शनिवार |

प्राणदायी वर–पीपल

 सञ्जीव कार्की

दुई महिनाअघि एक भव्य पीपलको रुख बीभत्स ढङ्गले काटिँदै गरेको दृश्य सामाजिक सञ्जालमा देखेँ । यो दृश्य यति हृदयविदारक र कारुणिक लाग्यो, जसको फलस्वरूप यो आलेख नै जन्मियो । मानवको कुरूप अनुहार उदाङ्गो देखिने यो दृश्य एक प्रतिनिधि घटना मात्र हो ।
विकासको नाममा दुई दशकदेखि हामी जे गरिरहेका छौँ, यसले भीषण बर्बादी र भोलिको कारुणिक अवस्थाको सङ्केत गरेको छ । हाम्रा प्राकृतिक सम्पदा, वैभव, संस्कृति, विज्ञान, वातावरण, धर्म र प्रकृतिको बेजोड सङ्गमलाई निर्ममतापूर्वक मासिरहेका छौँ, जसले भोलिको प्राकृतिक र मानवीय विपत्तिको छनक दिएको छ । हाम्रो मूर्खताले भावी सन्ततिको प्राकृतिक सुखलाई बज्र हानिरहेको छ । हुर्कन मुस्किल पर्ने र ठूलो बन्न सयौँ वर्ष लाग्ने बहुउपयोगी, औषधिजन्य गुण भएको, धार्मिक आस्था र विश्वास अनि प्राकृतिक महìवसँग जोडिएको वर, पीपल, समीलगायत वनस्पति नासेर हामी के गर्दै छौँ ? कस्तो विकासको खाका भित्र्याउँदै छौँ ?

हाम्रो अस्तित्व, भविष्य र पर्यावरणसँग जोडिएको वृक्ष संसारभर खोजी खोजी रोप्ने, हुर्काउने र संरक्षण गरिन्छ । भारतको कोलकातामा जगदीशचन्द्र वोस बोटानिकल गार्डेनमा ‘द ग्रेट वानयान ट्री’को संरक्षणमा १३ जना कर्मचारी खटिएका छन् । जुन विश्वको सबैभन्दा ठूलो वरको रुखले परिचित छ र गिनिज बुकमा नाम भएको बताइन्छ । यो रुख १४ हजार वर्गमिटरमा फैलिएको २४ मिटर अग्लो र तीन हजारभन्दा धेरै लहराले जमिनमा पुगेर त्यहाँबाट नयाँ हाँगा पलाएर फेरि रुखको रूपमा फैलिएको छ, जसलाई हिँड्ने रुखको उपमा पनि दिइन्छ । यो रुखको ऐतिहासिक महìव जीवित राख्न सन् १९८७ मा हुलाक टिकटसमेत प्रकाशन भएको छ ।

यसरी रुखको संरक्षण र महìवलाई ध्यान दिने छिमेकी राष्ट्र नजिक भए पनि हामी चाहिँ वर, पीपल र समीलाई अमानवीय ढङ्गले क्षति पु¥याइरहेका छौँ । वर, पीपल र समी लामो आयु हुने र विशालकाय रुख हुन्, जुन विश्वको सबै भागमा एक हजार ६०० मिटरको हावापानीसम्ममा पाइन्छ । नेपालका थुप्रै जिल्लामा २५० वर्षसम्मको वर, पीपलका रुख भएको मानिन्छ तर आज सडक विस्तार र निर्माणको नाममा जसरी यस्ता रुखको तीव्र विनाश भएको छ, त्यो देखेर मानव हृदय कसरी यति पाषाण बन्यो भन्ने विषय सोचनीय र गम्भीर छ ।

नेपाली हिन्दु परम्परमा भगवान् विष्णुको अवतार मानेर पूजा गरिने वर, पीपल र समीलाई त्रिदेवका रूपमा लिइन्छ । वर, पीपल र समीको विवाह गरिदिने सांस्कृतिक चलनका कारण पनि जहाँ वर त्यहाँ समी या पीपल हुनु अनिवार्य मानिन्छ । यो अनिवार्यतामा यी वनस्पतिको सङ्ख्या वृद्धिको कारण निहित छ । तराईमा हरेक ज्येष्ठ औँसीमा ‘बटसावित्री’को पूजा गर्ने चलन छ । पूर्वीय धर्मसंस्कृतिमा पवित्र रुखको सङ्ज्ञा पाएको वर, पीपल र समीको आज जुन तवरले विनाश भइरहेको छ, यसले पश्चातापसिवाय केही दिँदैन ।

