शनिवार |

छातीमा लोकतन्त्र (कविता)

बद्रीप्रसाद दाहाल

 

रैती दास प्रजा बने युगयुगौँ, बाजेबराज्यू कति ।
राजा विष्णु भनेर पूजन हुँदा, पुस्तौँ भयो दुर्गति ।।
मात्रै मोजमजा र वैभव पिई, रैती दबाई यहाँ–
गर्थे दुष्कर राजकाज जसले, बोली र बन्दुकमा ।।

आफ्ना भाइ र पुत्र शासक हुने, वंशीय सङ्कीर्णता ।
आफ्नै ज्वाइँ र ज्ञाति चाकर चुने, कस्तो निरङकुशता ?
थिच्दै न्याय समानता हक मिचे, ती हैकमी दुष्टले ।
विद्रोही ध्वनि कुल्चिँदै अघि बढे, पापी र दुभ्र्रष्टले ।।

जन्मे बेन र कंश जारसरिका, राजा रजौटा जब ।
ओर्ले वीर सपूत क्रान्ति रणमा, मान्दै नमानी भय ।।
नेपाली जनता जनार्दन बनून्, भत्काउँदै जञ्जिर ।
हामी सम्प्रभु हौँ स्वतन्त्र पनि हौँ, यो देश होस् सुस्थिर ।।

यै आदर्श विचार–सार उरमा, राखेर गोली पिई ।
योद्धाका बलिदान धप्धप बली, छोयौँ सबैले चुली ।।
सम्झौँ ब्रह्म विवेकले मनुजका, स्वायत्तता अस्मिता ।
काला स्वार्थ चिरेर उन्नति गरौँ, माटो बनोस् उर्वरा ।।

छोडी झैझगडा सुभाव मनमा, बेली चमेली फुलून् ।
गोडी दम्भ कुभाव चित्त सबका, अग्ला हिमानी चुमून् ।।
हावा तेज धरा अकास जलझैँ, हुन् देशका नायक ।
छातीमा जनतन्त्रको मत भए, बन्छौ महानायक ।।