समाज सुधारक गुरु
हरिप्रसाद कोइराला
आजभन्दा झन्डै सय वर्षअघिको समाज । कुरीति र परम्परागत नियमले भरिएको थियो । यसविरुद्ध जान त्यस बेला ठूलै आँट चाहिन्थ्यो । यो आँट जो कसैसँग हुँदैनथ्यो । फेरि आँट मात्र भएर पुग्दैनथ्यो, चेत पनि चाहिन्थ्यो तर यी दुवै कुराले पूर्ण थिए– पण्डित दामोदर खतिवडा ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारनजिक नेगीजुङ गाउँ छ । त्यही गाउँमा पण्डित दामोदर जन्मनुभयो । वि.सं. १९६० सालमा बुवा अनिरुद्र खतिवडाका कान्छा छोराका रूपमा उहाँको जन्म भएको थियो । उहाँको न्वारनको नाम भने माधवप्रसाद खतिवडा हो । उहाँले कुरीति र परम्परागत नियमविरुद्ध शान्तिपूर्ण लडाइँ लड्नुभयो । यसबापत उहाँ समाजबाट नै बहिष्कृत हुुनुभयो । गाउँबाटै निकालियो । समाजलाई सुधार गर्न थुप्रै अभियान त चलाउनुभयो तर उहाँले अपजस मात्रै भोग्नुभयो ।
दामोदर सानैदेखि क्रान्तिकारी स्वभावका हुनुहुन्थ्यो । ब्राह्मण समुदायमा अविवाहित छोरी र व्रतबन्ध नगरेको छोराले पकाएको भात खानु हँुदैन भन्ने सामाजिक मान्यता थियो । उहाँले यो मान्यताविरुद्ध सामाजिक अभियान नै चलाउनुभयो । राणा शासनको समयमा उहाँले जुन–जुन अभियान चलाउनुभयो, ती सबै अभियान तत्कालीन शासकका लागि कानुनविपरीत हुन्थ्यो । उहाँले बालविवाहको विरोध मात्र गर्नुभएन, बालविधवालाई पुनर्विवाह नै गरिदिनुपर्छ भन्ने अभियान नै चलाउनुभयो ।
दामोदरका दाजु पण्डित वेदनिधि कहलिएका विद्वान् हुनुहुन्थ्यो । वेदनिधि सामाजिक परम्परा र रीतिरिवाजलाई जस्ताको तस्तै पुस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । दाजुसँगै शिक्षा लिनुभए पनि उहाँले दाजुको बाटो भने पछ्याउनु भएन । त्यसैले दाजुभाइको राम्रो मेल कहिल्यै नभएको दामोदर पण्डितलाई नजिकबाट चिन्नुहुने मोरङ लेटाङका पर्शुराम खतिवडा बताउनुहुन्छ । पर्शुरामका अनुसार सबै जातका केटाकेटीलाई एउटै कुटीमा भेला गरेर दामोदर पढाउनु हुन्थ्यो । कुटीमा अलगअलग भान्छा हुँदैन थियो । गुरु र शिष्य एउटै भाँडाको भात खान्थे । अझ रमाइलो कुरा दाल, भात, तरकारी एउटै भाँडामा पाक्थ्यो, खिचडीजस्तै गरी । केही समय उहाँले ताप्लेजुङकै नाम्लेपाटीमा पनि केटाकेटी भेला गरेर पढाउनुभयो ।
नाम्लेपाटीमा दामोदर गुरुसँग कखरा र अङ्क चिन्नुभएका मोरङ कानेपोखरी–७ का ९२ वर्षीय देवीभक्त भट्टराई भन्नुहुन्छ, “उहाँ जातभन्दा पनि पढाइको कुरा धेरै गर्नुहुन्थ्यो । त्यस बेला व्रतबन्ध नगरी वेद पढ्न बर्जित थियो तर उहाँ व्रतबन्ध नगरेकालाई वेद, रुद्री पढाउनुहुन्थ्यो । कतिपय त एक/दुई दिन पढेपछि डराएर पाटीमै आउँदैन थिए ।”
