क्रान्तिचेतका सिर्जना
प्रा.डा.कुमारप्रसाद कोइराला
साहित्य वैयक्तिक भावना वा चेतनाका आधारमा सिर्जना गरिन्छ । त्यसैले यो स्वतन्त्र, सिर्जनात्मक र परिवर्तनकारी हुन्छ । साहित्यको यस्तो स्वभाव हुनाले शासक वर्ग सधैँ यसको विरोधी रहन्छ । शासक स्रष्टालाई आफ्नो स्तुतिगान गराउन लगाउँछ र केही पारितोषिक दिएर तिनीहरूलाई राख्छ । यसैले आरम्भमा देउताको, शासक वर्ग वा ठूलाबडाको मात्र साहित्य लेखियो सामान्य मान्छेको लेखिएन । प्रायः संसारका जुनसुकै देशमा पनि पुराना स्रष्टा शासक वर्गकै निकटका हुने र तिनले शासकको स्तुतिगान, ईश्वरभक्ति र नितान्त काल्पनिक कथा रचेको देखिन्छ । नेपाली भाषामा साहित्य सिर्जना हुन थालेको पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) कै पालादेखि हो । नेपाली कविताको आरम्भ पृथ्वीनारायण शाहकै स्तुतिगानबाट भएको देखिन्छ ।
यसपछि क्रमशः अन्य शासक वा ठूलाबडा, ईश्वर र कल्पनालाई आधार बनाएर साहित्य सिर्जना हुँदै गएको पाइन्छ । यो क्रम धेरैपछिसम्म चल्यो तर जब शासक वर्गका छत्रछायाभन्दा टाढा जन्मेका लेखकको उदय हुन थाल्यो, त्यसपछि भने शासक वर्ग र ठूलाबडाको समर्थन मात्र नभएर विरोध र सामान्य मान्छेका बारेमा पनि साहित्य सिर्जना हुन थाल्यो । सामान्य मान्छेका हकअधिकार, स्वतन्त्रता र समानताका बारेमा यथार्थवादी साहित्य सिर्जना हुन थाल्यो । यस्तो चेतनाले लेखिने साहित्यमा नै क्रान्तिकारी चेतना रहेको हुन्छ ।
यो लेख नेपाली साहित्येतिहासका विभिन्न कृति र खास गरी गोविन्दराज भट्टराईको ‘काव्यिक आन्दोलनको परिचय (२०४९)’, दयाराम श्रेष्ठको ‘साहित्यको इतिहास सिद्धान्त र सन्दर्भ (२०५९)’, सुकुम शर्माको ‘नेपाली भाषा–साहित्यमा आन्दोलन (२०६४)’, तारालाल श्रेष्ठको ‘शक्ति, स्रष्टा सबाल्टर्न (२०६८)’ र हरि गौतमको ‘नेपाली क्रान्ति र गणेशमान सिंह (२०७६)’ आदिको अध्ययनलाई आधार बनाई तयार पारिएको हो । यसमा विसं २००७ को क्रान्ति हुनुपूर्व क्रान्तिचेतना भएका के कस्ता साहित्यिक सिर्जना वा पर्व भए, शासकले के कस्ता कृतिमाथि प्रतिबन्ध लगाए र सर्जक वा अभियन्तालाई के कसरी दण्डित गरे, त्यस्ता निषेधात्मक कार्यले नेपाली जनतामा के कस्तो चेतनाको विकास भयो र अन्ततः सात सालको क्रान्तिमा त्यसको प्रभाव के कसरी प¥यो भन्नेबारेमा सङ्क्षेपमा चर्चा गर्न खोजिएको छ ।
नेपाली साहित्यका प्राथमिक कालका भानुभक्त आचार्य (विसं १८७१–१९२५) प्रतिनिधि वा आदिकवि हुन् । काठमाडौँ बाहिरका कवि भएकाले उहाँले काठमाडौँ आएर शासक वर्गको चाकरी गर्न थाल्नु भयो । यही क्रममा उहाँले लेख्नुभएको छ–
जागिर छैन, धनी म छैन घरको केवल् क्वदालो खनी
