नेपालका अन्य भाषामा नेपाली साहित्य
युवराज नयाँघरे
नेपाली भाषाको इतिहासले फड्को मारेको लामै समय भयो । यो अरू भाषाको तह र लयमा नजोडिएर आफैँ सुस्थापित, सुविज्ञ र सुपूज्य छ । नेपाली भाषाको अन्तर्मन नै यसको उज्यालो, फराकिलो र सहनशीलता मान्नुपर्छ ।
देशभित्र धेरै भाषा छन् । ती हिमाल र तराई क्षेत्रमा मात्र नभएर जातजातिको मौलिकतासँगै पहिचानको खोजीले बलियै विचार स्थापित ग¥यो । त्यही क्रममा अनेक जातिका भाषा–साहित्यले गति लिने र आफ्नो बलशाली बनाउने चेष्टा खुबै मौलाएको पाइन्छ ।
नेपाली साहित्यको ऐतिहासिकतासँग धेरै कुरा गाँसिएका छन् । अनेकौँ पाटासँग नेपाली साहित्यले यात्रा ग¥यो । पछिल्लो समय नेपाली साहित्यका रचना र ग्रन्थले अनुवादको बाटो खोजिरहेका छन् । ती खोजीभित्र एकातिर आफ्नो पुरानो र विस्तारित रूपलाई गति दिन खोजेको लाग्छ । अर्कातिर अन्य भाषाभाषीको प्रतिक्रिया वा सम्बन्धसँग नजिकिन चाहेको हार्दिकपन भेटिन्छ ।
नेपाली साहित्यले जे–जसरी पैmलेर विश्व मानचित्रमा अब्बल छायाँ र काया देखाउनु पथ्र्यो, अझै त्यो कम देखा पर्छ । आज नेपाली समाजले विश्वभरि जसरी आफ्नो समग्रता देखाइरहेको छ, त्यसको तुलनामा साहित्यले मानक वा बलशाली छवि स्थापना नगरेको लाग्छ ।
अङ्ग्रेजी, हिन्दी वा चिनियाँ भाषामा पातलो परिचय बनाइरहे पनि नेपाली साहित्य नेपालभित्रकै अन्य भाषामा गएको बलियो प्रमाण भेट्न सकिन्न । छिटफुट रूपमा केही भाषामा फुटकर रचनाले अनुवादको स्थान पाए पनि देशका अन्य भाषामा नेपाली भाषाको साहित्य पुग्न सकेको लाग्दैन । हामी अनुवादको निम्ति अङ्ग्रेजी वा भारतीय समाजको एक अङ्ग भएको हिन्दीसँग जोडिन खोज्छौँ । मातृभाषामा शिक्षा भन्ने सरकारी नीतिलाई आदर वा आधार मान्ने हो भने हाम्रै देशका भाषालाई सम्मान गरिनुपर्छ ।
नेपाली भाषासँग अहिले पनि हिमालका भाषा, तराईमा बोलिने भाषा वा पहाडतिरका भाषासँग आफन्तको नाता भइसकेको लाग्दैन । भाषाबीच परम्पराको नाता त्यतिखेर प्रगाढ हुन्छ, जब साहित्य, सङ्गीत वा कलाको आपसमा अनुवाद हुने गर्छ । नेपाली भाषामा साहित्यका सबै खाले सिर्जनाले स्थान पायो । त्योसँगै सहभागिता पनि प्रशस्तै भयो । एकातिर गैरनेपालीभाषीको सहभागिता हुनु र अर्कातिर अन्य भाषाभाषीमा समेत यो भाषा–साहित्यप्रति आकर्षण हुनुले ठूलो प्रभाव पा¥यो ।
नेपाली साहित्यसँग हरेक जातजाति जोडिएको हुनाले यसको स्वाभाविक गतिले एउटा बेग्लै संसार बनाएको लाग्ने गर्छ । त्यसो त हरेक जातजातिका मूल्य–मान्यता बेग्लै, आस्था वा भिन्नै शैलीले गर्दा पनि नेपाली साहित्यले एउटा अग्लो रूप स्थापना गरेको लाग्छ । हामीले स्थानीय पाठ्यसामग्री तयार गर्दा सकेसम्म नेपाली साहित्यकै स्रोत–सामग्रीसँग जोड्यौँ भने नेपाली साहित्य फैलिने कुरामा विमति छैन । पूर्वका तराईमा बोलिने धिमाल, सन्थाल, झाँगड वा राजवंशी भाषाका प्रयोगकर्ता थोरै छैनन् । पूर्वदेखि पश्चिमसम्म नेपालको तराईमा मैथिली, अवधी र भोजपुरी भाषाभाषीको बलियो उपस्थिति छ । यी तीन भाषामै मात्र पनि नेपाली साहित्य अनुदित गर्ने हो भने एउटा गहकिलो उपलब्धि नै हुनेछ ।
