कुष्ठरोगले थलिएका शङ्करलाई भाेकको चिन्ता, अपाङ्गता भत्ता नै निर्वाहको भर
मनोज तिमलसिना
रौतहट, असोज १२ गते । चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित रैयाटोल टोलका ४० वर्षीय शङ्कर परियारलाई एकपछि अर्को दुःखले पछ्याइरहेको छ । उहाँ कुष्ठरोगले थला परेको वर्षाैँ बित्यो । जायजेथाको नाउँमा ऐलानी जमिनमा बनेको एउटा बाँसको टाटीको घरमात्र छ ।
उपचार गर्दागर्दै श्रीमतीले विदेशमा कमाएको दश लाख रुपियाँ सकियो । आर्थिक अभावमा औषधि खान छाेडेको पनि दुई वर्ष भयो । रोगले हात र खुट्टाका औँला झर्दै गएका छन् । चार छोरीका पिता उहाँलाई यतिबेला राेगमाथि अभावकाे ऐँजेरु थपिएकाे छ ।
पतिलाई कुष्ठरोगले गालेर थला परेपछि उहाँकी श्रीमती कमला परियार आजभन्दा आठ वर्षअघि विदेश जानुपर्यो । विदेशमा कमाएको पैसा सन्तानका पढाइ र उपचार खर्चमै सकियो । पाँच वर्ष विदेश बिताएर गत फागुनमा नेपाल आउनुभएकी कमला अहिले घरमै हुनुहुन्छ ।
शङ्करले लालगढस्थित लेप्रोसी अस्पताल, वीरगञ्ज, काठमाडौँ सबैतिर उपचारको प्रयास गरेपनि औषधिले कामै नगरेको शङ्कर बताउनुहुन्छ । चिसो मौसममा दुखाइ झन् बढी हुने गरेको उहाँले बताउनुभयो । श्रीमती विदेशमा हुँदा उहाँको स्याहार तीनजना नाबालक छोरीले गरेको उहाँको कथन छ । उहाँका चार छोरीमध्ये जेठी छोरी सुस्मिताको बिहे भई पराई घर रहेको र माईली छोरी बिनिता, साँहिली सरस्वती र कान्छी रोजिना सबै विद्यालत तहमा अध्ययनरत हुनुहुन्छ ।
उहाँको आम्दानीको स्रोत भनेको सरकारले दिने अपाङ्गता भत्ताबापतको रकम मात्र हो । उहाँ सामान्य रुपमा हिँड्डुल गर्नुहुन्छ । सौच गर्न र तलमाथि गर्न समस्या नहुने तर गाउँघर डुल्न भने नसकिने उहाँले जनाउनुभयो । पहिले शङ्कर घर बनाउने मिस्त्री काम गर्नुहुन्थ्यो । कमाइ पनि राम्रै थियो । घरमा आर्थिक समस्या कमै पर्थ्याे तर अहिले पनि परियार परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको छ ।
‘विदेशमा कमाएको पैसा उपचार र छोरीहरूको लालनपालनमा सकियो । अलिअलि बचेको पैसा पनि लकडाउनमा बसेर गर्जाे टार्दा रित्तियो । अहिले बिहान–बेलुका पकाएर खाने अन्नसमेत घरमा छैन,’ उहाँकी श्रीमती कमलाले भन्नुभयो, ‘छिमेकीले दयाले दिने दुई–चार मानाले कतिदिन थेग्छ र !’
साना छोरीको लालनपालनको चिन्ताले सताएको छ, परियार दम्पतीलाई । ‘सम्पत्ति भनेको ढल्नै लागेको एउटा झुपडी र खोरमा बाँधिएका दुईवटा बाख्रा छन्,’ उहाँले भन्नुभयो, ‘यहीँ ज्याला मजदुरी गर्न कमै अवसर भएकाले विदेशिनुबाहेक अरु उपाय छैन ।’
दुई–चार रुपियाँ कतैबाट कमाइ गर्ने बाटो नभएको उहाँको कथन छ । खेतीपाती नभएको सुकुम्बासी यो परिवारलाई आउँदा दिनमा कसरी गर्जाे टार्ने समस्याले पिरोलेको छ । वर्षादमा पानी चुहिएर कयौँ रात जाग्राम बस्नु परेको अनुभव सुनाउनुहुन्छ, उहाँ । श्रीमान झन्झन् थलिँदै जाँदा छोरीहरूलाई समयमै दुई छाक खुवाउन धौधौ परेको कमलाको दुखेसो छ ।
शङ्करमाथि भविष्यमा थप पीडा थपिने चिन्ता देखिएको छ । हालसम्म कतैबाट सहयोग नपाएको उहाँले बताउनुभयो । हुर्किँदै गएका छाेरीहरूकाे बिहेबारीलगायत आउन सक्ने आर्थिक भार कसरी थेग्ने होला भन्ने चिन्ता उहाँले सुनाउनुभयाे । परियार परिवारको अवस्थाबारे वडाध्यक्ष, नगरप्रमुख, उपप्रमुखलाई समेत जानकारी गराएर सहयोगका लागि अनुरोध गर्ने स्थानीय समाजसेवी सञ्जीव माझीले बताउनुभयो ।