खान्थ्याँ दुःख गरेर चाकरी ग¥याँ मान् पाउँला कि भनी ।
उहाँले यसरी शासकको चाकरी मात्र गर्नुभएन, तत्कालीन शासक वर्गको पूजा मात्र गर्ने तर जनताको काम नगर्ने भ्रष्ट कर्मचारीतन्त्रको विरोध पनि गर्नुभयो, जस्तै–
बिन्ती डिठ्ठा बिचारीसित म कति गरूँ चुप रहन्छन् नबोली
बोल्छन् ता ख्याल ग¥याझैँ अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि
कि ता शक्तिन भन्नू कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
भानुभक्तकै समकालीन सन्त ज्ञानदिल दास अर्थात् श्रीकृष्ण लामिछाने (विसं १८७८–१९४०) मूलतः निर्गुण भक्तिधाराका आध्यात्मिक कवि हुनुहुन्छ । नेपालमा ज्ञान प्रचार गरेको, विद्रोही कविता लेखेको भन्ने आरोपमा तत्कालीन शासक जङ्गबहादुर राणाले उहाँलाई पक्राउ गरेर छ महिना जेल हालेको थाहा पाइन्छ । यसपछि उहाँ भारतको दार्जिलिङ, सिक्किम, भुटानमा गएर जोसमनि धर्म सम्प्रदायको प्रचारप्रसारमा लाग्नुभएको बुझिन्छ । उहाँका रचनामा तत्कालीन सामाजिक व्यवस्था, धार्मिक पाखण्ड, जातीय असमानता, लैङ्गिक विभेद आदिको विरोध पाइन्छ, जस्तै–
धन जन भन्छन् देवीमाई भाक्छन्,
पशुघात भयो भन्या धर्म कहाँ राष्छन्
गरिपमारा पशुघात जो कोही गर्छन्
नर्क तलाउ भासमा सहजनै पर्छन्
देवीमाई पत्थर जो पुजिजान्छन्,
सतलोक धाममा ती कहाँ जान्छन्
धाम चिन सतलोक जमुनाका तीर
लोभ पाप छोडी हरितिर फिर
ब्राह्मण हुँ भन्या ब्रह्म नचिनन्या
वैलि बाख्री कता छन् बसि षोजि किन्या
छेदन्ने धागडको पकाइहालुँ रक्ती
तेस्तैकन भन्नु यमराजको भक्ति ।
यसपछि योगमाया न्यौपाने (विसं १९२४–१९९८) विद्रोही कवयित्रीका रूपमा देखापर्नु हुन्छ । उहाँ वास्तवमा धर्मपरायण नारी हुनुहुन्छ । उहाँले अनेक आध्यात्मिक साधना गरेको थाहा पाइन्छ । नेपाली साहित्यमा भने उहाँ ईश्वरको भजन गायिका र क्रान्तिकारी कवयित्रीका रूपमा चिनिनु हुन्छ । उहाँले तत्कालीन सामाजिक व्यवस्था, नारीविभेद, कुरीति, कुसंस्कार र कुपरम्पराका साथै राणातन्त्रको पनि तीव्र विरोध गर्दै सतीप्रथा र जातभात हटाइयोस्, जनताले निसाफ पाऊन्, शोषणरहित र समतामूलक समाज निर्माण होस् भन्ने माग राखी सङ्घर्ष गर्न थाल्नुभयो । तत्कालीन शासक जुद्धशमशेरले आश्वासन मात्र दिए माग भने पूरा गरेनन् । भोजपुर फर्केर उहाँले अनुयायीसहित यज्ञको अग्निकुण्डमा आत्मदाह गर्ने घोषणा गर्नुभयो तर उहाँलाई जेल हालियो । तीन महिनापछि जेलबाट छुटेर उहाँले पुनः अनुयायीसहित अरुण नदीमा जल समाधि लिनु भयो । उहाँजस्तो आत्मत्यागी विद्रोही योगिनीको राणातन्त्रको विरोधमा लेखिएको कविताको श्लोक उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ, जस्तै–
