कोरानाका कारण चेपाङहरुले घरमानै मनाए न्वागी
मुरारी अधिकारी
धादिङ, भदौ २३ गते । चेपाङहरु एकै ठाउँमा भेला भएर अति हर्ष उल्लासमय वातावरणमा मनाइने न्वागी पर्व यस वर्ष घरघरमा मनाइयो । कोरोना संक्रमणको सम्भावनलाई ख्याल गर्दै धादिङका चेपाङहरुले भीडभाड र तडकभडक नगरी घरघरमा नै बसेर आफ्नो परम्परालाई मानेका छन् ।
चेपाङ जातीको मुख्य पर्व छोनाम पर्व अथार्त न्वागी पर्व हो । अघिल्लो वर्षहरुमा चेपाङ सङ्घको आयोजनामा देशभरका चेपाङ जाति तोकिएको स्थानमा भेला भएर सामुहिक न्वागी मनाउने परम्परा बसालिएको थियो । कोरोनाको संक्रमणको अवस्थालाई विचार गर्दै यस वर्ष आ–आफ्नै घरम छोनाम मनाएका हुन् ।
हरेक बर्ष भाद्र २२ को दिनलाई छोनाम पर्बको रुपमा चेपाङ समुदायले मनाउने गर्दछन् । छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् ।
नयाँ बालिहरु गाभा, निबुवा र घैया धान सोमबार बेलुकी रातभर फलाकेर मंगलबार बिहान पितृलाइ बुझाएपछि नयाँ बाली खाने चलन छ । रातभर जागा बसी झाक्रीले नयाँ बालिको लागि फलाक्ने चलन छ । त्यस्तै विहान पूजापाठ गर्ने र नयाँ उत्पादन पितृलाई चढाउने गरिन्छ । चेपाङ संघका केन्द्रीय सदस्य जितेन्द्र चेपाङ भन्नुहुन्छ, ‘यतिबेला बारीमा फलेको घिरौँला, चिचिन्डा, केरा, अदुवा, घैया भदौमा पाक्ने तर, सुख्खा ठाउँमा लगाउने धान आदि पितृलाई चढाउनुपर्छ, पितृलाई चढाएपछिमात्रै घरका मान्छेले खान पाइन्छ । रातभर तन्त्रमन्त्र जपेर पितृको पूजा गरिसकेपछि बिहान उज्यालो हुने बेलामा मात्रै पूजा सकिन्छ ।’ चेपाङका अनुसार चेपाङ गाउँमा बर्षा लागेपछि फलेका खानेकुरा भदौमा न्वागी मनाएपछिमात्रै खाने चलन छ ।
कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष अति सिमान्तकृत चेपाङ समुदायले मनाउने राष्ट्रिय पर्व न्वागी (छोनाम) पनि प्रभावित बनेको चेपाङको भनाइ छ । नेपाल चेपाङ संघ केन्द्रीय समितिले नै यसपटक औपचारिक रुपमा कार्यक्रम नगर्ने तर घरमै बसेर भने पर्व मनाउन भनेको छ । चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल क्षेत्रमा पालैपालो न्वागी मनाउँदै आएको थियो ।राष्ट्रिय जनगणना २०६८ अनुसार धादिङमा चेपाङ जातिको जनसंख्या १४ हजार ४ सय ९२ रहेका छन् ।