मगरात क्षेत्र होस् वा शेर्पा बहुल क्षेत्र होस्, नेपाली साहित्यको अध्ययन र स्वाद लिने समुदाय ठूलै देखिन्छ । हिमाली क्षेत्रमै नेपाली साहित्यको राम्रो अनुवाद र प्रचारप्रसार गर्ने हो भने त्यो आफैँमा अनन्यतम् हुनेछ । दाङका थारू भाषी वा बर्दिया–कैलालीतिर बोलिने भाषाले आफँै पनि पाठ्यक्रम बनाएको सुनिन्छ । त्यसैगरी पल्लो किराँत, माझ किराँत र वल्लो किराँतसँग नेपाली साहित्य सोझै जोडिन सकेको छैन । अनुवादमार्फत त्यसले पार्ने प्रभावकारिता प्रायः शून्य अवस्थामै छ । विश्व समाज धेरै कारणले आफ्नो चरित्र जोगाएर हिँड्ने स्थितिमा छ । विश्वको भेल नेपालमा पसिसकेको छ । त्यो प्रभावले नेपालका अन्य भाषाभाषी पनि प्रभावित रहिरहेका छन्, त्यसैले अरू क्षेत्रको दबाब बढ्न दिनुभन्दा नेपाली साहित्यकै छाप र लयबाट नेपालका अन्य भाषाले गति लिनु उपयुक्त लाग्छ । त्यो गर्न सकियो भने हाम्रा आफ्नै भाषासँग, साहित्यसँग, संस्कृतिसँग सहयात्रा गरेको ठहरिन्छ । त्यसरी मूल सम्पर्कबाट नजिकिएको नाता र आत्मीयताले दिगो र चिरस्थायी सम्बन्ध विस्तार गर्ने गर्छ । नेपाली साहित्यमा आएका रामायण, महाभारतलगायतका आध्यात्मिक कृति मात्रै पनि अन्य भाषाभाषीमा लैजान सकियो भने अङ्ग्रेजीलगायतका अरू भाषाभाषीको भेलबाट केही हदसम्म हस्तक्षेप चरित्र छेक्न सकिन्छ । त्यसो त मूल भाषा बलियो हुनासाथ अन्य भाषाभाषीको संरक्षण हुने एउटा तथ्य भेटिन्छ ।
नेपाली साहित्यमा प्रयोग गरिने भाषिक सौन्दर्यमा गुरुङ, मगर, राई, लिम्बू, थारू, शेर्पा वा सन्थाल जातिको आत्मा नगाँसिने होइन । पछिल्लो समयमा स्थानीय विषयमा गहिरिएर लेख्ने, त्यसको मूलाधार गाउँ वा पिछडिएका जातजातिका मुद्दा बनिरहेका छन् । नेपाली साहित्यका धेरै औपन्यासिक कृति अचेल तराई, पहाड, हिमालका विषयसँग जोडिएका छन् । लेख्य भाषा, व्याकरण वा पठनपाठन गरिने समुदाय छ भने ती कृति लैजाँदा नेपाली समुदायमा राम्रो र बलशाली नाता स्थापित हुनेछ ।
अनुवाद आफैँमा अर्को सिर्जना हो । त्यो सिर्जनाका लागि अर्को धर्म, अर्को समाज, अर्को चरित्र र अर्को भाषा–संस्कृतिको सुरक्षा र सबल जानकारी राख्नैपर्छ– अनुवादकले । नेपाली साहित्यलाई अन्य भाषामा लैजाने हो भने एकै देशको मूल भाषाले ज्यादा ठूलो भरथेग गर्छ । भाषा मात्र फरक, भाव एकै हो भन्ने अर्को राष्ट्रिय चेतनाको स्पर्श वा छुवाइले नेपाली भाषासँग नाता प्रगाढ बन्छ । यो कुनै राजनीति वा ठूल्ठूला दर्शनभन्दा फरक ढङ्गले गरिने व्यवहारको प्राप्तिका रूपमा देखिन्छ ।
नेपाली साहित्यले जातीय र लैङ्गिकपनभित्र जोडिएका कथाहरू आफ्नो सिर्जनामा समेटेको छ । छाउपडी, अनमेल विवाह, छुवाछूत वा विधवा विवाहका प्रसङ्ग हुन् । नेपाली साहित्यका यी सिर्जनाले देशकै मुख्य भाषामा अनुदित हुने मौका पाएन भने हाम्रा लागि दोहोरो कार्य गरेको मूल्य स्थापित हुनेछ । एकातिर अरू भाषाभाषीमा त्यसको प्रभावकारी छाप पर्छ । त्यसैगरी ती भाषाभाषीले नेपाली भाषाको प्रयोग र उडानसँग नजिकिन सक्छन् । यो दुवै भाषाभाषीका लागि ठूलो अवसर हो र सम्बन्ध विस्तारका लागि घमाइलो वातावरण हो ।
