शनिवार |

कृतिको अभिलेखन

राजेन्द्र सुवेदी

नेपाली भाषाको अस्तित्व आविर्भाव भएको लगभग एक सहस्र्राब्दी बितिसकेको आजको अवस्थामा साहित्यका सिर्जना र यसका उपलब्धिले नेपाली जीवनलाई निर्देशित गर्न लागेको चाहिँ आधा शताब्दी बित्न लागेको छ तर यस विषयको सचेत र सुव्यवस्थित सूचनाको अभिलेखन भने त्यति राम्ररी हुन सकेको छैन । नेपाली जीवनसँगको सम्बन्धलाई आरम्भदेखि नै यस विषयले निर्देशित गर्दै आए पनि हाम्रो चेतनामा यसको उपादेयतालाई सचेत ढङ्गले ग्रहण गर्ने परम्परा त्यति राम्ररी अहिलेसम्म पनि बस्न सकेको देखिन्न । जहाँसम्म साहित्यिक कृतिको प्रकाशन र तिनको कति संस्करणसम्म बजारमा आयो र एउटै कृति कहाँकहाँबाट कहिले कहिले कसकसले प्रकाशनमा ल्याए भन्नेसमेतको अभिलेख त झन् अन्धाधुन्ध नै छ ।

यस प्रकारको विषय पनि अध्ययनका लागि उचित हुन्छ भन्ने सोच अझसम्म पनि आएको छैन । कुन कुन विधाको कुन कुन कृति कहाकहाँबाट कति र कहिले कहिले प्रकाशनमा आए भन्ने विषयको अध्ययन हुनुपर्ने पनि विषय बन्न सक्छ । भाषा साहित्यका अन्वेषक तथा लेखकले यस प्रकारको अध्ययनतर्फ आफ्नो दृष्टि पु¥याउन सकेकै छैनन् । देशका भाषा वाङ्मयमा लेखिएका साहित्य मात्र होइन, ज्ञानका अनेक क्षेत्र र भाषामा लेखिएका सामग्रीको संंरक्षणको जिम्मा राष्ट्रिय अभिलेखालयमा निहित छ तर त्यस संस्थाको हविगत पनि तपाईं हामीले देखेकै छौँ । अनेक विधा र प्रयोजनका सन्दर्भमा लिखित र प्रकाशित रचनाको प्रकाशनको अभिलेखन व्यवस्थित नगर्ने हो भने देश, समाज र जातिको तथा सभ्यताको इतिहास नै विच्छिन्न बनेर लोप हुने खतरा आइपर्छ । त्यस स्थितिमा मान्छेको ऐतिहासिक अस्तित्व नै खतरामा पर्ने सम्भावना अधिकतर देखिन्छ ।

कृतिको प्रकाशन तिनको लोकप्रियता र उपादेयताको पनि त्यत्तिकै महत्त्व हुन्छ । तिनको व्यवस्थित अभिलेखनबाट नै आकलन गर्न सकिन्छ । जहाँसम्म नेपाली भाषा साहित्यको प्रकाशन र बिक्री वितरणको सम्बन्ध छ, त्यसमा के देखिन्छ भने नेपाली साहित्यको प्राथमिक काल प्रायः हस्तलिखित ग्रन्थकै आदान प्रदानका भरमा प्रचार प्रसार भयो र लोकप्रियता पनि त्यस कृतिका हस्तलिखित प्रतिकै आधारमा मापन गर्ने स्थिति रह्यो तर जब माध्यमिक काल अर्थात् विसं १९४० पछिको समय आयो, त्यसपछि भने कृतिको प्रकाशन, तिनको वितरण र तिनको प्रयोजन पनि स्पष्ट हुँदै आयो । शिक्षा, सदाचार, ज्ञानगुण, धर्मकर्म, सदाचार, सूचना सञ्चार, मनोरञ्जन, पाठ्यक्रम, परीक्षालेखन, पाठ्यक्रम निर्माणमा साहित्यले स्थान लिँदै आयो । यस्ता अनेक सन्दर्भहरूलाई ध्यानमा राखेर साहित्य, विज्ञान, समाजशास्त्र तथा विविध वाङ्मयका कृति प्रकाशनको परम्परा आरम्भ भयो तर त्यस्ता प्रयोजनका निम्ति प्रकाशनमा आएका सामग्रीको सङ्ख्या कति थियो र ती कृतिको सिर्जना अर्थात् लेखनको स्वामित्व कसको थियो भन्ने प्रश्नहरू अनुत्तरित नै रहे । यस प्रकारको अभिलेखनको आधिकारिक जिम्मेदारी पनि कसैमा देखिएन तर यहाँनिर के चाहिँ भन्नै पर्ने हुन्छ भने साहित्यको मात्र होइन जुनसुकै विधाका कृतिको सूची अभिलेखन व्यवस्थित गरिनु पर्छ ।

