प्रविधि प्रयोगमा पुगेन ध्यान
विजयरत्न तुलाधर
कोरोनाका कारण ठप्प रहेको चलचित्र जगत् बिस्तारै चलायमान हुन थालेको छ । नेपाली चलचित्र मात्र होइन, बलिउड भनिने हिन्दी चलचित्र र हलिउडको अङ्ग्रेजी चलचित्र पनि यस्तै अवस्थाबाट गुज्रियो । कोरोना अवधिमा विश्वका कतिपय नाम चलेका चलचित्र कम्पनीले चलचित्र निर्माण गर्न सकेनन् । कतिपय नाम चलेका कलाकार लिएर ठूलो लगानीमा निर्माण गरिएका चलचित्रको पनि प्रदर्शनमा तगारो उत्पन्न भयो । अहिले त्यस्ता तगारा क्रमशः हट्दै गइरहेका छन् ।
चलचित्र जगत् दुई वर्ष त नराम्ररी नै थला प¥यो । यस सन्दर्भमा नेपाली चलचित्रको कुरा गर्ने हो भने कोरोनाको पहिलो वर्षमै प्रदर्शनको सँघारमा पुुगेका चलचित्रहरू ‘नीरफूल’, ‘लक्का जवान’, ‘चपली हाइट ३’, ‘प्रेमगीत ३’ र ‘हिजोआजका कुरा– द मुभी’जस्ता बहुचर्चित चलचित्र प्रदर्शनमा आउन सकेनन् । यी चलचित्र निर्धारित मितिमा प्रदर्शनमा नआएपछि प्रचारमा गरेको लगानी बालुवामा पानीसरह साबित भइदियो ।
यसरी त्यतिबेला प्रदर्शनको सँघारमा पुगेर रोकिएका चलचित्रमध्ये यो वर्ष ‘म यस्तो गीत गाउँछु २’ र ‘चपली हाइट ३’ भने जसोतसो दर्शकका सामु पुग्न सफल भएको छ । ‘चपली हाइट ३’ प्रदर्शन सुरु भएको तेस्रो दिनदेखि नै कोरोनाको अर्को लहर ओमिक्रोनको त्रासका कारण सरकारले हलहरू बन्द गर्ने आदेश जारी गरिदिँदा यो चलचित्रले ठूलो मार खेप्नु प¥यो । हल खुलेपछि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ चलचित्र भने केही हदसम्म सफलता हासिल गर्न सफल भयो । यो चलचित्र ठूलो लगानीमा निर्माण गरिएको थियो । पल शाह र पूजा शर्माको अभिनय र निर्देशक सुदर्शन थापा रहेको यो चलचित्रले आर्जन गरेको व्यावसायिक सफलताले नेपाली चलचित्रको बजारलाई केही राहत नै पु¥याएको महसुस गरियो ।
यो चलचित्रको चर्चा चुलिनु र दर्शकको ध्यान आकर्षण गर्न सक्नुको एउटा झिनो कारण भनेको यस चलचित्रका नायक शाहलाई बलात्कारको अभियोग लाग्नु पनि रह्यो । शाह काण्ड यो वर्षको सबैभन्दा चर्चित बन्यो । यसले अभिनेता शाहको उदाउँदो अभिनय यात्रामा पनि अवरोध उत्पन्न गरेको छ । भुवन केसी र शिव श्रेष्ठको पुस्तापछि राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट, आर्यन सिग्देलको पुस्तापछि अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई लोकप्रिय अभिनेताको दर्जामा छन् ।
२०७८ सालमा प्रदर्शन भएका चलचित्रमा निर्देशक मनोज पण्डितको ‘एक’, लेखक/निर्देशक शिवम अधिकारीको ‘कोपिला’, निर्देशक शोभित बस्नेतको ‘डाँडाको वरपीपल’, कलाकार/निर्देशक जयकिशन बस्नेतको ‘धूम ४’, निर्देशक उदय सुब्बाको ‘आकाशे खेती’, निर्देशक सूर्य बोहोराको ‘हेलो जिन्दगी’, निर्देशक मुकुन्द भट्टको ‘लप्पन छप्पन २’ लगायत ‘चुरीफुरी’, ‘ओभरडोज’, ‘धन्दागिरी’, ‘साजन’, ‘तिम्रो हुने कहिले’, ‘सकिनँ भुल्न तिमीलाई’, ‘कठपुतली’जस्ता चलचित्र पनि प्रदर्शनमा आए । यसरी प्रदर्शित चलचित्रमध्ये ‘कठपुतली’ र ‘चपली हाइट ३’ केही हदसम्म चर्चा बटुल्न सफल भए तर आय आर्जनमा भने असफल भए । विदेशी प्राविधिकको संलग्नतामा निर्माण गरिएको ‘कठपुतली’ले प्राविधिक रूपमा उच्चस्तरीय चलचित्र भनेर चर्चा त पायो तर निर्मातालाई कुनै लाभ हुन सकेन । यसैगरी ठूलो लगानीमा निर्माण गरिएको र विदेशमा सुटिङ गरिएको ‘लप्पन छप्पन २’ र ‘हेलो जिन्दगी’ चलचित्र पनि व्यावसायिक रूपमा सफलता हासिल गर्न नसकेका चलचित्र ठहरिए ।
कोरोनाका कारण प्रदर्शनमा तगारो लागेका चलचित्रहरू अहिले धमाधम प्रदर्शनको तयारीमा छन् । एक अभिनेत्रीका रूपमा ख्याति कमाउनुभएकी झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर ४’ वैशाख १ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ । विसं २०७८ मा ‘म यस्तो गीत गाउँछु २’ चलचित्रले सफलताको तरङ्ग ल्याएको थियो । ‘ए मेरो हजुर ४’लाई एउटा सम्भावना बोकेको चलचित्रका रूपमा लिइएको छ । यसभन्दा अघि निर्देशक झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ व्यावसायिक रूपमा सफल चलचित्र हुन् ।