महाराज् छन् दर्बारमा हेर्न आउँदैनन्
दुःखीजनले निञानिसाफ् सिधा पाउँदैनन्
जागिरदार लोभी छन् निञा हेर्दैनन्
मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।
यसपछि शासन सत्ता वा शासकको विरोध नगरे पनि तत्कालीन शासकले शासन व्यवस्थाको विरोधी कार्य ठानी साहित्यिक कृतिमाथि प्रतिबन्ध लगाएको र सम्बद्ध कृतिका सम्पादक र लेखकलाई दण्डित गरी जेल हालेको तथा कतिपय स्रष्टा जेलमा परेर दिवङ्गत भएको पनि देखिन्छ । यस्ता कृति र कृतिकारको चर्चा गर्दा सर्वप्रथम सूक्तिसिन्धु नामक शृङ्गारिक कविता सङ्ग्रहको नाम आउँछ । यो चौबिस जना कविका कविता सङ्कलन गरी विसं १९७४ मा प्रकाशित भयो । यसका सम्पादक हुनुहुन्छ श्यामजीप्रसाद अज्र्याल । जनता भाँड्ने, राणा सरकारका सेना र दरबारभित्रका केटी बिगार्ने कृति ठहर गरी चन्द्रशमशेरले पं. राधानाथ लोहनीलाई दरबारमा बोलाएर सबैका अगाडि बेइज्जत गरेर रु. पाँच जरिवाना गरेको र सबै पुस्तक जफत गरेको थाहा पाइन्छ । नेपाली साहित्यमा यो सूक्तिसिन्धु पर्वका रूपमा प्रख्यात छ ।
त्यति बेलाको कौशिल अड्डाका सुब्बा कृष्णलाल अधिकारी (विसं १९४४–१९८०) लाई पहिलो साहित्यिक शहीद भनिन्छ । उहाँले विसं १९७७ मा ‘मकैको खेती’ नामक कृति प्रकाशित गराउनु भयो । मकैको खेती कसरी गर्ने भन्ने बारेमा लेखिएको कृति हो यो, तापनि त्यसमा लेखिएका केही वाक्यको राजकाजी व्याख्या गरी अधिकारीलाई नौ वर्ष जेल सजाय दिएको र तीन वर्षपछि क्षयरोगले उहाँको जेलमै मृत्यु भएको थाहा पाइन्छ । प्रकाशित पुस्तकको एकप्रति फेला परेन तर अरू सबैप्रति जफत गरियो र जलाइयो । शम्भुप्रसाद ढुङ्गेल, दुर्गानाथ अधिकारी, ऋषिभक्त उपाध्याय, चूडामणि, उपेन्द्रबहादुर बस्नेत, गोरखापत्रका कायममुकायम सम्पादक कृष्णचन्द्र अर्याल र अन्य तीन जनाको जागिर खोसियो । भाषाशुद्धि गर्नुहुने सोमनाथ सिग्द्याल र पुस्तक छापेवापत पशुपति प्रेसलाई रु. पचास–पचास जरिवाना गरी पोलाहा भोजराज काफ्ले र रामहरिलाई पदोन्नति गरी एकएक हजार नगद र दोसल्ला इनाम दिएको थाहा पाइन्छ ।
त्यतिबेला कृति मात्र नभएर कविता निकाल्दासमेत झोसपोल गर्न थालियो । यसको उदाहरण हो राममणि आदिले सम्पादन गरेको गोरखा शिक्षा (विसं १९७७) तेस्रोमा प्रकाशित लेखनाथ पौड्यालको ‘प्रभातवर्णन’ कविता । यसको एक श्लोक राजकाजी रहेको अपव्याख्या गरी राममणि र लेखनाथलाई राजद्रोहको आरोप लगाइयो तर चन्द्रशमशेरले अपव्याख्यामा विश्वास नगरी दुवैलाई दण्डित गरेनन् । राजद्रोह लगाइएको श्लोक निम्नानुसार थियो–
चन्द्र–विम्ब गगनान्तर–चारी
मन्द मन्द मलिनाकृति–धारी
हेर अस्तगिरिका शिर पारि
देखियो दबिनलाई तयारी ।
