शनिवार |

रातो गलबन्दी (कथा)

जीवराज भट्टराई

हिजोसम्म त बाले गलबन्दी समाएर त्यसको टुुप्पोले आफ्नै अनुहारमा टाँसिन आउने झिँगालाई कुनैकुनै बेला धपाउनु हुन्थ्यो । आज त्यो पनि सक्नुभएन । कुनै बेला गोविन्दले धपाइदियो, धेरैजसो समय बाका मुखभरि ती मग्न भएर टाँसिइरहे । चम्चाले मुखमा राखिदिएको दूध र हर्लिक्स आधाभित्र र आधा चिउँडोतिर बग्दा बढेका दारीका जरातिर त्यो फिँजारिदै तलतिर बग्ने गर्छ । बग्दाबग्दै कहिले उमेर–आरेखित बाका गालातिर पनि पुग्छ । पुछ्न खोज्दा राम्रोसँग पुछिन्न । त्यसैको रसले गर्दा बाको अनुहारमा आफ्नो मुख गाड्न झिँगाले मरिहत्ते गर्छन् । कुनै बेला बाघको घाँटी निमोठ्दै हिँडेका बा ओच्छ्यान परेको १४औँ दिनमा आफ्नै अनुहारमा टाँसिने झिँगासँग हारेजस्तो शिथिल र निरीह हुनुभयो ।

हिउँदका घाम पश्चिमी क्षितिज नजिक पुगेर मलिन हुन थालेपछि बालाई भेट्न आएकाहरू पनि एकएक गर्दै उठेर जान थाले । कसैले उठ्दै गर्दा र कोही अलिपर पुगेपछि भन्दै थिए– ‘‘अब बौरिने छाँट छैन ।’’
बालाई कुर्न बसेको गोविन्द एक्लो हुँदै गयो । एक्लो त के भन्ने नजिकै बा सुतिरहनु भएको छ तर बासँग अब ढुक्ढुकी मात्रै बाँकी छ । सधैँभरि बाको टाउकोमा हुने रातो गलबन्दी पनि ओच्छ्यानमा लमतन्न परेर सुतेको छ । कुनै बेला त्यसको टुप्पो समाएर गोविन्दले बाको मुखमा गाडिन खोजेका झिँगा धपाउँछन् तर बूढा शक्तिहीन भएको ब्रम्हज्ञान अनुहारमा बस्न आउने झिँगालाई कसरी भएको हो ती असाध्यै अटेरी बन्छन् । आफ्नै मुखमा मनपरी गरिरहेका झिँगा धपाउन नसक्ने असक्तताबारे बाको मनले के सोच्दो हो, गोविन्दले अनुमान लगाउने असफल प्रयास गर्छ ।

अनि उसले झिँगा धपाउने त्यो रातो गलबन्दीबारे सोच्छ । हिउँदका चिसा दिनहरूमा त हो, कुनैबेला त्यो रातो गलबन्दी युवावस्थाको गोविन्दको कहिले घाँटी र कहिले टाउकोमा थपक्क सुहाउँथ्यो । उसले सम्झिँदै गयो अठ्तीस वर्ष बितेछन् । भर्खरै एसएलसी पास गरेको गोविन्दले गाउँकै विद्यालयमा बिदामा बसेका स्थायी शिक्षकको सट्टामा पढाउने जागिर पाएको थियो । पहिलो महिनाको तलब सयसयका चारवटा र दसदसका सातवटा कट्कटाउँदा नोट हातमा परेको दिन उसका खुट्टा भुइँमा थिएनन् । तिनै उचालिएका खुट्टाले त्यस दिन उसलाई अरू दिनभन्दा चाँडै घर पु¥याएका थिए । बाका हातमा चारवटा सयका नोट थमाएर अनुमति माग्दै सातवटा दशका नोट उसले आफ्नो गोजीमा राखेको थियो । सन्तानको पहिलो कमाइ हात पारेका बूढाबूढी बेलुका सुतेपछि पहिले धेरै बेरसम्म गुन्गुनाएर पछि सुँक्कसुँक्क गर्दै निदाएका थिए ।

