तिमीलाई भेटेपछि ! (कविता)
गोवद्र्धन पूजा
विश्वास नै नलाग्ने यो हाम्रो भेटघाट
नदी किनारको छाल तरङ्ग
हुरी बतासले बोकेको पतकर जीवन
एउटा सपनाजस्तै हाम्रो यो मिलन !
कतै छोडेर आएको यौवनको आँधी–तूफान
वर्षौंदेखि पर्खिरहेको प्यासको कुवा
सुस्ताउँदै गरेको जाली माकुरो
भरभराउँदो आगोझैँ तिम्रो सिउँदो !
निन्याउरो यो घाम
बेस्वादिला यी रहरहरू
परदेशी बाबु भेटेजस्तै –बालक मन
ओइलाएका रहरहरू
अलिना सम्झनाहरू !
कतै छोडेर आएको क्वाँटी विश्वासहरू अङ्कुराउन लागेझैँ
काँढाले बन्द गरेको गुलावी–मनको तस्बिर बोकेर
भाँडाकुटीको घाँसे तरकारी
बारीको पाटोमा पकाएको वनभाते सपना
ठ्याक्कै त्यस्तै हाम्रो यो मिलन !
के त्यति मात्र थिए– हाम्रा खुसीहरू
समयको पल्लामा जोख्दै
हामीले जीवन किनारा रोज्नुको कारण ?
पुरानो भएका ध्वजा पताकाहरू फ्याँकिएझैँ– मन्दिरबाट
फोडेका थियौँ– प्रेमको खुत्रुके ?
नीलो बत्ती कहिल्यै नबल्ने दोबाटोले झुक्याएझैँ
पर्खाइमा बितेको हाम्रो जेब्राक्रसिङ– जिन्दगी !
आँखाभरि साउनको झरी रोपेर
सापटी माग्दै दुःखको ज्वारभाटा
पीरको भकारी कहिल्यै नभरिने उपक्रम
मिलनको मङ्सिर नभित्रिने झुटो सपना !
यो हाम्रो मिलन
फाडेर आशङ्काका बुट्यानहरू
कहिल्यै सर्न नसकेका मायाका मुनाहरू
बगेर समय–नदी समुद्र मिल्दा पनि
हामी अहं बनेर पहाड ठडिइरह्यौँ
एउटा महाभूकम्पको पर्खाइमा
एक युग हाम्रो प्रतीक्षा !
तिमीलाई भेटेपछि
समयलाई नै फिर्ता दिएँ
ब्याज लिएर सावाँ छोडेको मेरो एक आयु जिन्दगी !