‘स्वतन्त्रता स्वतन्त्रता स्वतन्त्रता स्वतन्त्रता, जपेर मन्त्र सर्वदा प्रसन्न हो तँ सर्वदा, जगा बढा स्वतन्त्रता मनुष्यका समाजमा’ भनेर मानव स्वतन्त्रताको पक्षपोषण गर्ने कवि धरणीधर कोइराला (विसं १९४९–२०३६) को विसं १९७७ मा ‘नैवेद्य’ कवितासङ्ग्रह बनारसबाट प्रकाशित भयो । त्यतिबेला उहाँ दार्जिलिङमा बसेर कविता लेख्नु हुन्थ्यो । त्यस सङ्ग्रहमा नेपाली जातीयजागरण, सामाजिक सुधारका साथै एकतन्त्रीय शासनको अन्त्य र गणतन्त्र स्थापनासम्बन्धी कविता थिए । ती कविताले तत्कालीन शासन व्यवस्थाले नेपाललाई अधोगतिमा लगिरहेकाले नेपालीलाई जाग्न, उठ्न र क्रान्तिकारी कदम चाल्न प्रेरित गरिरहेका थिए । उहाँको ‘नयपाली ठिटो’ कविताबाट एक पङ्क्ति उदाहरणका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ, जस्तै–
नयपाल स्वतन्त्र गराउनको
रणभेरी सुनेर जुरुक्क उठ्यो
परतन्त्र हरे निज देश बुझ्यो
अनि भाव र आग्रह पूर्ण भयो
गणतन्त्र गराउन गर्जिउठ्यो
छरितो र छिटो नयपाली ठिटो ।
विसं १९८६ मा भीमशमशेर प्रधानमन्त्री भएपछि देशको उन्नति कसरी गर्ने भनेर वक्तव्य प्रसारित गरे । उनको वक्तव्यबाट उत्साहित भएर देशविदेशको खबर थाहा पाउन, युवापुस्तालाई पढ्ने बानी बसाउन पुस्तकालयको आवश्यकता छ भन्ने उद्देश्यले विसं १९८७ मा कृष्णप्रसाद कोइराला, धर्मराज थपलिया, जोगवीर सिंह, चित्तधर हृदय, हर्षदास तुलाधर, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, लीलाराज तुलाधर, केदारनाथ शर्मा आदि रहेको पैँतालीस जना युवाको समूहले प्रधानमन्त्रीलाई सम्बोधन गरेर हस्ताक्षर गरी लेखिएको निवेदन काजी मरीचमानलाई दिइयो । यो साहित्यिक गतिविधि होइन, तापनि यसलाई असाहित्यिक भन्न मिल्दैन, किनभने यसमा साहित्यप्रेमी युवाको संलग्नता बढी देखिन्छ । यसमा पुस्तकालय खोल्ने उद्देश्य मात्र नभएर राजनीतिक सङ्गठन खोल्ने निहित स्वार्थ पनि लुकेको छ भनेर रामचन्द्र अधिकारीले सरकारमा उजुरी गरे । त्यही उजुरीका आधारमा सही गर्ने सबैलाई थुनियो र प्रत्येकलाई एक–एक सय रुपियाँ जरिवाना गरेर आइन्दा यसो गर्ने छैनौँ भन्ने कागत गराएर छोडियो । नेपाली साहित्यमा यो लाइब्रेरी पर्व वा पुस्तकालय पर्वका रूपमा प्रसिद्ध छ ।
यस्तै महानन्द सापकोटा (विसं १९५६–२०३५) भाषाशास्त्रीका रूपमा मात्र नभएर कविका रूपमा पनि उत्तिकै प्रसिद्ध हुनुहुन्छ । उहाँका कवितामा समाजसुधार, अन्धविश्वासको विरोध र अधिनायकवादी शासन व्यवस्थाको विरोध पाइन्छ । उहाँको अधिनायकवादी शासन व्यवस्थाका विरोधमा लेखिएको एक प्रसिद्ध कविताको पङ्क्ति हेरौँ–
शयमा दशपाँच धनी हुनु
अरूले तिनका करिया गनिनु
विधिको यदि यै छ विधान भने
अब त्यो विधिको पनि आयु पुग्यो ।