अर्को दिनदेखि पन्ध्र दिने दशैँ बिदा भयो । सत्तरी रुपियाँ गोजीमा बोकेर गोविन्द एकाबिहानै सदरमुकामतिर लाग्यो । आवतजावत आठ घण्टाको बाटो हिँडेर बेलुका घर फर्किंदा उसको घाँटीमा धपक्कै बलेको रातो गलबन्दी थियो । ती दिनहरूमा गाउँघरमा त्यस्तो गलबन्दी ओढ्ने अर्को कोही थिएन । अर्को दिनदेखि धेरैले उसलाई गलबन्दीको मूल्य र किनेको पसल सोधेका थिए । अनि गोविन्दले दुई हातले गलबन्दी मुसार्दै गर्वसाथ त्यसको तीस रुपियाँ मूल्य त भन्थ्यो तर खै किन हो पसलको नाम सितिमिति भन्दैनथ्यो ।
त्यो हिउँदभरि कुनै दिन पनि गोविन्द र गलबन्दी छुट्टिएनन् । विद्यालयमा दशैँको बिदापछि स्थायी शिक्षक हाजिर हुन आएकाले गोविन्द मास्टरबाट गोठाले भएको थियो । घरका सत्र–अठारवटा गाई फुकाएर टाढाको वनमा लैजानु र दिनभरि चराएर बेलुका फर्काउनु उसको दैनिकी थियो । ती दिनहरूमा गोविन्दका ओठमाथिका रौँ अरूबाट प्रष्ट छुट्टिएर कालाकाला हुँदै गएका थिए । त्यसअघिसम्म कपडा धुने र नुहाउने साबुन फरकफरक हुन्छन् भन्ने थाहा नपाएको उसले एकमहिने मास्टरको जागिरपछि बास्नादार साबुनले अड्कली अड्कली नुहाउने भएको थियो । कतिसम्म भने नुहाउँदा शरीरबाट पूरै साबुन निख्रियो भने बास्ना पनि छिट्टै सकिन्छजस्तो उसलाई लाग्थ्यो ।

समय त्यस्तै थियो । वल्लो पाखामा गाईको लस्कर र पछिपछि रातो गलबन्दीको फेटा बाँधेको गोविन्दलाई देखेपछि पल्लो पाखाका किशोरीहरूमा कुन निहुँ बनाएर छिटोछिटो वनतिर जाउँ भन्ने हुट्हुटी चल्थ्यो । अनि भेटेपछि ती भन्थे— “आज त थकाइ लागेर ज्वरो नै फुट्लाजस्तो भएको थियो तर रातो गलबन्दी देखेपछि त्यो सबै हरायो ।” अर्कीले लगत्तै आफ्नो कुरा भन्थी— “आज त आमाले गहुँ बोकेर मीलतिर जा भन्नुहुन्थ्यो म त नमानेर यता आएँ ।” त्यस्तो बेला गोविन्द आफूलाई थुप्रैथुप्रै राधाबाट घेरिएको कृष्णजस्तो महसुस गथ्र्यो ।

दिनभरि त्यसरी गफिएपछि साँझ गोधुलीमा जब गाई खेद्दै ऊ घरतिर फर्किन्थ्यो, त्यहीबेला अघि भर्खरसम्म सँगै भएकाहरूले पल्लो पाखामा पुगेर यस्ता लोकभाकाले रनवन गुन्जाउँथे ।
“सम्झना अति भो, छोटो जिन्दगीको
झझल्को आइरहने रातो गलबन्दीको.....”

