समाज |

कोरोनाभन्दा सामाजिक विभेदलाई जित्न कठिन

अमरराज नहर्की

तनहुँ, भदौ २५ गते । कोरानाबाट सङ्क्रमित भई दमौलीस्थित क्रिरियापुत्री भवनमा निर्माण गरिएको अस्थायी आइसोलेसन कक्षमा बसेकाले समाजमा कोरानाबाट सङ्क्रमित हुने व्यक्ति र परिवारलाई हेलाको दृष्टिकोण हेर्ने गरिएको गुनासो गरेका छन् ।

‘कोरोनाबाट सङक्रमित परिवारजनलाई सामाजिक बहिष्कार गरी छिछि र दुरदुर गर्ने गरेकाले कोरोना जित्नभन्दा सामाजिक विभेदलाई जित्न कठिन भएको छ ।’ एक कोरोना सङक्रमितले गुनासो गर्दै गोरखापत्रसँग भन्नुभयो । सामाजिक तिरस्कारमा परिने डरले गर्दा कोरानाको लक्ष्यण देखिएपनि अन्य व्यक्तिहरू पनि जाँच गर्न नमान्ने अवस्था आएको उहाँहरूको भनाइ छ ।

नेपाल प्रहरीमा कार्यरत एक व्यक्तिले आफूलाई १० दिनसम्म ज्वरो आउँदा पनि चिकित्सक उपचार गर्न नआएको गुनासो गर्नुभयो । 'ज्वरोले सिकिस्त हुँदा पनि हेरविचार भएन सिटामोल फालेर गए', गुनासो गर्दै उहाँले भन्नुभयो, 'अग्रपंक्तिमा रहेर सेवा गरेको छु भन्ने तर वास्ता नगर्ने अवस्था भएको छ ।'

क्रिरियापुत्री भवनमा १५ जना आइसोलेसनमा बसी उपचार भइरहेको छ । तीमध्ये सात जना नेपाल प्रहरीका रहेका छन् । आइसोलेसनमा बसेकाको अवस्थाको बारेमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बुधबार जानकारी लिनुभएको छ । सो अवसरमा नगर प्रमुख न्यौपानेले सङक्रमितको उपचारको लागि कमि नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिरामीको सहजता र समाजमा कोरोना फैलिन नदिन आइसोलेसनमा राखिएको उल्लेख गर्दै थप उपचार आवश्यक परे काडमाडौँ पोखरालगायत ठुला सहरमा लगिने बताउनुभयो ।