नेपाली गीत विदेशी स्वर
देवेन्द्र अर्याल ‘आँसु’
नेपाली गीतसङ्गीतमा विदेशी गायकगायिकाको स्वर समावेश हुँदै आएको छ । पछिल्ला दिनमा पनि यसले निरन्तरता पाइरहेको छ । विशेषगरी भारतीय तथा पाकिस्तानी गायकगायिकाले नेपाली गीत गाएका छन् । भारतीय गायकगायिकाले गाएका थुप्रै गीत त नेपाली चलचित्रमा पनि समावेश भएको छ । त्यस्तै, केही गायकका गीत भने एल्बममा समेटिएका छन् । नेपाली सिनेमाका निर्माता तथा निर्देशकहरूले बम्बईमा चलचित्र डबिङ गर्ने वा गीत रेकर्डिङ गर्ने सन्दर्भमा भारतीय गायकगायिकलाई गीत गाउन लगाइन्थ्यो । यसले नेपाली गीतको संवद्र्धन र प्रचारप्रसारमा थप मद्दत पुगेको छ ।
नेपाली गीतमा स्वर दिने विदेशी गायक गुलाम अली हुनुहुन्छ । चालीसको दशकताका केही गीत गाएर चर्चाको शिखरमा पुग्नुभएका अलीले मवीवि शाहका गीत गाउनुभएको थियो । ‘गाजलु ती ठूला ठूला आँखा’, ‘के छ र दिऊँ तिमीलाई मैले’, ‘लोलाएका ती ठूला नजर’, ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’, जस्ता चर्चित गीतमा स्वर दिनुभएका अलीलाई सदाबहार गीतका गायक मानिन्छ । त्यस्तै, अर्का पाकिस्तानी गजल गायनका सम्राट् मेहेदी हसनले पनि नेपाली गीतमा स्वर दिनुभएको छ । उहाँले ‘आँखा छोपी नरोऊ भनी’, ‘भन लौ तिमी नढाँटी’, जस्ता मवीवि शाहका गीतमा आवाज दिनुभएको थियो । ‘दिल चोरेर बदनाम’, ‘मैले खुसी दिँदै थिएँ’, ‘कथा मेरो आफ्नै’, ‘कुन माया सदर भो’, ‘एकदिनको संयोग’, ‘कस्तो माया देखेँ आज’, ‘भनी दिऊँ कि जस्तो लाग्छ’, ‘त्यो दिन त्यो रातको मिलन’, ‘झुल्केको घाम’, जस्ता गीतमा स्वर दिने भारतीय गजल बादशाह जगजित सिंह हुनुहुन्छ ।
माइतीघर सिनेमाको मवीवि शाहको रचना रहेको ‘जुुन माटोमा मेरो’ गीतमा भारतीय गायिका लता मङ्गेसकरले स्वर दिनुभएको छ । उहाँले पछिल्लो समयमा रामकृष्ण ढकालसँग ‘पूmल भन्छ फुलिरहँु’ बोलको गीत गाउनुभएको छ । यसैगरी नेपाली चलचित्रका गीतमा आफ्नो स्पष्ट पहिचान कायम गर्न सफल भारतीय गायिका आसा भोस्लेले पनि धेरै नेपाली गीत गाउनुभएको छ । उहाँका ‘वसन्त नै बस्न खोज्छ’, ‘गैह्रीखेतको सिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘पहाडको माथिमाथि’, ‘को होला मेरो मायालु’, ‘मेरो मनको’, ‘आज हाम्रो भेट भाको दिन’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘यति धेरै माया दियौ’, आदि थुप्रै उत्कृष्ट गीत छन् । नेपाली चलचित्रमा सबैभन्दा बढी गीत गाउने विदेशी गायिकमा उहाँ पहिलो स्थानमा हुनुहुन्छ ।
प्रसिद्ध भारतीय गायक महेन्द्र कपुरले पनि नेपाली गीत गाउनुभएको छ । उहाँले गाएको लोकप्रिय गीत ‘आँधीसँग खेल्नुपर्छ’ चलचित्र ‘सङ्कल्प’मा समावेश गरिएको छ । यो गीत गगन विरहीले रचना गर्नुभएको हो । यस्तै, भारतीय गायक भूपेन्द्र सिंहले ‘इसाराले बोलाउनुपर्दैन’ र ‘सपना हो यो भने’ बोलको गीत गाउनुभएको छ । यी दुवै गीत नेपाली चलचित्र ‘अन्याय’ र ‘अनुराधा’मा समावेश गरिएका छन् ।