यस प्रकारको विषयलाई केन्द्र बनाएर राज्यको माथिल्लो तहबाट नै अध्ययन, विवेचन र निष्कर्षका साथ अभिलेखनको कार्य गर्न निकै विलम्ब भइसकेको छ । यो कार्य गर्न जति विलम्ब हुन्छ सामग्री हराउने र नष्ट हुने खतरा पनि त्यत्ति नै बढ्दै जान्छ । त्यस कारण पनि यस प्रकारको अध्ययन तथा अभिलेखन अनिवार्य विषय बनेको छ । रचनाको लोकप्रियता निर्धारणको प्रश्न पनि यहाँनिर जोडिने विषय हो । सञ्चारको व्यापक विस्तार भइनसकेको पुरानो समयमा कृतिको लोकप्रियता रचनाको पाठकको सङ्ख्याबाट र त्यस्ता कृतिको ज्ञानको प्रभाव पाठकको व्यवहारमा उत्रिएका आधारमा हुने गर्दथ्यो । आज यो मूल्य फेरिएको छ । आज प्रकाशनको, विमोचनको र प्रचारप्रसारको हल्ला सञ्चार र सञ्जालको हल्लामा पनि भर पर्न थालेको छ । विक्रीवितरणको पनि विश्वसनीयता गुम्दैछ । कृतिको स्तरको मापन, बिक्री वितरण किन होइन भने कुनै गैरसरकारी संस्था वा दाताको मनमा केही कृति कुनै शैक्षिक वा सामाजिक संस्थालाई दान गर्छु भन्ने लाग्यो र त्यस दातासँग कुनै लेखक तथा प्रकाशकको साँठगाँठ भयो भने अमूक लेखकको झम्पाट कृति हजाराैँ हजारप्रति किनेर दान गरिन्छ । यसलाई कसरी मापन मान्ने ?

ती कृतिको पाठकले भने पाना नै नपल्टाई नष्ट हुने स्थिति पनि त्यत्तिकै प्रबल रहन्छ । यस कारण कुनै कृतिको लोकप्रियता बिक्रीको सङ्ख्याले मात्र निर्धारण गर्दैन । त्यस कृतिको प्रभाव समाजका पाठक वर्गमा र तिनका जीवन शैलीमा कतिसम्म सफलताका साथ सकारात्मक प्रभाव पर्न सक्यो भन्ने विषयले मात्र कृतिको लोकप्रियताको मूल्याङ्कन गरिनु पर्छ । कृति सिर्जना गरिरहँदा लेखकलाई कुन किसिमको मनस्थितिले पे्ररित गरिरहेछ भन्ने कुरा पनि अनुसन्धानको विषय बन्नु पर्छ । यसबाट स्रष्टाको मनस्थितिमा कुन प्रकारको सामाजिक संंरचनाले प्रभाव जन्माएको हो भन्ने विषय पनि प्रकटमा आउँछ । यस विषयले समाजको कुनै खास कालखण्डको पनि प्रतिनिधित्व गरिरहेको हुन्छ, रचनाका माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष तथा विम्बात्मक आधारमा पनि कृतिले आशय प्रक्षेपण गरिहेको हुन्छ ।

