समाज |

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

राजेन्द्र ठगुन्ना

अमरगढी,असोज १ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा बिहिबार बुढी पोल्ने पर्व मनाइँदैछ । राक्षस पुतनालाई भगवान श्रीकृष्णले मोरको सम्झनामा हरेक वर्ष असोज १ गतेका दिन बुढी पोल्ने पर्व मनाइन्छ । भाद्र संक्रान्तीका दिन ठड्याईएको लिंगोलाई रुखका हाँगाहरु काटेर चारैतिरबाट छोपिने गर्दछ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवन श्रीकृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लगाएको र भगवान श्री कृष्णले सो कुरा थाहा पाएर उल्टै राक्षस पुतनाको रगत चुसी मारेको उत्सवमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको राधाकृष्ण मन्दिर बागबजार क्षेत्र विकास समितिका अध्यक्ष पंडित देवराज भट्टले बताउनुभयो ।

आजका दिन गाईवस्तुको गोबर थुपारेर राख्ने ठाउमा काँस,अम्रिसोलगायत पाँच जातका घाँस राख्ने चलन छ । बुढी पोल्न जादाँ प्रत्येक बृक्षमा राम्रो फल लागोस भनि बाबियो,कांस लगायतका बृक्षहरुको डोरी बनाएर लगाइएका बोटविरुवा तथा घरको छतमाथी राख्ने गर्दछन् । साँझपख बुढी पोल्न जादाँ सल्लाको दियालो बनाएर स्थानीय डेउडा गित गाउदै जाने र बुढी पोलिसकेपछि आ-आफ्नो घरबाट लगेको मिठामिठा परिकार लगायत फलफूल एक आपसमा बाडेर खाने चलन  छ ।

कोरोनाका कारण यस वर्ष विभिन्न कार्यक्रम नगरी परम्परा जोगाउने हिसाबले मात्रै बुढी पोल्ने कार्यक्रम रहेको अमरगढी नगरपालिका वडा नं. १० वडा अध्यक्ष विष्णुराज भट्टले बताउनुभयो ।