यसरी झन्डै ३० वर्षसम्म दामोदरले ताप्लेजुङमा समाज सुधार अभियान चलाउनुभयो । यसपछि उहाँ ताप्लेजुङबाट बाहिरिनुभयो । ताप्लेजुङबाट कहाँ जानुभयो भन्ने विषयमा उहाँका दाजुका नाति राम खतिवडा भन्नुहुन्छ, “उहाँ बर्मा (म्यानमार) जानु भएछ । उतै उहाँले दोस्रो बिहे पनि गर्नु भएछ । बर्मामा बिहे गरेकी श्रीमती बितेपछि वियोगले उहाँ वि.सं. २००१ मा जन्मस्थान फर्कनुभयो । ताप्लेजुङको नेगीजुङबाट तोक्मेडाँडामा गएर एउटा कुटी सञ्चालन गर्नुभयो । समाज सुधारको शङ्खघोष गर्ने उक्त कुटीलाई स्थानीयले ‘मादे पाटी’को नाम दिए ।”
खासगरी दामोदर पण्डितको न्वारनको नाम माधव भएकाले पाटीको नाम पनि ‘मादेपाटी’ राखिदिएको राम तर्क गर्नुहुन्छ । हजुरबुवा वेदनिधिले भन्नुभएका कुरा स्मरण गर्दै रामले भन्नुभयो, “उहाँका १७ जना शिष्य थिए । एउटै भाँडामा खाना पकाउने खाने, जातभात र छुवाछूत नमान्ने भएकाले उहाँ र उहाँका १७ जना शिष्यलाई मुद्दा चलाइयो ।” हजुरबुवा वेदनिधिलाई उद्धृत गर्दै उहाँ भन्नुहुन्छ, “एक वर्ष जेल बसेपछि तत्कालीन जर्नेलको आदेशमा उहाँले मुद्दा जित्नुभयो अरे ।”
२००० सालतिर उहाँ ताप्लेजुङबाट नाङ्खोल्याङ झर्नुभयो । त्यहाँको आङ्बुङ भन्ने ठाउँमा पनि केही समय कुटी चलाएर बस्नुभयो । नाङ्खोल्याङबाट उहाँ पाँचथरको रवि पुग्नुभयो । त्यहीँ उहाँको काले राई (स्वामी प्रपन्नाचार्य)सँग भेट भएछ । राई परिवारको घरमा पुराण लगाएपछि काले राईसँगै थप अध्ययनका लागि दामोदर बनारस जानु भएछ । बनारस र वृन्दावन पुगेर पूर्वीय दर्शनशास्त्रको ज्ञान उहाँले लिनुभयो र २००५ सालतिर फर्किनुभयो । काठमाडौँ पनि पुग्नुभएको राम खतिवडाको भनाइ छ । उहाँले काठमाडौँमा पनि संस्कृत शिक्षा पढाउने र चेतनाको विगुल फुक्ने काम गर्नुभयो ।
उहाँको ‘मणिरत्नमाला’ कविता सङ्ग्रह प्रकाशित छ । भक्तपुरको नगरकोटमा ‘ब्रह्मचर्याश्रम’ खोलेर बसेको बेला धान्यप्रसाद शर्माले उहाँको कविता सङ्ग्रह प्रकाशित गरिदिनुभएको थियो ।
दामोदर २०१८ सालतिर ताप्लेजुङबाट मोरङको लेटाङ झर्नुभयो । लेटाङको बीरनमा आएर एक जना लुइँटेल ब्राह्मणको जग्गामा सानो कुटीजस्तै घर बनाएर बस्नुभयो । लेटाङ आएर पनि उहाँले संस्कृत भाषाको प्रचार र पुराण भन्ने काम छोड्नुभएन । पशुपालन पनि गर्नुभयो । यस बेलातिर उहाँको स्वास्थ्य बिग्रिसकेको थियो ।
