जातीय भेदभाव तथा छुवाछूतका घटनाले सञ्चारमाध्यममा प्राथमिकता पाउँदै
गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १२ गते । जातीय भेदभाव तथा छुवावाछूतका घटनामा मिडियाले प्राथमिकता दिन थालेको एक अध्ययनले देखाएको छ । तर सम्पादकीय नीतिकाे अभावमा जातीय भेदभाव तथा छुवाछूतको सवालमा मिडियाले घटनाप्रधान विषयहरू उठाएपनि नीतिगत दृष्टिकोण बनाउन नसकेको देखिएको छ ।
गत जेठ १० गते रुकुम पश्चिम सोतीमा नवराज विकसहित छ जना यूवा मारिएको घटनाबारे गरिएको मिडिया अध्ययनमा सो तथ्य उल्लेख गरिएको छ । मिडियाले रुकुम घटनालाई प्राथकिताका साथ प्रकाशन गरेको ‘जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको दृष्टिकाेण’ मा उल्लेख छ ।
पत्रकार लक्ष्मण दर्नालले लेख्नुभएको सो पुस्तक सोमबार विमोचन भएको छ । पुस्तकको विमोचन गर्दै प्रदेश दुईका प्रदेश प्रमुख तिलक परियारले सामाजिक समावेशीकरण सिद्धान्त मिडियामा आझेल परेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो “जातीय भेदभाव तथा छुवाछूतको बारेमा मिडियाको नीति के हुने भन्ने सवालमा पुस्तकले प्रश्न उठाएको छ, मिडियाले समाजलाई सुसूचित गर्ने कुरामा दुईमत छैन तर मिडियाको सम्पादकीय स्तरमा दलित समुदायको सहभागिता नहुँदा मुद्दाहरूले प्राथमिकता पाएका छैनन् ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद मीन विश्वकर्माले भन्नुभयो “रुकुम घटनमा सबै लागियो मिडिया पनि लाग्यो तर राज्यलाई छुवाछूतका घटनाले अझै छोएको छैन, मिडियाले के गरे भन्ने कुरा अनुसन्धान गरी पुस्तकको रुपमा आएको छ मिडियाले पनि आफ्नो ऐन यसबाट हुनसक्छ ।” नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ठले रुकुम घटनाका बारेमा मिडियामा आएका सामग्रीलाई दस्तावेजीकरण गर्ने काम भएको चर्चा गर्नुभयो ।
पुस्तकका अनुसार रुकुम पश्चिम सोती घटनामा कभरेजका हिसाबले मिडियाको भूमिकालाई गुनासो गर्ने ठाउँ निकै कम छ । यस अध्ययनको सीमाभित्र परेका काठमाडौँबाट प्रकाशित नेपाली भाषाका ८ वटा दैनिकहरूको घटना बारेमा एक महिनाको समाचार सङ्ख्या १४३ छन् । जसमा ७२.७२ प्रतिशत समाचारले घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको औल्याएका छन् । त्यस्तै ४७.५५ प्रतिशत समाचारले हत्या भनेका छन्, ५२.४४ प्रतिशत समाचारले नदीमा ज्यान जोगाउन हामफालेको/मृत्यु/घटना भनी उल्लेख गरेका छन् । घटनास्थल रुकुम पश्चिम डेटलाईनका समाचार निक्कै कम (१८ प्रतिशत) समाचार प्रकाशित छन् । जाजरकोट डेटलाइन ३२ प्रतिशत र काठमाडौँबाट लेखिएका ५० प्रतिशत समाचार प्रकाशन भएका छन् । अखबारको पहिलो पृष्ठमा ३४ प्रतिशत समाचार प्रकाशन भएका छन् ।
प्रकाशित लेखरचनाहरूमध्ये ९१ प्रतिशतले जातीय भेदभावका कारण घटना भएको उल्लेख गरेका छन् । त्यस्तै ७७ प्रतिशतले हत्या भनेका छन्, २२ प्रतिशतले हत्या भनेका छैनन् । लेखका लेखकहरूमध्ये ३६ प्रतिशत दलित समुदायका छन् भने ६३ प्रतिशत गैरदलित लेखकले रुकुम घटनामा बारेमा कलम चलाएका छन् । आठ वटा पत्रिकाका १० वटा सम्पादकीयले घटना जातीय भेदभावका कारण भएको लेखेका छन् । जसमा ५० प्रतिशत सम्पादकीयले हत्या भनेका छन् भने ५० प्रतिशत सम्पादकीयले सोतीका स्थानीयले लखेट्दा ज्यान जोगाउन नदीमा हामफालेको, मृत्यु वा घटनाका रुपमा बोलेका छन् ।
पुस्तकको प्रकाशन दलित महिला केन्द्र नेपालले गरेको हो ।