बिज्ञान |

भारतीय प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्विटर खातामा साइबर आक्रमण

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १८ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्विटर खाता ‘हयाक’ गरिएको छ । ट्विटरले प्रधानमन्त्री मोदीको खाताबाट प्रधानमन्त्री राहत कोषमा ‘क्रिप्टोकरेन्सी’ दान गर्न लगातार अपीले आएको जनाएको छ ।
ट्विटरले मोदीको व्यक्तिगत खाताबाट भएको गतिविधि सम्बन्धमा जानकार रहेको र सुरक्षाका लागि आवश्यक उपाय अपनाइरहेको उल्लेख गरेको छ । गत जुलाइ महिनामा अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जोइ बिडेन र टेस्लाका संस्थापक एलन मस्कसहितका व्यक्तिको खाता ह्याकपछि यो पहिलो उच्च ओहोदाका व्यक्तिको खाता ह्याकरको निशानामा परेको हो ।
प्रधानमन्त्री मोदीका व्यक्तिगत वेबसाइटसँग सम्बन्धित आधिकारिक ट्विटर खातामा करिब २५ लाखले पछ्याएका छन् । तर उहाँको व्यक्तिगत ट्विटर खातामा यसको कुनै असर नदेखिएको ट्विटरले जनाएको छ । व्यक्तिगत ट्विटरमा मोदीलाई करिब छ करोड दश लाख प्रयोगकर्ताले पछ्याएका छन् ।
ट्विटरले बीबीसीसँगको लिखित कुराकानीमा उक्त अवस्थाबारे सक्रिय रुपमा छानबिन गरिरहेको उल्लेख गरेको छ । हाल पृष्ठबाट हटाइएको उक्त अनुरोधमा प्रधानमन्त्री राहत कोषमा ‘क्रिप्टोकरेन्सी’दान गर्न आग्रह गरिएको थियो ।
जुलाई महिनामा ट्विटरले १३० सेलेब्रेटीका ट्विटर खाता साइबर आक्रमणमा परेको जनाएको छ । तर त्यसमध्ये केहीमा मात्रै ह्याकरले नियन्त्रण पाएको थियो । जसमध्ये अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा, एलन मस्क, कान्ये वेष्ट र बिल गेट्स जस्ता व्यक्तिको ट्विटर खाताबाट बिटक्वाइनमा लगानीका लागि आग्रह गरिएको थियो । अमेरिकी गुप्तचर निकाय ‘एफबीआई’लाई उक्त आक्रमणको अनुसन्धान गर्ने जिम्मा दिएको छ ।