पीडाको जुलुस (कविता)
रोशन थापा ‘नीरव’
सम्झनाको जङ्गल उम्रेर आएपछि
पीडाको पनि अदृश्य जुलुस बन्दो रहेछ
पीडासँगै मुस्कुराउने
कति मुस्कान पनि एक्लो हुँदो रहेछ ।
अनि यसरी नै
एक दिन फुत्त
निस्किएर जानु छ
यो अदृश्य
पीडाको जुलुसबाट ।
एकान्तमा
झर्ने आँसुले पनि
दिँदैन कुनै सान्त्वना
आँसुसँगै रित्तिन
खोजे जति
आँसु पनि पोल्दो रहेछ,
यही आँसुसँगै बगेर कुनै पनि दिन
हराएर जानु छ
यो अदृश्य
पीडाको जुलुसबाट ।
शब्द त्यहीँनिर
देखाउन आउँछ अनेक
रम्य क्षणहरू बोकेर
बाँच्नुको अभीष्टलाई
तर बाँच्नु
यसरी दुख्नु हुन्छ भने
त्यही दुखाइसँगै दुखेर कुनै पनि क्षण
बिलाएर जानु छ,
यो अदृश्य
पीडाको जुलुसबाट । ।
यसैले आउँदै छ
नजिक–नजिक भएर
पीडाको जुलुस
हराउने छैन कदापि
पीडाको जुलुस
टाँसिएर बस्नेछ
पीडाको जुलुस
त्यही जुलुसभित्र फेरि
अज्ञात भएर
मिसिनु छ एक्लै–एक्लै
अपरिचित बनेर कुनै पनि बेला
एक्लिएर जानु छ
यो अदृश्य
पीडाको जुलुसबाट ।