‘आज बाह्र हाते पटुकीको कुरा गर’, ‘मलाई फुल्न देऊ’, ‘कसरी भनुँ म मनको कुरा यो’, ‘धड्कनभित्र’, ‘डालीडाली फूल फुल्यो’, ‘जनम जनम चाहना यो मनको’, ‘सोचे जस्तो हुन्न’, ‘जब जब जिन्दगीमा’, ‘सपना भई आँखामा आउने’, ‘मलाई आँखैमा गाजल लाउन मनपर्छ किनिदेउ न साइँलादाइ’, आदि थुपै्र गीतमा चर्चित भारतीय गायिका साधना सरगमले स्वर दिनुभएको छ । यसैगरी भारतीय लोकप्रिय गायक कुमार सानुले ‘के सन्देश बोकी ल्यायौ हे बादल’, ‘पुरानो हुँदैन माया’, ‘म त अब रिसाउँछु’, ‘फूल भए यो जिन्दगी देउतालाई’, ‘यो कथा हो तृष्णा मेरो’, ‘साँची राँखु जस्तो लाग्छ’, ‘यो साँझ यो सुवास’, ‘भरे आउँछु सपनीमा’, ‘यो दुई थोपा आँसु’ जस्ता चर्चित नेपाली गीतमा स्वर दिनुभएको छ ।
नेपाली चलचित्रका गीतमा स्वर दिने भारतीय गायकमा सोनु निगम पनि पर्नुहुन्छ । उहाँले ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो जिन्दगीले के ग¥यो ग¥यो’, ‘म भएँ पागल’ आदि बोलको गीत गाउनुभएको छ । यस्तै, भारतीय गायक सुरेश वाडकरले ‘नीलो नीलो त्यो आकाश’ र ‘धर्तीभरि खोज्दा’ जस्ता कर्णप्रिय गीतमा स्वर दिएको पाइन्छ । भारतीय गायिका अनुराधा पौडवालले ‘चैत मास खडेरीमा’, ‘आँधीले छेक्न सक्दैन’ जस्ता गीतमा स्वर दिनुभएको छ । गायिका सञ्जीवनीले पनि नेपाली चलचित्रका गीतमा स्वर दिनुभएको छ । ‘के सन्देश बोकी ल्यायौ’, ‘लौ है माया सुटुक्कै आउनु है’, ‘सिन्का सिन्का जोडेर’, ‘डाँडापाखा छहराले’, ‘मखमली पछ्यौरीले’, ‘तारिफ तिम्रो माया’, ‘आजभोलि’, ‘माया पनि यस्तै रै छ’, ‘अन्त माया लाको भए’, ‘धड्किन्छौ मुटुमा होला’, आदि गीतमा उहाँको सुमधुर स्वर सुन्न पाइन्छ । गायक कैलाश खेरले ‘बोल्नैपर्छ भन्ने केही छैन’, ‘फूलको थुँगा’, ‘काठमाडौँ’ बोलको गीतमा स्वर दिनुभएको छ ।
गायिका कविता कृष्णमूर्तिले ‘चिठ्ठी आएन’, ‘तिरिरी मुरली बजायौ’, ‘कति अग्ली अग्ली भएँ, ‘माया नै माया दिन्छु’, ‘माया गङ्गा हो, ‘आँखैमा सपना छ मुटुभरि चाहना’, ‘उडी उडी डुल्छ मन’, ‘आँखाको परेलीमा तिमी’ गीतमा स्वर दिनुभएको छ । गायिका श्रीया घोषालले पनि नेपाली चलचित्रका केही गीतमा स्वर दिनुभएको छ । उहाँले उदितनारायणसँग नेपाली गीत गाउनुभएको छ । उहाँले ‘सुन गाउँघर’, ‘छाएछ वसन्त’, ‘तिमी आयौ’, ‘तिमी बाहेक’ गीतमा स्वर दिनुभएको छ ।
गायक राहुल वैद्यले ‘लुकिछिपी चुपचाप के माया लाउनु’,
‘मन चोरेछौ सुटुक्कै’, ‘तिमीलाई भुल्दिनँ म’, ‘तिमीलाई एउटा कुरा भन्नुभयो’, ‘हिजोका दिनहरूमा’ स्वर दिनुभएको छ भने अर्का गायक अभिजितले चलचित्र ‘प्रेमपिण्ड’को ‘के भनुँ म कसोगरी परेँ’ र ‘मोहनी’ चलचित्रको ‘यो साँझ यो सुवास’ जस्ता उत्कृष्ट गीत गाउनुभएको छ । पछिल्लो पुस्ताकी भारतीय गायिका सुनिधि चौहानले ‘राम्री पनि भाकी छु’, ‘मेरो आँखाको गाजलको कुरै नगर’ र गायक सानले ‘कहाँ भेटिएला’ चलचित्रको ‘कहिले हुँदैन र’ बोलको गीत गाउनुभएको छ । यसैगरी गायिका पूर्णिमाले पनि
‘चन्द्र रोज्यो आँैसीले तारा’ र दीपा झासँग ‘धेरै दिनपछि तिम्रो याद आयो’ गीतमा स्वर दिनुभएको छ ।
पछिल्लो समय युगान्डाकी गायिका डे क्याप्टेन बियोन्सी फाम्सीले पनि नेपाली गीत गाएर ख्याति कमाउनुभएको छ । उहाँको ‘फूलबुट्टे सारी’ र ‘ल्यासे पाउँ’ निक्कै चर्चित बनेका छन् । त्यस्तै, एलेक्स नेपाली, पिटर म्याकडोन, एलेक्जेण्डर स्लोकोम्बालगायत अन्य विदेशी गायकगायिकले पनि नेपाली गीतमा स्वर दिनुभएको छ । ‘रेसम फिरिरी’, ‘पानको पात’, ‘लाहुरेको रेलीमाई’ जस्ता गीत विदेशीले निकै पहिलेदेखि नै रुचाएका गीतहरू हुन् ।