पुरानो समयसँग साक्षात्कार
छविरमण सिलवाल
साहित्यका विविध विधामा निरन्तर कलम चलाइरहनु हुने डा. तुलसी भट्टराईका उपन्यास, कथा, कविता, निबन्ध, यात्रासंस्मरण, विचार–चिन्तन गरी करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् । साहित्यका साथै नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी जीवनदेखि नै सक्रिय उहाँ आजसम्म पनि अन्यायकोे विरुद्ध सधैँ चनाखो भइरहनुहुन्छ । एक दशकको प्राध्यापन, रेडियोको सल्लाहकार, साझा प्रकाशनको महाप्रबन्धक, गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक र प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको रूपमा पनि कार्य अनुभव बटुली सक्नुभएका भट्टराई नेपाली साहित्यका एक प्रखर व्यक्तित्वको रूपमा चिनिनुहुन्छ । भ्रमणमा रुचि राख्नुहुने भट्टराईको पछिल्लो उपन्यास ‘मास्टर बाबु’ प्रकाशन भएको छ ।
‘मास्टर बाबु’ तीसको दशकको नेपाली समाजको मुख्यतः काठमाडौँ सहरको कथा हो । लेखक त्यसबेला आफ्नो सुन्दर ताप्लेजुङ छोडेर काठमाडौँ सहर पसेको समयको साँचो दस्तावेज पनि हो ‘मास्टर बाबु’ । लेखकले देखेका तथा कतिपय भोगेका यथार्थता नै उपन्यासका मुख्य विषयवस्तु हुन् । हिजो र आजमा केही भिन्नता त पक्कै भएको छ । त्यसबेलाका भोगाइ अलि फरक थिए, तिनै भोगाइलाई कलात्मकताको कसीमा डुबाएर पाठकलाई मनोरञ्जन प्रदान गर्दै लेखिएको एउटा सत्य भोगाइ हो ‘मास्टर बाबु’ उपन्यास । स्वार्थ, छलकपट र लोभबाट मुक्त निश्छल बन्नसक्नु नै उपन्यासको पात्रको महानता हो । उपन्यासकारले आफ्नो रचना धर्म पूरा पालन गर्नु भएर उपन्यासको पात्रलाई सत्मार्गमा हिँडाउनु भएको प्रष्ट देखिन्छ यस कृतिमा । देश, समाज, परिवार र व्यक्तिगत विषय एवं प्रकृति, आत्मभाव समेतलाई ध्यानमा राखेर लेखिएको यो उपन्यासले त्यस बेलाको समाज, परिवार र व्यक्तिलाई जोड्ने तथा राष्ट्रप्रति इमानदार बनाउने पात्रको परिकल्पनाले उपन्यास रोचक बनेको छ ।
सहिष्णुता, सद्भाव, मित्रता र एकतालाई मूलमन्त्र मानेर कर्तव्यपथमा लम्कनु पर्नेमा, केही मान्छे स्वार्थी बन्दा निस्केको परिणामले भयावह भएको हाम्रो समाजको कटुसत्य उपन्यासमा भेटिन्छ । अर्को कुरा सहरका धरभेटीहरूले भाडामा बस्नेलाई गर्ने व्यवहारको पनि यथार्थ चित्रण उपन्यासमा भेटिन्छ । उपन्यासको पात्र पढेलेखेको छ, ऊ कुनै पहुँचभन्दा बाहिर छ । आफ्नै धुनमा रमाएको छ, मास्टरी गर्छ, ट्युसन पढाउँछ तर पनि उसलाई सहरमा चुहो बाल्न मुस्किल पर्छ । यो उनको मात्र कथा होइन यो धेरैको कथा हो, यथार्थ हो यो सहरको ।