त्यस्तो बेला गोविन्दले टाउकोमाथिको गलबन्दी फररर फुकाउँथ्यो र उतै फर्किएर फन्फनी नचाइदिन्थ्यो । एकछिनपछि कुइनेटोले छेकिएर वारिपारिका दुवैथरि ओझेल पर्थे । त्यसरी ओझेल पर्नुअघि टक्क अडिएर एकअर्कालाई हार्दिकतापूर्ण बिदाइ गर्नुपथ्र्यो । नत्र अर्को दिन स्पष्टीकरण दिनुपथ्र्यो नि त । त्यसबेला हात हल्लाएर बिदाइ गर्ने चलन आइसकेको थिएन र आएकै भए पनि टाढा हुनाले हात हल्लाएको देखिँदैनथ्यो । अब देखिन छाड्छ भन्ने भएपछि हिँड्दाहिँड्दै टक्क अडिनु र दिशा पर्नेगरी फर्किनु नै सम्मानजनक बिदाइको उम्दा चलन थियो ।

गोविन्दको रातो गलबन्दी त्यसरी प्रिय बनेको थियो । बूढापाकाहरूले भन्दै आएको ‘रातो राम्रो गुलियो मीठो’ पनि सधैँका लागि नहुने रहेछ । एकदिन त्यसरी वनमा जिस्कँदा जिस्कँदै प्रधानपञ्चकी छोरी जुनाले गोविन्दमाथि आफ्नो मात्रै हक छ भनेझैँ गरेर उसको गलबन्दी पहिले लुकाइ र पछि घरै लिएर गई । त्यस दिन त गोविन्दले त्यसलाई सामान्य रूपमा नै लिएको थियो तर अर्को दिन बिहानै प्रधानपञ्च घरमै आएर तथानाम गाली गरे । गरिबको छोरो भएर एसएलसी पास गरे भन्दैमा आफ्नो औकात बिर्सेर आफ्नी छोरी ताकेको भन्ने उनको आरोप थियो गोविन्द र उसको परिवारमाथि । गोविन्दले पनि प्रधानका सबै आरोप घोसेमुन्टो लाएर सुनिमात्र रहेन । दिनुपर्ने जति जवाफ ठीकठीक पाराले दियो ।

आफूले हैसियत देखाइदिने भन्दै प्रधानपञ्च फर्किएका थिए । तीन दिनपछि घरमा तीनजना प्रहरी आएर गोविन्दलाई लिएर गए । त्यतिबेला उसले ओढ्ने गरेको रातो गलबन्दीलाई राज्यविप्लवको प्रतीक बनाइयो । गाउँघरका युवा जम्मा गरेर अशान्ति र अराजकता फैलाउने हर्कत गरेको उजुरी परेको रहेछ । सर्जमिन मुचुल्का हुँदा प्रधानपञ्चले त्यसलाई प्रमाणित गरिदिए । ऊमाथि अराष्ट्रिय तìवको मुद्दा लाग्यो । कतिसम्म भने त्यो पसलमा भएको गोविन्दले किनेको जस्तै अर्को गलबन्दीचाहिँ जिल्लामा नाम कहलिएका भूमिगत नेताले किनेर लगेको कुरालाई समेत प्रशासनले गोविन्दको मुद्दासँग जोडेर व्याख्या ग¥यो ।

महिना दिनपछि गोविन्द हिरासतबाट छुट्न त छुट्यो तर प्रत्येक १५/१५ दिनमा सीडीओ कार्यालयमा हाजिर हुने सर्तमा । ख्यालख्यालैमा आफ्नो कारणले गोविन्दले त्यति ठूलो सजाय पाएकोमा प्रधानकी छोरी जुनालाई भित्रभित्रै पश्चातापको आगोले पोलिरहेको थियो । त्यसमाथि अरू दौंतरीहरूले पनि गाली गर्दा उसभित्रको त्यो आगोमा झन् मट्टितेल खन्याएजस्तो भएको थियो । छुटेर आएपछि उसले ठूलो हिम्मत बटुलेर गोविन्दलाई भेटी र माफी माग्दै गलबन्दी पनि फिर्ता दिएकी थिई । त्यतिबेला गोविन्द ऊसँग एक शब्द नबोलेर घर गएको थियो । त्यसै रात गोविन्द एकाएक घरबाट गायब भयो । ऊ बेपत्ता भएको बारेमा धेरैले धेरै किसिमका अड्कल काटे । धेरैतिर उसको खोजी पनि भयो तर कसैले केही सुँइको पाएन । लामो समयसम्म उसको खबर केही नआएपछि कतिपयले त अब गोविन्द दृश्यलोकमा नरहेकोले उसको नाममा कुशको पुत्ला बनाएर जलाउने र काजकिरिया गर्ने प्रस्ताव पनि सोझो/घुमाउरो ढङ्गले राखेका थिए तर गोविन्दका बाले त्यो कुरालाई सुनेको नसुन्यै गरे । एकाध जनालाई त उनले भावुक भएर जवाफ पनि दिएका थिए–‘‘जबसम्म यो रातो गलबन्दी मसँग रहन्छ तबसम्म मेरो छोरो कहीँ न कहीँ सुरक्षितै रहेको हुनेछ ।’’

