भद्रकालीकाे पेट्राेल पम्पमा ड्युटीमा बसेका सैनिक जवानद्वारा आत्महत्या
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १४ गते । नेपाली सेनाको जङ्गी अड्डामा कार्यरत एक जवानले आफैँले बोकेको एसएलआर राइफलबाट गाेल् हानी आत्महत्या गरेका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले तनहुँ रानीपोखरी निबासी २७ वर्षीय सिपाहीले ड्युटीकै समयमा बिहान करिब ३ं बजे आत्महत्या गरेको जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले राति ड्युटी बदली हुने समयमा एक्लो रहेको अवस्थामा घटना भएको जानकारी दिनुभएको छ । सिपाहीकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटना भएलगत्तै निजका आफन्तलाई जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।
घटनाको नेपाल प्रहरी र सैन्य प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गर्नेछ । प्रवक्ता पौडेलले भन्नुभयो, “घटनास्थलबाट उहाँले बोकेको हतियारसहित मोबाइललगायत अन्य उपकरण बरामद भएको छ, अनुसन्धान हुँदैछ ।” घटनास्थलबाट आत्महत्यासम्बन्धी नोट फेला नपरेकोले तत्कालै आत्महत्याको कारण नखुलेको नेपाली सेनाले जनाएको छ ।
उहाँ करिब सात वर्षदेखि नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । प्रवक्ता पौडेलले भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी बसेको बेला घटना भएको जानकारी दिनुभयो । भद्रकालीमा नेपाली सेनाको दुई वटा पोष्ट रहेको छ ।