कुनै पनि वृक्ष काट्नु पर्दा क्षमा पूजा गरेर काटिने संस्कार र परम्परामा हुर्केका हामी यतिबेला रुख काट्नुलाई बहादुरी, आधुनिकता र विकाससँग जोडेर हेर्दछौँ ? रुखले मानिसलाई धेरै प्रकारको सहयोग गर्दै आएको छ । औषधि, फर्निचर, घर निर्माण, प्राणवायु उत्पादन, इन्धन, बूढेसकालको सहारा लौरो, घामपानीबाट संरक्षण, सुन्दर प्राकृतिक दृश्य, हरियाली, जलवायु परिवर्तनमा नियन्त्रण, पर्यावरणीय स्वच्छता, प्राणीको संरक्षण आदिमा रुखले सहयोग गर्छ । समष्टिमा रुखका राजा समी, वर, पीपल हरेक हिसाबले महìवपूर्ण रुख हुन् । रुख तथा बोटबिरुवाले अक्सिजन फाल्ने गर्छ । अक्सिजन आपूर्तिमा यी तीन रुखको भूमिका धेरै रहन्छ । वैज्ञानिकका अनुसार पीपल एक मात्र त्यस्तो वृक्ष हो, जसले चौबीस घण्टा नै अक्सिजन छोड्छ । त्यसैले पीपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ भन्ने वैज्ञानिकतामा आधारित भएर पीपलको पूजालाई धार्मिक आस्थासँग नजिक राखिन्छ । यिनको संरक्षणमा हाम्रो भविष्य सुनिश्चित छ । यिनको विनाशमा हाम्रो भविष्य जोखिममा पर्छ । तसर्थ रुख जीवन हो । हाम्रा पुर्खाले धार्मिक आस्था, स्वर्गको आशा र लोभ देखेर, देखाएर जसरी वनस्पतिको महìव बुझे तथा वर, पीपल, समीलगायत रुख रोप्दा पुण्य पाइने र धर्म मिल्ने कुरा गरे– यो विज्ञानलाई चुनौती नभएर विज्ञानको समर्थन गर्ने, भावी पुस्तालाई बचाइराख्ने उपाय रहेछ । प्राकृतिक र पर्यावरणीय निरन्तरताको दीर्घकालीन सोच रहेछ ।

अहिलेको पुस्ता रुख रोप्नभन्दा विनाशमा रमाएको छ । सडक स्तरोन्नति र सडक ट्र्याक खोल्ने नाममा देशका प्रायः सार्वजनिक स्थलका चौतारी, बिसौनी मासिएका छन् । वर, पीपल काटिएका छन् । यसले हाम्रो सभ्यता, संस्कृति र प्रकृतिमा एकै पटक धावा बोलेको छ । काठमाडौँलगायत देशका प्रायः जसो सहरमा रहेका रुख काटिएका छन् । सडक विस्तारको चपेटामा परेर उजाड भएको काठमाडौँ बल्ल अलिअलि नयाँ नयाँ बिरुवा हुर्काउँदै छ । देशका सबै सहरको हालत यही छ तर गाउँमा काटिएका रुखको सट्टा अर्को वृक्ष रोप्ने संस्कार, संस्कृति र दृष्टिकोण विकसित हुन सकेको छैन । अक्सिनको महìव कति हुँदो रहेछ, त्यो कोरोना कहरमा अक्सिजन नपाएर प्राण त्याग्नु परेका र अक्सिजन ढिलो हुँदा कष्ट बेहोरेर बाँचेर घर फर्केका मान्छेलाई हेरेर मान्छेले बुझ्नुपर्ने हो । जलवायु समस्या जसरी देखिँदै गएको छ, त्यसले आगामी प्राकृतिक पर्यावरणीय असरको प्रतिविम्ब देखाउँछ । सयौँ वर्ष लागेर हुर्केर शोभा दिएका, शीतल छहारी दिएका, चर्को घामपानी–हावाहुरीबाट बचाउने, आपत्–विपत्मा संरक्षणको छाता ओढाउने, औषधिजन्य गुण भएका वनस्पति–वृक्ष संरक्षणबारे आज सोच्न र नयाँनयाँ बिरुवा हुर्काउन सकिएन भने हामीले भावी पुस्तालाई घात गरेर त्यो पुस्ताको श्राप र धिक्कार आफ्नो भागमा पार्छौं ।

