शनिवार |

ओखलढुङ्गाबाट प्रजातन्त्र नियाल्दा (कविता)

व्याकुल माइला

अमूर्त प्रजातन्त्र र विकासको मूल्यमा
देशको स्वाधीनता दाउमा राख्न मिल्छ कि मिल्दैन भन्ने
प्रश्नले मुटु पोल्दै गरेको बखत
शहीदभूमि ओखलढुङ्गाको मिलनचोकमा
प्रजातन्त्रको एक सेनानी
बलबहादुर राईको शालिक अगाडि श्रद्धाले मेरो शिर झुक्यो
क्या. यज्ञबहादुर, लीला, ठगी, सबैसबैको सम्झना चल्यो
तब हामीले बुझेको प्रजातन्त्र के रहेछ भन्ने खुल्दुली बढ्यो
यी/यस्ता योद्धा र शहीदहरूको बलिदानीले आएको
प्रजातन्त्रको हालखबर
यसपल्ट गाउँघरमा बसेर नियालेँ ।

किन हो–
प्रजातन्त्र केवल राजनीतिक दलहरू बनेर
घरभित्रै पानी बाराबार हुँदैरहेछ
प्रजातन्त्रले सिंहदरबारबाट गाउँतिर लगेको
विकासको कोसेली पनि ठेकेदार र कमिसन खान पल्केकाहरूले
सिध्याइदिँदा रहेछन् ।

प्रजातन्त्र आएपछि
गाउँमा बिजुली पुग्दै गर्दा
गाउँलेहरू डेक बजाएर रातभरि नाच्दा रहेछन्
सूचना प्रविधिको विकास हुँदै गर्दा
गाउँलेहरू पनि मोबाइल खेलाउने लत बसाउँदै रहेछन्
आश्चर्य यो देखियो कि
प्रजातन्त्रले ल्याइदिएको खानेपानी
गाउँमा अझ पनि
पर्वे कामी, वीरे सार्की, भकुरे दमाईलगायतका
गाउँलेहरूको हातबाट नचल्दोरहेछ !

गाउँमा युवाहरू छैनन्
भएकाहरू बेरोजगार छन्
अरब, मलेसिया, कोरिया गएकाहरूले बनाएका
जस्ता–पातावाला घरले गाउँघर हेर्नलायक भएछ ।

सरकार र जनताको दूरी उस्तै रहेछ
सरकारी हाकिम र चुनाव जितेकाहरू
उहिलेका मुखियाजस्तै रहेछन्
मानौँ कि देशमा एउटा राजाको अन्त्यपछि
अरू थुप्रै महाराजा जन्मिरहेछन् ।

सदरमुकामको पल्लो भञ्ज्याङ
सिद्धिचरण श्रेष्ठको शालिक सामुन्ने पनि
मेरो विषयवस्तु यही रह्यो ।

युगकविले यसो भनेझैँ लाग्यो–
००७ सालको क्रान्ति लड्नेहरूले
राणा शासनको अन्त्य नै प्रजातन्त्र ठानियो
०४६ सालको जनआन्दोलन लड्नेहरूले
पञ्चायतको अन्त्य नै प्रजातन्त्र मानियो
०६२–०६३ को जनआन्दोलन र जनयुद्ध लड्नेहरूले
राजतन्त्रको अन्त्य नै लोकतन्त्र भनियो
तर, प्रजातन्त्र राजनीतिक संस्कार हो भन्ने बुझिएन ।

यसरी नियालेर हेर्दा प्रजातन्त्र
निरङ्कुशतामाथिकोे विजय मात्र पनि होइन रहेछ
देश र जनताका उन्नति खातिर
जुन दिनदेखि हामी आफ्नो स्वार्थमाथि विजय प्राप्त गर्नेछौँ
हो, त्यही दिनदेखि देशमा प्रजातन्त्र/लोकतन्त्र आउने रहेछ ।