रिस (निबन्ध)
श्रीबाबु कार्की उदास
रिस हो सबको सत्रु,
रिसै हो सब् नासिने !
रिसले उठ्छ झगडा
रिसैले सब् नासिने !!
रिससम्बन्धी यो कविता मैले सानै उमेरमा सुनेको हुँ । कवितामा रिसलाई मानिसको व्यक्तित्व क्षयीकरणका रूपमा लिएको छ । मानवीय उन्नति–प्रगतिको बाधक नै रिस हो भन्ने देखिन्छ । हालसम्म आधुनिक औषधि विज्ञानले पनि रिसको कुनै औषधि पत्ता लगाउन सकेको छैन । यदि औषधि थियो भने, एक मात्रा त मै पनि सिनित्तै पार्थें हुँला । त्यति मात्रैले नपुगे ‘बुस्टर डोज’ पनि भ्याइदिन्थेँ ।
भाषाको आँखाबाट हेर्ने हो भने पनि– रिसको कुनै वर्णमाला छैन । रिसको कुनै शास्त्र छैन । दर्शन छैन । रिसलाई नाप्ने कुनै आधुनिक यन्त्र छैन । कस्ता कस्ता विद्वान्हरूको पनि हामीले रिसको पारो तातेको देखेका छौँ । रिसको कुनै तह र ओहोदा भन्ने हुँदैन । ठूलो–सानो भन्ने चिन्दैन । आफ्नो र पराया जान्दैन । रिस ठूलो होस् या सानो ! छोटो होस् या लामो ! ढिलो होस् या छिटो ! मीठो होस् या तीतो ! यो त मापाको हुन्छ । रिसजस्तो वैरी अरू केही हुन्न ।
ईश्वरको अनुपम अनुकम्पाले हरेक मानिसको पोल्टामा धेर–थोर रिस प्राप्त भएकै छ । यसर्थ ईश्वरको दिव्यदृष्टि मेरो हकमा नपर्ने कुरै भएन । मैले असल छु भनेर रत्तिभर आत्माश्लाघा गरेको छैन । नेपालीमा एउटा उखान छ – ‘रिस खा आफू, बुद्धि खा अरू ।’ रिसले खाने आफैँलाई हो । रिस मानिसभित्रको यस्तो कीरो हो– जसले हरेक मानिसलाई काठको कीरालेझैँ भित्र–भित्रै कुटुकुटु खाइरहेको हुन्छ ।
कति पटक त म आफैँले त्यो अनुभूति गरेको छु । छ्या...! कस्तो रिस उठेको होला ! होइन यो मन कति छिटो तात्न सकेको हो ! बरु बिजुलीमा जोडेको आइरन ढिलो तात्दो हो तर रिसको पारो पलभरमै तातेर हैरान हुन्छ । अनि जब ठन्डा दिमाग बनाएर मनमनै भन्छु– “अब त रिसाउने काम त कहिल्यै गर्दिनँ । आखिर रिसले हानि गर्ने आफैँलाई हो ।” तर के गर्नु मनलाई थामथुम पार्ने पनि, रिस नउठुञ्जेल न हो । रिस उठेपछि उठ्यो–उठ्यो । रिस नउठुञ्जेल उठ्दैन, उठेपछि बस्दै–बस्दैन । रिसलाई छेक्न थुन्न सबैलाई हम्मे हम्मे पर्छ ।
भनिन्छ– “सर्पलाई विषले सक्छ र मान्छेलाई रिसले सक्छ ।” मैले भावोत्कर्ष वा आत्मोत्कर्षमा आएर भनेको हैन । चारैतिरबाट हेर्दा हानिकारक यो रिसलाई हामी किन बोकेर हिँड्छौँ ? किन छोड्न सक्दैनौँ ?
यो निबन्धकारले रिसका सन्दर्भमा निकै खोज अनुसन्धान ग¥यो । रिसका रङ–रोगन अनुभव ग¥यो, रिसाहा मानिसका भाव–भङ्गी हे¥यो, रिसका आकार–प्रकार भोग्यो र रिसको तातो–चिसो नजिकबाट अनुभव ग¥यो । कतिपय अवस्थामा रिसको भर्भराउँदो भुङ्ग्रोमा भुतभुते खेल्यो । रिसका सानो–ठूलो पहाड चढ्यो । रिसको दहमा पौडी खेल्यो । रिसको घनचक्करमा मज्जाले घन चलायो ।
रिस भोग्दै जाँदा– कति रिस सामान्य लाग्थे । कति रिस उघ्र र खतरनाक हुन्थे । मैले आजसम्म कैयौँ मानिससँग उठबस गरेँ । कैयौँ मानिससँग सम्बन्ध गाँसेँ । सबैका मनभित्र ठूलो–सानो रिसको पोको लुकेकै देखेँ । हजारौँ मानिसका रिसलाई यो सानो खोपडीले देख्यो/भोग्यो ।
अब तपाईंको मनमा रिसका क–कस्तो प्रकार हुने रहेछ ? जान्ने उत्सुकताले मनमा पक्कै कुतीकुती लगायो होला । तपाईंहरू आफैँलाई समीक्षा गर्नुस्– म कुन रिसको श्रेणीमा परेँ ? तपाईंको परिवारमा को–को कुन श्रेणीमा पर्नु भयो ? हेर्नुस् है त । त्यो जिम्मा यहाँहरूलाई भो । यदि तपसिलका कुनै पनि रिसका श्रेणीमा परिवारको कुनै पनि सदस्य परेन भने त्यो अनर्थ भो । सम्झिनुस्– त्यो अपवाद भो ।
सर्वप्रथम म कुन रिसको सन्दर्भ उप्काउँ ? आखिर एउटा न एउटा रिसको सन्दर्भ उप्काउनै पर्ने भएपछि ढिलो किन गर्नु !