निर्देशक शिवहरि पौड्यालको ‘लक्का जवान’ आगामी वैशाख २३ गते प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । प्रदर्शनको तयारीमा रहेको ‘प्रेमगीत ३’ पनि आगामी वर्ष दर्शकमाझ आउने तयारी भइरहेको छ । यस चलचित्रमा प्रदीप खड्काको प्रमुख भूमिका रहेको छ । निर्माता÷निर्देशक सन्तोष सेनका अनुसार यसको स्वराङ्कन हिन्दी भाषामा समेत गरिएको छ । यो चलचित्र नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
यसरी हेर्दा २०७९ साल नेपाली चलचित्र क्षेत्रका लागि एउटा चुनौतीपूर्ण वर्षका रूपमा आउने सम्भावना छ । २०७९ सालमा नेपाली चलचित्र अत्यधिक सङ्ख्यामा प्रदर्शनमा आउने निश्चित छ । कोरोनाका कारण प्रदर्शन हुन नसकेका हलिउड र बलिउडका चलचित्र पनि २०७९ सालमा प्रदर्शनमा आउँछन् । त्यसैले नेपाली चलचित्रबीच मात्र नभई विदेशी चलचित्रसित पनि नेपाली चलचित्रले प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
एकातिर एक सय करोड रुपियाँ माथि लगानी गरिएका र प्राविधिक रूपमा गुणस्तरीय चलचित्र छन् भने अर्कातिर सीमित लगानीमा निर्माण गरिएका नेपाली चलचित्र छन् । यस्तो स्थितिमा नेपाली चलचित्रले दर्शकको मन जित्न कठिन हुनेछ । अहिले चलचित्रवृत्तमा यसबारे चिन्ता र चिन्तन हुन थालेको छ । यो सङ्क्रमणकालीन समय भएकाले विदेशी चलचित्रको प्रदर्शनलाई नियन्त्रित गरी नेपाली चलचित्रको प्रदर्शनलाई प्रश्रय दिन सके मात्रै नेपाली चलचित्र क्षेत्रलाई राहत मिल्न सक्छ भनिन्छ तर दुई वर्ष चलचित्र प्रदर्शनविहीन भएर थला परेका सिनेमा हल व्यवसायीहरू भने विदेशी चलचित्रको प्रदर्शनबिना दर्शकलाई हलसम्म ल्याउन नसकिने हुँदा विदेशी चलचित्रको प्रदर्शनमा अवरोध उत्पन्न गर्नु हुँदैन भन्ने तर्क पेस गरिरहेका छन् । हल व्यवसायीका अनुसार कोरोनापछि सञ्चालनमा आएका हलमा नेपाली चलचित्र चलाउँदा दर्शक न्यून रहेको र ‘सूर्यवंशी’ हिन्दी चलचित्र प्रदर्शन हुँदा दर्शकको चाप बढेको घटनालाई एउटा बलियो उदाहरणका रूपमा लिनुपर्छ । अहिले प्रदर्शन भइरहेको ‘आरआरआर’ हिन्दी चलचित्रप्रति नेपालका दर्शकको आकर्षणले पनि यही कुरा पुष्टि गर्छ भन्ने उनीहरूको ठहर छ । हिन्दी चलचित्रमा मात्र हैन, ‘स्पाइडरम्यान नो वे होम’, ‘द ब्याटम्यान’, ‘दुने’जस्ता हलिउड चलचित्र पनि नेपालका युवा दर्शकको आकर्षणको केन्द्रमा रहे । त्यसैले विदेशी चलचित्रको प्रदर्शनलाई व्यवस्थित गरी नेपाली चलचित्र प्रदर्शन गर्दै अगाडि बढ्नु श्रेयष्कर हुने राय हल व्यवसायीको छ ।
हलिउड, बलिउडका चलचित्र अहिले ओटीटी (ओभर द टप) भनिने इन्टरनेट सञ्जालमार्फत पनि विश्वभर एकसाथ दर्शकको घरघरमा वा हातहातमा पुग्न सफल भइरहेका छन् । यो मामिलामा नेपाली चलचित्र अगाडि बढ्न सकेको छैन । टीभी, युट्युब वा ओभर द टपको उपयोग वा प्रयोग नेपाली चलचित्रका लागि आवश्यक भइसकेको छ । यस्तो माध्यममा नेपाली चलचित्र खासै उपलब्ध छैनन् भने भएका चलचित्र पनि दर्शकको रोजाइमा पर्न सकेका छैनन् । प्रविधिको विकास सँगसँगै मानिसका लागि मनोरञ्जनका विकल्प धेरै छन् । यसले नेपाली चलचित्रका लागि एउटा चुनौती थपिरहेको छ ।
विदेशी चलचित्र भने आधुनिक प्रविधिको प्रयोग गरी दर्शकसम्म पुगिरहेका छन् । यस अवस्थामा नेपाली चलचित्रको संरक्षण र सम्बद्र्धन गर्न विदेशी चलचित्रलाई निर्बाध प्रदर्शन गर्नबाट रोक लगाई कोटा प्रणाली लागू गर्नुपर्छ । हेरौँ २०७९ सालमा नेपाली चलचित्र विदेशी चलचित्रसँगको प्रतिस्पर्धामा कुन स्थानमा पुग्छ ?