म मुगु, डोल्पा, हुम्लातिर घुम्दा भाषाको समस्याले त्यहाँको लोकजीवनसँग नजिकिन सकिनँ । स्थानीयको उच्चारण कलाले दिने सुन्दरता एकातिर छ, अर्कातिर ती भनाइभित्र गाँसिने भाषिक पदावली, स्वरकला वा अर्थ–अभिप्रायले नेपाली भाषाका लागि पनि गहकिला खुराक हुन पुग्छन् । यसैले दोहोरो लाभका लागि हामीले प्रारम्भमै यतातिर ध्यान दिनु आवश्यक छ ।
अनुवादको कुरा गर्दा हामीले पश्चिमी समाज मात्र बजार, पाठक, अध्येता सम्झ्यौँ तर आज मातृभाषा र आफ्नो मौलिक चेतनाको आवश्यकता ठानिरहँदा पहिला देशभित्र प्रवेश गरौँ वा देशभित्रकै भाषाभाषीमा जोडिएर नाता गाँस्दा राम्रो हुने आधारहरू मनग्गै भेटिन्छन् । कैलालीका थारू समुदाय हुन् वा माथ्लो डोल्पाका भोट समुदायका हुन्, उनीहरूका भावनालाई सरसापट लिन वा हाम्रा कुरा बताउन पनि नेपालमा बोलिने अन्य भाषामा नेपाली साहित्यले पाइला चाल्नै पर्छ । यी प्रयास जति चाँडो व्यवहारमा लागू भयो, उति नै हामी बाहिरी भाषाको थिचोमिचोमा पर्दैनौँ । हाम्रो भाषिक समृद्धि र उन्नतिका लागि यो चेष्टा महìवपूर्ण हुने देखिन्छ ।
मैले ठोरी, छपियातलका महादेवा गाउँ घुम्दा होस्, स्थानीय संस्कृति र प्रचलन, मृत्यु–जन्म संस्कारसँग गाँसिएका कथाहरू थाहा पाउन खोजेंँ । त्यो कठिन भयो । ती गाउँमा नेपाली भाषाको राम्रो पँहुच नै छैन । उनीहरूको मौलिक पहिचान आफ्नै अवधी वा भोजपुरी भाषाले जेनतेन धानिएको छ ।
साहित्यसँग स्थायित्व र मौलिकताको घुलमिल जति बढी हुन्छ, उति नै त्यो साहित्यले जनाधार धेरै पाउँछ । जति धेरै जनस्वीकृति प्राप्त हुन्छ, त्यति नै त्यो भाषाको आयु लामो हुन्छ । त्यो दीर्घायु चरित्रसँग नेपाली साहित्य र अरू भाषाभाषीको पनि नाता सकेसम्म नजिक भइरहेकै राम्रो । हरेक भाषाभाषीसँग एउटा समृद्ध संस्कृतिले सम्बन्ध गाँसेको हुन्छ । त्यो संस्कृतिलाई सूक्ष्म, व्यावहारिक, समसामयिक र निरन्तर धारणासँग हेर्न सक्दा साहित्यले विराट् समाज प्राप्त गर्न सक्छ । नेपाली साहित्यसँग त्यो आधार र अवस्था मनग्गै भएको अनुभूत हुन्छ । आज विश्वका सिनेमा, सङ्गीत, कला र दर्शनसँग गाँसिएका मानिस पुराना खेतबारी, बस्ती, सभ्यता, गाउँ र जातजातिका इतिहास केलाउन उद्यत छन् । अफ्रिका, अस्ट्रेलिया त्यही चासोले तानिएका महादेश छन् । नेपाल एसियाकै एउटा त्यो गहकिलो सम्भावना बोकेको देश हो ।
हामीले खोलावारि–पारि बोल्ने भाषाकै महìवलाई कम आँकेका छौँ । हामीले वरपीपलका, सिमेभूमेका, ठूली बोजुका वा पानी फुकेर खाने मन्त्रका कथालाई अझै पनि दर्बिला पाइलाले जोड्न सकेका छैनौँ । हाम्रो भीरमौरीका, लेकाली यार्चाका वा वाण हान्ने, छेलो उचाल्ने कथासँग नेपाली साहित्य अझै पनि परपरै छ । अन्य भाषाभाषीलाई किनार लगाएर हामी मात्रै माझको धारमा बग्न सक्तैनौँ । नेपाली साहित्यसँग देशकै अरू भाषाभाषीको अन्तर्मन गाँसिएको तथ्यमा कत्ति पनि विमति छैन ।