लक्ष्मीप्रसाद देवकोटा (विसं १९६६–२०१६) पुस्तकालय पर्वमै दण्डित भइसक्नु भएको थियो । जहानियाँ राणा शासनमा साहित्य सर्जक र राजनीतिक व्यक्तिमाथि भएको दमन, दण्ड, जेल सजाय र मृत्युदण्डले उहाँमा भित्रभित्रै क्रान्तिको आगो बलेको थियो । उहाँ विसं २००४ तिर त्रिचन्द्र क्याम्पस र गोरखाभाषा प्रकाशिनी समितिको जागिर छोडेर कसैलाई खबर नगरी बनारस पुगी त्यहाँबाट प्रकाशित हुने युगवाणीको सम्पादक भएर राणा शासनको विरोधमा क्रान्तिकारी कविता प्रकाशित गर्न थाल्नुभयो । विसं २००५ मा त्यहीँबाट उहाँको ‘पहाडी पुकार’ कविता सङ्ग्रह प्रकाशित भयो । त्यसमा दीनदुःखीका हकअधिकार र राणा शासनका विरोधमा लेखिएका कविता सङ्कलित छन् । त्यसैभित्रको एक श्लोक निम्नानुसार देखिन्छ–
ज्यानै पो जाओस् प्राणै पो जाओस् पर्वाह गर्दैनौँ
मानिसलाई चाहिने हक नलिई छाड्दैनौँ
मर्नु त एक दिन अवश्य पर्छ पशुझैँ नजिऊँ
मानिस हौँ भने मानिसझैँ जिऊँ मानिसको हक लिऊँ ।
सिद्धिचरण श्रेष्ठ (विसं १९६९–२०४९) राणाविरोधी राजनीतिमा लागेको आरोपमा विसं १९९७ मा जेल पर्नु भयो । घरको खानतलासी गरेर उहाँले लेख्नुभएका कागजात जफत गरियो । त्यसपछि उहाँमा राणाविरोधी भावना झन् बढ्दै गयो । उहाँले ‘क्रान्तिविना शान्ति हुँदैन’ नेवारी कविता लेख्नु भयो । उहाँका थुप्रै क्रान्तिकारी कविता छन् । खास गरी १९९७ पछिका उहाँका कवितामा क्रान्तिकारी भाव पाइन्छ । उहाँ जेलमै हुँदा उहाँका पिताको देहान्त भयो । पिताको शोकमा जेलभित्रै उहाँले कविता लेख्नु भयो । त्यसको एक अंश यस्तो छ–
शोषकहरूको यस्तै चढ्का
अत्याचारी लात र धक्का
पाई बाको प्रिय छोरो
बाँचिरहोस् अझ बाँचिरहोस् ।
लक्ष्मीनन्दन शर्मा चालिसे (विसं १९७०–२००२) पनि कवि हुनुहुन्छ । उहाँका क्रान्तिकारी कविता त्यति देखिँदैनन् तर गरिबका पक्षमा लेखिएका कविता भने देखिन्छन् । उहाँ मानसिक रूपमा राणा शासकका घोर विरोधी हुनुहुन्थ्यो । उहाँले विसं १९९८ मा बीएको परीक्षामा नपुंसक राणाहरू भनेर लेख्नु भएछ । उत्तरपुस्तिका परीक्षकले त्यो कुरा लुकाउन नसकी तत्कालीन शिक्षा सचिव मृगेन्द्रशमशेरलाई भनेछन् । मृगेन्द्रले पद्मशमशेर र पद्मले प्रधानमन्त्री जुद्धशमशेरलाई सुनाएछन् । जुद्धशमशेरले चालिसेलाई छ वर्षको जेल सजाय दिए । केही वर्षपछि चालिसे क्षयरोग लागेर जेलमै दिवङ्गत हुनुभयो । जेल परेर मर्नेमा चालिसे दोस्रो साहित्यिक शहीद मानिन्छ ।
विश्वेश्वरप्रसाद कोइराला (विसं १९७०–२०३९) सातसाले क्रान्तिका नायक नै हुनुहुन्छ । त्यसको चर्चा राजनीतिक दृष्टिले हुन्छ तर उहाँ साहित्यकार पनि हुनुहुन्छ । उहाँले विसं २००४ मा बनारसबाट प्रकाशित हुने युगवाणीमा ‘महाराजको सबारी’ र विसं २००६ मा ‘दोषीचश्मा’ कथा सङ्ग्रह प्रकाशित गराउनु भयो । ‘महाराजको सवारी’ र ‘दोषी चश्मा’मा राणा शासनप्रति तीव्र व्यङ्ग्य गरिएको छ । त्यसैले उहाँ पनि राणा शासनको विरोध गर्ने उल्लेख्य साहित्यकारका रूपमा चिनिनु हुन्छ ।
