफ्नो पितालाई लतासित बिहे गर्न चाहेको बताउँदा शाही खानदानमा कसैको पनि बिहे सामान्य नागरिकसित गर्न नमिल्ने भन्दै उहाँले प्रस्ताव अस्वीकार गर्नुभएको थियो । लता र राजसिंह बीच गहिरो निकटता थियो तर उहाँहरूबीच बिहे भने हुन पाएन । लताले ३६ वटा भाषामा करिब पचास हजार गीत रेकर्ड गराउनुभएको छ । यसमा नेपाली भाषाका गीत पनि पर्छन् । अन्तिम नेपाली गीत भने ‘बाचुञ्जेलीलाई’ हो । उहाँले यो गीत गायक रामकृष्ण ढकालसँग गाउनुभएको हो । चलचित्र ‘माइतीघर’को ‘तिमीलाई शुभकामना मेरो’ र ‘आकाशका तिरमिरे तारा’ बोलको गीत पनि उहाँले गाउनुभयो ।

लताले चलचित्रका लागि गाउनुभएको अन्तिम गीत चलचित्र ‘रंग दे वसन्ती’ को ‘लुका छिपी’ गीत हो । रेकर्ड गरिएको अन्तिम गीत भने २०१९ मार्च ३० को दिन रेकर्ड गरिएको ‘सौगन्ध मुझे इस मिट्टी के’ होे । देशभक्तले ओतप्रोत यो गीत जस्तै सन् १९६२ मा भारतीय सेनाको मनोबल उच्च पार्न ‘ए मेरे वतनके लोगों’ गीत गाउनुभएको थियो । यो गीत सुनेर भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू पनि भावविह्वल हुनुभएको थियो भनिन्छ ।
थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित लताले सन् १९८९ मा सर्वोच्च सम्मान दादा साहब फाल्के अवार्ड पाउनुभयो । यस्तै भारतको सर्वोच्च राष्ट्रिय सम्मान ‘भारत रत्न’बाट पनि सुशोभित हुनुभयो । स्वरसाम्राज्ञी लता गत फेब्रुअरीे १ तारिखमा यस संसारबाट बिदा हुनुभयो । 