नभन्दै देशमा बहुदलीय व्यवस्था आएकै वर्ष हिउँद लाग्ने बित्तिक्कै गोविन्द टुप्लुक्क घर आइपुग्यो । घरबाट एकाएक गायब भएको गोविन्द सुटुक्क हुम्ला पुगेर त्यहाँको एउटा सुदूर गाउँमा शिक्षकको जागिर खाँदै घरजमसमेत गरेर बसेको थियो । त्यतिका वर्षसम्म बेखबर भएको ऊ त्यसपछि भने एकदुई वर्ष बिराएर घरमा आवतजावत गर्न थाल्यो । लायक भएको छोरो एकाएक त्यसरी हराएपछि गोविन्दका बालाई त्यो ठाउँप्रति विरक्त लागेको र तिनै प्रधानपञ्चको अनुहार हेर्न मन नलागेकाले केही वर्षमै तराईतिर बसाइँ सरेका थिए । गोविन्द आएपछि बाले छोरालाई त्यो रातो गलबन्दी दिन चाहेका थिए तर गोविन्दले नै बालाई आफ्नो पहिलो कमाइको चिनो होस् भन्दै समर्पण गरेको थियो । त्यसपछिका दिनमा बाले त्यो रातो गलबन्दी सधैँ आफ्नो टाउकोमा गुथेर हिँड्थे । त्यो देख्दा गोविन्दलाई पनि असाध्यै खुसी लाग्थ्यो ।

आज यतिका वर्षपछि त्यही गलबन्दीको एकछेउ गोविन्दको हातमा छ र अर्को छेउ बाको मुख नजिक छ । यता गोविन्दले विगतमा यसरी विचरण गर्दागर्दै उता अघि भर्खरसम्मका त्यति सर्वव्यापी घाम पश्चिमतिरको क्षितिजमा पुगेर भुक्लुक्क डुबे । दिन चिसिँदै गएको बेला गोविन्दका भाइ पनि जागिरबाट फर्केर घर आइपुगे । अब दाजुभाइ मिलेर बालाई भित्र लैजाने कि भन्ने सरसल्लाह हुँदै थियो बाले त मुख बाएर एकाएक आँखा ठूला पार्नुभयो । तीन पटकसम्म त्यसो गर्दा दुवै भाइले पालैपालो मुखमा पानी राखिदिए तर त्यो बाहिरै फक्र्यो । चौथो पटकमा बाका मुखबाट हुलुक्क हरियो पानी बाहिर निस्कियो । त्यही पानीसँगै उहाँको केही दिनदेखि अड्केर रहेको अन्तिम ढुक्ढुकी पनि निस्केको रहेछ । गोविन्द र भाइले नजिकै रहेको त्यही गलबन्दीले बाको मुख र चिउडो–गाला पुछिदिए । अनि नजिकै रहेको किमुको सानो रूखमा रातो गलबन्दीलाई झुण्डाइदिए ।

बिहान घाटतिर जाने बेला गोविन्दले अश्रुपुरित आँखाले किमुको बोटतिर हेर्दै भने –‘‘अरू सबै कपडा जलाइदिए पनि बाको यो गलबन्दी नजलाइदिनू है ।’’