अचेल बाँदरले खुब दुःख दिएको र बालीनाली सखाप पारेको सुन्न र पढ्न पाइन्छ । त्यसको अप्रत्यक्ष कारण वर, पीपल, समीको विनाश पनि हो । जताततै वर, पीपल र समी हुँदा यसको फल खाएर बाँदर अलमलिने गथ्र्याे तर त्यो अवस्था नभएकाले बाँदर सिधै बालीनालीमा पुग्छ । यसर्थ यस्ता फल दिने रुख बाटोघाटो र चौतारोमा मात्र नभएर सर्वत्र हुनु आवश्यक छ । पवित्र रुखको आडमा बसेर गलत इन्साफ गर्दैन मान्छेले भन्ने तर्क र विश्वासका कारण सार्वजनिक चौतारो र पाटीमा जहाँ वर, पीपल हुन्छ, त्यसमा बसेर झै–झगडा मिलाउने र न्याय–निसाफ दिने चलन थियो । वर, पीपल र समीजस्ता रुख काट्दा पाप लाग्ने विश्वासका कारण पनि यस्ता रुखहरू लामो आयु लिएर बाँचेका थिए । त्यो विश्वास पनि धर्मरिएका कारण आज वन विनाश तीव्र गतिमा भइरहेको छ ।

आयुर्वेदविज्ञहरू यी रुखको औषधिजन्य गुणलाई औँल्याउँछन् । मान्छेको जीवन तथा स्वास्थ्यको अभिन्न अङ्गका रूपमा विश्लेषण गर्छन् । धार्मिक रूपमा यी रुखका पातलाई बेलपत्ताको एकीकृत नाममा चिनाइन्छ । अर्को उलेख्य पक्ष के हो भने वर, पीपल, समी र बेल जुन ठाउँमा भेटिन्छ, त्यो पुण्यभूमि हो । वर, पीपल, समी र बेलको रुख भएको स्थानमा चौतारी, पोखरी, धारा निर्माण गर्ने, पाटीपौवासमेत बनाउने हाम्रो सभ्यताले यी सबै कुराको संयोजनमा सौन्दर्य पनि थपेको हुन्थ्यो । यी चारको सङ्गम अत्यन्त कम ठाउँमा मात्र पाइन्छ । यी रुखबाट प्राप्त हुने फल, बियाँ, बोक्रा, पात, चोप र जरा औषधीय गुणले भरिपूर्ण बहुउपयोगी चिज हुन् । हाम्रा यी अमूल्य रुखहरू धार्मिक, सांस्कृतिक, वैज्ञानिक, पर्यावरणीय र ऐतिहासिक धरोहर हुन् ।

जीवनसँग प्रत्यक्ष सरोकार राख्ने प्राणवायु प्रदान गर्ने वृक्ष हुर्काउनु, बढाउनु, संरक्षण गर्नु वातावरणविद्को मात्रै कर्तव्य होइन । पृथ्वी साझा घर हो । पृथ्वीको जलवायु, भूक्षय र समग्र प्राकृतिक असन्तुलन स्वास्थ्यका खराबी हुन् । मान्छेको स्वास्थ्य प्रकृति र पृथ्वीसँग अन्योन्यास्रित हुन्छ । अतः वातावरणीय विनाश निम्त्याउनु कसैको पनि हितमा छैन । पृथ्वीका आठ अर्ब मान्छेको स्वास्थ्य रुख, बिरुवा हुन् । यिनका प्रति सबैको कर्तव्य हुन्छ । रुख रोप्ने चलनलाई एउटा कर्तव्यका रूपमा विकास गरिनुपर्छ, जुन कर्तव्य आफ्नो र पृथ्वीको भविष्यका लागि हुन्छ । त्यसैले यस्ता रुखलाई रोप्ने, हुर्काउने परम्परा बसाल्नु पर्छ । केही वर्षयता रुखको महìव र यसले दिने प्रत्यक्ष–परोक्ष फाइदालाई ध्यानमा राखेर धर्म, संस्कृति, वातावरण र विज्ञानलाई एकैठाउँमा जोड्दै वर, पीपल, चौतारी र पोखरीको संरक्षणको सुरुवात विभिन्न जिल्लाबाट भएको छ । वर, पीपल ऐन २०७५ जारी भएर स्वीकृत भएको सुखद स्थिति पनि समय सचेतताको प्रमाण बनेर आएको छ । हाम्रा पूर्वजले विरासतमा छाडेका कतिपय धर्म, संस्कृति, परम्परा, विज्ञान, वातावरण, स्वास्थ्य, शिक्षा, नैतिकता र जीवन शैलीसँग घनीभूत तवरले गाँसिएका छन् । अग्रजको त्यो नासो, त्यो सांस्कृतिक र वैज्ञानिक धरोहर भावी पुस्तालाई पनि हस्तान्तरण गर्नु आजका मान्छेको पनि गहन कर्तव्य हुनजान्छ ।