पहिलो रिस हो– लाटो रिस । नेपाली शब्दकोषका अनुसार यो रिस – ‘हत्तपत्त नउठ्ने, उठेपछि शान्त नहुने र केही गरिछाड्ने रिस वा झोँक ।’ भनेर अथ्र्याइएको छ । नेपाली शब्दकोशले नै यसो भनेपछि अरू मैले के भनिरहनु पर्छ र ? यो रिस निकै कडा रिस हो भन्ने कुरामा हामी निःसन्देह छौँ । जो हम्मेसी उठ्दै–उठ्दैन, उठेपछि बस्दै–बस्दैन । यो रिस रिसमध्ये निकै खतरनाक रिस हो । यस्तो रिस भएको मानिस निकै खतरनाक स्वभावका हुने गर्छन् । यो रिस उठेपछि मानिसले आफ्नो अर्काको चिन्दैन । यस्तो बेला लाटो–रिस उठ्ने मानिसले न अर्काको कुरा बुझ्छ, न उसको कुरा अरूले सजिलोसँग बुझ्छ । ऊ निकै बुद्बुदाउँछ, धताउँछ र चेतनाशून्य प्रायः बन्छ । यस्तो रिस उठेको मानिस बिजुलीको नाङ्गो तारझैँ हुन्छ । यस्तो बेला सामान्य मानिस सतर्क र सहज रहनुको विकल्प हुन्न । लाटोरिस उठ्ने मानिसले जे पनि गर्न सक्छ । त्यसैले लाटोरिस रिसहरूमध्ये खतरनाक रिस हो भन्ने कुरा सधैँ हेक्का राख्नुपर्छ ।
अब अर्को रिसको कुरा गरौँ । त्यो हो– झन्केरिस । यो रिस बिजुली चम्केको गतिमा उठ्ने रिस हो । यो रिसले मानिसको सम्पूर्ण शरीरमा एक किसिमको नमीठो झट्का दिन्छ । झनक्क रिसाउनु नै यो रिस भएका मानिसहरूको गुण हो । यस्तो रिस भएका मानिसहरू जत्तिसुकै सुन्दर मुहार भए पनि एक्कैछिनमा कान्तिविहीन हुन पुग्छन् । अनुहार पलभरमै कालोनीलो बनाउँछन् । हरेक कुरामा झडङ्ग गर्छ । चम्किलो अनुहार धमिलो र मैलो बनाउन सक्छन् । यो रिस धेरै बेर रहन्न । शीघ्र रिसाउनु र शीघ्र खुसाउनु यो रिसको विशेषता हो । यो धेरै हानिकारक रिस त होइन तर यस्तो रिस भएका मानिसहरू समाजमा रिसाहा मानिसको कोटीमा दर्ज हुन्छन् । सार्वजनिक रूपमा यो रिस भएका मानिसहरूलाई सबैले मज्जाले चिन्छन् । जहाँ पनि झन्कने र जोसँग पनि रन्कने स्वभावले यो रिस चर्चित छ । क्षणिक समयका लागि यो रिस पनि खतरनाक नै हुन्छ ।
अब एउटा अचम्मको रिसको कुरा गरौँ । जुन रिसलाई हामी – हुप्पेरिस भन्छौँ । तपाईंहरूलाई लाग्दो हो– यो हुप्पेरिस कस्तो हो ! यसको उदाहरण म आफैँ पनि हुँ भन्दा तपाईंहरूलाई अचम्म लाग्ला । धेरै हुप्प फुल्दा मलाई आफ्नै नापको कोट पनि सानो र कसिलो हुन्छ । तपाईं हामी धेरैलाई यो रिसले थोर–बहुत गाँजेकै छ । यो रिस आक्रामक रिस होइन । हुप्पेरिस मौन र शान्त हुन्छ । कसै–कसैले यो रिसलाई भ्यागुते–रिस पनि भनेको सुनिन्छ । यो रिस समाजमा त्यस्तो खतरनाक होइन । यो रिस हुनेहरू आक्रामक नभई आफैँ हुप्प फुलेर रिसाउँछन् । धुम्म परेर बस्छन् । भ्यागुतोझैँ भुक्क फुल्नु नै यो रिस भएकाहरूको स्वभाव हुने रहेछ । मानिस धुम्मधुम्ती फुलेर अर्कोलाई गर्ने रिस नै हुप्पेरिस हो ।