यसको साक्ष्यका निम्ति समाज मनोविज्ञानका तहमा रहेका अनेक विसङ्गतिहरू विश्वेश्वरप्रसाद कोइरालाका आख्यान सिर्जनाले जीवन्त बनेर रचनात्मक आकार ग्रहण गरेका छन् । उमेरको बेमल अवस्थामा विवाह गरिने, विधवाको पुनर्विवाहलाई निषेध गरिने, जातिगत भेदभावका कारण विवाहको जीवनमा विखण्डन आउने र वर्गीय विभेदका कारणले दाम्पत्य जीवन दुर्घटित हुनेजस्ता अनेक विसङ्गत स्थिति तत्कालीन नेपाली समाजका आचरण थिए । तिनै कालखण्डहरूका समस्या कथाको विषय बनाएर सुधारको चेतना प्रक्षेपण गर्ने काममा कृतिहरू सिर्जना भएका हुन् । वैयक्तिक चिन्तनको स्वीकृति साहित्यको विम्ब बनेर प्रकटमा आउने र मनोविज्ञानका अनेक कोण बनेर रचनामा प्रकट हुने कुरा फ्रायड स्वयंले अगाडि सारेका छन् तैपनि उनी के पनि स्वीकार गर्छन् भने यथार्थ जीवनमा जुन विषयले मान्छेलाई बढी पिरोलेको हुन्छ त्यही विषय उसको अभिव्यक्तिमा आउँछ भन्ने उनको स्वीकृति पनि छ ।

समाजका मूल्यहरू आज क्षण क्षणमा परिवर्तन भइरहेका छन् । त्यस्ता मूल्यहरूले समाजका तत्तत् कालखण्डको प्रतिनिधित्व गरिहेको हुन्छ । लेखकले त्यस्ता विषयलाई सम्बोधन गर्ने शब्द, भाव र सन्दर्भहरू केही समयसम्म प्रयोग गर्छ र केही समयपछि त्यस्ता पद, तात्पर्य र सन्देश प्रक्षेपण गर्ने नयाँ पद, पदावली वरण गर्न थाल्छ । यसको तात्पर्य के हो भने आजको समयमा एक दशकसम्म समसामयिक मूल्य टिक्न पनि गाह्रो पर्न थालेको छ । त्यस कारण आजका स्रष्टाहरूमा छिटो छिटो सामयिक मूल्यान्तरणलाई बहन गर्ने नयाँ नयाँ पदावली, आशय र तात्पर्यहरू फेरिँदै आएको देख्न पाइन्छ । नेपाली साहित्यमा पनि नयाँ सूचना आत्मसात् गर्ने र यथास्थितिको जडताबाट मुक्त हुन चाहनेहरूले यस तथ्यलाई आत्मसात् गर्न थालिसकेका छन् ।

अन्तमा के चाहिँ भन्नै पर्ने हुन्छ भने नेपाली साहित्यमा केही व्यक्तिले अभिव्यक्ति स्वतन्त्रतालाई अठ्याएर राख्ने प्रयत्न गरेका कारण सिर्जना, समालोचना, चर्चा परिचर्चा सबै उनीहरूको प्रभाव पर्दै आएका कारण सिर्जना कुण्ठाको निकासमा र समालोचना प्रसंशामा थन्किँदै आएको छ । समालोचना नामूद पत्रिकाको सम्पादकको मनोभावना अनुकूल हुनु पर्ने, रचना शासकको मनपर्ने हुनुपर्ने, जति शासक, गुट र फुट भए, रचना पनि त्यति नै गुट, टुट र फुटमा सिर्जना हुनुपर्ने, पाठ्यक्रम विश्वविद्यालयको पदाधिकारी कुन गुटको छ सोहीअनुसारको समावेश गरिनुपर्ने परम्परामा भासिँदै गएका आजको साहित्यलाई सर्वथा उन्मुक्तिको खाँचो छ । यसो हुन सके यस बहसको सार्थकता सिद्ध हुनेछ ।

(स्वर्गीय सुवेदीको यो लेख उहाँका सुपुत्र कमल सुवेदीले उपलब्ध गराउनुभएको हो ।)