२०२० सालमा ताप्लेजुङबाट लेटाङ आउनुभएका पर्शुराम खतिवडाका अनुसार लेटाङ आएपछि उहाँमा जोस जाँगर भने थिएन । पुराण त भन्नुहुन्थ्यो । सानातिना कर्मकाण्डमा खासै रुचि राख्नु भएन । २०२९ साल ज्येष्ठ शुक्ल प्रतिपदाको दिन लेटाङमा नै उहाँको निधन भयो । निधन हुँदा साथमा श्रीमती र दुई जना ससाना छोरा थिए तर ‘छोरा हुँ’ भन्दै किरिया गर्न सेतै फुलेका बूढा मान्छे र एक जना महिला आए । ती पनि उहाँका छोराछोरी रहेछन् । बर्मा भासिएका बेला उहाँले दोस्रो बिहे गरेको सुनेका थियौँ तर छोरो हुँ भन्दै किरिया गर्न आएपछि पत्यायौँ– पर्शुरामले भन्नुभयो ।
बर्माको सैनिक शासकले नेपालीलाई लखेटेपछि त्यहाँबाट आएका नेपालीलाई राजा महेन्द्रको पालमा मोरङको विराटनगर र बरडङ्गामा बस्न दिइएको थियो । यही बेला दामोदरका माइली श्रीमतीतिरका छोरा होमनाथ पनि विराटनगरको बर्मेली टोलमा आउनुभएको रहेछ । विराटनगरको जुटमिलमा काम गर्ने होमनाथ आफ्नी बहिनीलाई लिएर बुवाको किरिया गर्न लेटाङ पुग्नुभएको पर्शुराम सम्झनुहुन्छ । पर्शुरामले थप भन्नुभयो, “किरिया सकेपछि माइली श्रीमतीतिरका सन्तान, कान्छी श्रीमती र छोराहरू कता गए, केही जानकारी छैन ।” माइली श्रीमतीका छोरा होमनाथका तीन भाइ छोरा छन् । होमनाथको निधन भइसकेको छ । होमनाथका छोराहरू युरोप र अमेरिकातिर गएको जानकारीमा आएको छ ।
कान्छी श्रीमतीका छोराहरू जेठा गोविन्द भैरहवा बस्नुहुन्छ भने कान्छो गोपाल मोरङको रतुवामाई नगरपालिकाको दाम्राभिट्टामा बस्नुहुन्छ । गोपालले पिताजीको विषयमा केही थाहा नभएको र उहाँको सम्पत्तिको नाममा एउटा कमण्डलु र काँसको थाल आपूmसँग रहेको जानकारी दिनुभयो । त्यो पनि लेटाङमा सुरक्षित राखिएको रहेछ र हामीले ल्यायौँ । गोपालले भन्नुभयो, “२० वर्ष साउदी अरब बसेर घरखेत जोडेको हुँ ।”
म दुई वर्ष छँदा बुवाको मृत्यु भएको रहेछ । त्यसपछि आमाले हामी दुई दाजुभाइलाई बनारस लगेर छोड्नुभएको अरे । मेरो शिक्षा भारतमै भयो । कान्छी बुहारी मञ्जुका अनुसार जेठी आमातिर एक जना दिदी हुनुहुन्थ्यो रे । उहाँ बितिसक्नुभयो । माइलीतिर एक जना दाजु र दिदी हुनुहुन्थ्यो । दाजु होमनाथ मोरङको रतुवामाई–१, बर्मेली टोलमा बस्नुहुन्थ्यो । उहाँको त्यहीँ बस्दाबस्दै मृत्यु भयो । उहाँकी बहिनी ९२ वर्ष हुनुभयो । ललितपुरको कुसुन्तीमा बस्दै आउनुभएकी उहाँकी बहिनी इन्द्रमाया पौडेलकी छोरी बिना पौडेल राई राष्ट्रपति कार्यालयमा काम गर्नुहुन्छ । दामोदरका जेठी पत्नीका सन्तानको विषयमा कान्छा छोराबुहारीलाई कुनै जानकारी छैन ।