तपाईंहरूले आँख्लेरिस कत्तिको सुन्नुभएको छ ? कत्तिको देख्नुभएको छ ? यो मानव शरीरको एउटा अङ्गमा मात्रै प्रतिविम्बित हुने रिस हो । जुन रिसलाई हामी आँख्लेरिस भन्छौँ । आँख्लेरिस आँखाका अनेक भावभङ्गीबाट देखिन्छ । यो प्रकारको रिस हुनेहरूको आँखा निकै रातो–रातो हुन्छ । आँखा तर्नु, गहिरोसँग घुरेर हेर्ने, आँखाको नानी पल्टाउने र टेढोमेडो हेरेर रिस पोख्ने प्रवृत्ति देखिन्छ । यो रिस देख्दा निकै कडाजस्तो देखिए पनि खास हानिकारक होइन । यो रिस पोख्ने एक माध्यय मात्रै हो । आँख्लेरिस भएका कतिपय मानिससँग उसको हेराइबाटै समाजमा मानिसहरू तर्सने र थर्कने गर्दछन् ।
धेरैथरीका मानिसका धेरैथरीका रिस हुन्छन् । तिनैमध्ये अर्को रिस हो – फन्केरिस । फन्केरिस कस्तो रिस हो भन्ने लाग्नु स्वाभाविक हो । फन्केरिस हामीहरू धेरैमा हुन्छ । आफूलाई रिस उठेको मानिसको छेउमा नपर्नु र परैबाट झन्किएर, फन्किएर हिँड्नु नै यो रिसको प्रमुख विशेषता हो । यो रिस हुनेहरू शरीरको विभिन्न भावभङ्गी प्रदर्शन गरेर झगडालुसँग झर्को–फर्को गरेर टाढिएको भाव व्यक्त गर्ने गर्दछन् । फन्केरिस सामान्यतया टाढाबाटै गरिने एउटा विमतिपूर्ण भाव हो । यो रिसमा नजिकै हुने र हातपात हुने सम्भावना हुँदै हुन्न । अनि यस्तो रिस भएको व्यक्तिले कसैलाई छुँदै छुन्न ।
अर्को एउटा गजबको रिस छ– हाँडीघोप्टे रिस । पाठकहरूलाई लाग्यो होला कस्तो हो यो– हाँडीघोप्टे रिस ? कुरा थोरै थोरै बुझ्नु नै भो होला ! जो रिसाउँदा अनुहारका सबै अङ्ग कालो न कालो बनाउँछ, त्यो रिसको नाउँ हाँडीघोप्टे रिस हो । यस्तो रिस भएको मानिस जस्तोसुकै गोरो भए पनि एकाएक अनुहारमा कान्तिविहीन बनाउन पुग्छ । उसको अनुहार औँसीको कालो रातझैँ हुन्छ । सेता–सेता चम्किला दाँत पनि रिसाएको बेला अर्कै रङमा परिवर्तन भएको प्रतीत हुन्छ । अनि यस्तो रिस भएको मानिस हम्मेसी बोल्दैन । रिसलाई शब्दमा खोल्दैन । अनुहारको भावभङ्गीबाट रिसाएको थाहा पाइन्छ । रिसालु व्यक्ति बाहिरै कालो, भित्रै कालो हुन्छ । यो रिस पनि निःशब्द र मौन हुन्छ ।
अर्को एउटा रमाइलो रिस छ । जो मनभित्र हुने रिस हो । त्यो रिस खासमा बाहिर देखिन्न । त्यो हो – आरिसे रिस । यो एक प्रकारको मनोरोग पनि हो । यस्तो रिस भएका मानिसहरू अरूको सुख सम्पत्ति, उन्नति, प्रगति र समृद्धिको भित्रभित्रै रिस गर्छन् । डाह गर्ने बानी हुन्छ । उनीहरू ईखालु र डाढे स्वभावका हुन्छन् आफू पनि प्रगति गर्दैनन् र अर्काको प्रगतिमा धेरै नै आरिस गर्छन् ।
रिसका मोटामोटी प्रकार पक्कै आयो होला । म एक पटक फेरि भन्छु– “रिस आफैँमा राम्रो कुरा पटक्कै होइन । यो हामीभित्रको आगो हो ।” आगोलाई नियन्त्रण गर्न सकिएन भने हरचिज खरानीमा परिणत गर्छ । कुरा बुझिहाल्नु भो होला रिसले फाइदाभन्दा हानि धेरै गर्ने हो ।
रिस जन्मजात आउने कुरा हो । जन्मजात आउने स्वभाव भए पनि रिसलाई हटाउन सकिन्न तर घटाउन भने अवश्य सकिन्छ । कम्तीमा हटाउन सक्नुहुन्न भने घटाउन लाग्नुहोस्– भलो यसैमा छ ।