मान्छे सधैँ पीडा र अभावमा नै बाँचेको हुन्छ । बाहिर हेर्दा जति खुसी देखिए पनि आन्तरिक रूपमा पीडाले ग्रस्त हुन्छ । भौतिक सम्पन्नता नै सुख शान्ति होइन र मान्छेले सोचेजस्तो सबै कुरा पूरा हुँदैनन् । त्यसमध्ये केही प्रतिशत मात्र सफल भएमा पनि जीवन सार्थक बन्छ । उपन्यासको पात्रको निष्ठाले यो कुरा पुष्टि गर्दछ । ऊ चाहन्थ्योे यही सहरमा आफ्नो जीवन बिताउन तर सहरले निरास बनाएको पात्र आफ्नै गाउँमा बसेर गुणस्तरीय शिक्षा प्रदान गरेर बस्छ । यहाँ के देखिन्छ भने अबको शिक्षा र अवसरहरू के सहर के गाउँ सबैतिर समान र पहुँच हुनुपर्दछ भन्ने सोच झल्कन्छ । यो नै एउटा राष्ट्रिय भावना हो । हुन त त्यसबेलाको परिवेशसँग अहिलेको तालमेल नमिल्न सक्छ । अहिलेको परिवेश बदलिएको छ तापनि केही कुरामा भने अझै विकराल अवस्था सिर्जना भएको देखिन्छ ।
उपन्यासको पात्रले भोगेको वर्तमानको एउटा नमुना हेरौँ–‘टाट्नाका बाख्रा, लैनो गाई, हलगोरु वा आफ्ना गहनाहरू बेचेर छोराछारीको भविष्य बनाइदिने बाबुआमाको सपना यसरी चकनाचुर भएका छन् । यस्ता परम्परा बढ्दै गएर पछि आफ्नो साथै आफ्ना आश्रितहरूको समेत जीवन चौपट पारिदिएका हुन्छन् । मेरो लोग्ने पढेर ठूलो मान्छे बनेर आउँछ भनेर, भएभरको झिटी सकेर लोग्नेलाई सहर पठायो, आफू आँसुका घुट्का पिउँदै सुन्दर भविष्यको कल्पना गरेर पत्नीहरू गाउँमा बसेका हुन्छन् । उता लोग्नेले भट्टीको सङ्गतमा परेर उतैबाट कुनै भट्टीवाल्नी वा त्यस्तै अरू कुनैसँग जीवन साटी सक्छ । यहाँ यस्तै हुँदैछ ।’ यो सहर हिजो र आजमा कुनै भिन्नता छैन । मनमौजीहरूको दिन त्यसरी नै बितेको छ, सोझा सिधाहरू भडखालामा परिरहेका छन् । उपन्यासको पात्रको भोगाइको समयमा देशमा राजाको शासन चल्थ्यो अहिले गणतन्त्र छ, तैपनि दुःखका पहाड उठाउनेहरूका दुःख झन्झन् बढिरहेका छन् । फरक यति हो पहिले बोल्न पाइँदैन थियो, अहिले बोल्न पाइन्छ ।’
उपन्यास छोटो बसाइमै पढ्न सकिन्छ । सहरमा तपाईंले, हामीले भोगेका साझा समस्या मूल रूपमा उठेका छन् । उपन्यासको पात्र पनि साहित्यप्रेमी भएकोले न्यूरोड पीपलबोटमा साहित्यकार भेटिने र साहित्यिक गफले उपन्यास उम्दा बनेको देखिन्छ । काठमाडौँका घरभेटीहरूले दिने दुःखको बयानको पीडा पक्षलाई मनन गर्दा मन खिन्न बनाउनु सिवाय केही गर्न सकिँदैन । यस सहरले मान्छे बिगारेको मात्रै छैन, सपारेको उदाहरण पनि धेरै छन् । राम्रो गर्छु भन्दा नराम्रो भएका पनि छन् तर एउटा कुरा सहरले धेरैलाई आश्रय दिएको छ । रोजगारी दिएको छ, कसैलाई सहर फलिफाप भएको छ कसैलाई सहरले निराश बनाएको छ । उपन्यासको पात्र प्रसन्न एउटा प्रतिनिधि पात्र मात्र हो । राजनीति गर्नेहरूका लागि सहर पक्कै फलिफाप भएको छ । तस्करी र भ्रष्टहरूलाई आश्रय दिएको छ ।
जीवनमा केही गरौँ भन्ने प्रसन्न पात्रलाई सहरले देखिसहँदैन र ऊ गाउँ पलायन हुन बाध्य हुन्छ । यो एउटा उपन्यासको कथा मात्र हो, वास्तविक जीवनमा योभन्दा पनि भयावह स्थिति पक्कै छ । ‘मास्टर बाब’ु उपन्यासले उठान मात्र गरिदिएको छ तर भोगाइ जस्ताको तस्तै छ । समग्रमा उपन्यास पढ्दा हामी त्यो पुरानो समयसँग साक्षात्कार हुन पुग्छौँ । ओरिएन्टल पब्लिकेसन, बागबजार प्रकाशक रहेको उपन्यासको मूल्य भने १५०÷– रुपियाँ रहेको छ ।