गोपालप्रसाद रिमाल (विसं १९७५–२०३०) क्रान्तिकारी कविकै रूपमा सर्वाधिक प्रसिद्ध छन् । विसं २००० मा प्रकाशित ‘आमाको सपना’ उहाँको प्रसिद्ध क्रान्तिकारी कविता हो । विसंं १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा सरकारले मृत्युदण्ड दिएपछि रिमाल उग्र क्रान्तिकारी हुनुभयो । विचार मिल्दा साथीहरूको समूह बनाई उहाँ बिहान–बेलुका पशुपतिनाथ र शोभाभगवतीको मन्दिर जानुहुन्थ्यो र कविताले प्रार्थना गर्नुहुन्थ्यो, जस्तै–
म गर्छु देशसेवा बल देऊ लौ मलाई
मबाट होस् सबैको आनन्द औ भलाइ
तिम्रै गरी पुकारा अर्पण गरेर भेटी
हामी भयौँ फुका सब दासत्वलाई मेटी ।
जयतु संस्कृतम् आन्दोलन (विसं २००४) साहित्यिक होइन र साहित्य सिर्जनामार्फत राणा शासनको विरोध गरिएको पनि होइन । यसमा संस्कृत महाविद्यालयमा पनि इतिहास र भूगोल विषयको पढाइ होस्, महाविद्यालयले लिने परीक्षा नेपालमै लिइयून्, संस्कृतका विद्वान्लाई पनि अङ्ग्रेजी विद्वान्को जस्तै मान्यता दिइयोस् भन्ने माग राखेर गरिएको शैक्षिक आन्दोलन हो, तापनि यसमा सहभागी हुने प्रायः सबै साहित्यकार देखिन्छन् । जस्तै– पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, केवलपुरे किसान आदि । प्रधामन्त्री मोहनशमशेरले जयतु संस्कृतम् आन्दोलनका सहभागीलाई काठमाडौँबाट डाँडा कटाउने सजाय दिए ।
यी माथि उल्लेख गरिएका बाहेक युद्धप्रसाद मिश्र, डायमनशमशेर राणा, बालकृष्ण सम, जनार्दन सम आदिले पनि सातसालको क्रान्तिमा सहभागी भएर राणा शासनको विरोध गरे ।
यसरी आदिकवि भानुभक्तदेखि सात सालसम्ममा भएका साहित्यिक गतिविध अर्थात् विद्रोही सर्जकका क्रान्तिकारी रचना र ती रचनाबाट उत्तेजित भई शासकले सर्जकलाई दिएको सजाय, पुस्तकमाथि लागेको प्रतिबन्ध र जरिवानाको प्रभाव त्यति बेलाका अन्य स्रष्टाका साथै अन्य सचेत पाठकमा पनि परेको देखिन्छ । शासकका वाक्स्वतन्त्रता विरोधी, स्रष्टाविरोधी र निर्मम कार्यले अन्य स्रष्टा भयभीत र निरुत्साहित भएका वा अझ क्रान्तिकारी भएर शासकविरोधी सिर्जनामा तल्लीन भएको पनि देखिन्छ । उपर्युल्लिखित क्रान्तिकारी रचना र विद्रोही स्रष्टाले पाएको दण्डसजायको प्रभावबाट नै सात सालको क्रान्तिलाई सिर्जनात्मक, वैचारिक र बौद्धिक बल प्राप्त भएको र अन्ततः अनुत्तरदायी, अप्रजातान्त्रिक र क्रूर जहानियाँ राणा शासन अन्त्य भई देशले प्रजातन्त्र प्राप्त गरेको देखिन्छ ।