समाज |

बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु, दुई जना घाइते

मनोज तिमलसिना
रौतहट, असोज १४ गते । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित चिम्नी टोलनिवासी २७ वर्षीय सङ्गम भण्डारीको मृत्यु भएको हो । घाइते हुनेमा ३० वर्षीय अशोक भनिने नेत्रबहादुर थापा र ३४ वर्षीय प्रवीण भनिने नवीन श्रेष्ठ  छन् ।
गत मङ्गलबार बिहान छ बजे घरबाट नजिकैको जङ्गलमा घाँस काट्न जाने क्रममा बेपत्ता भएका सङ्गम रात पर्दासमेत नफर्किएपछि बुधबार बिहान खोजीमा गएको प्रहरीले जङ्गलमा शव फेला पारेको ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । मङ्गलबार बिहानदेखि बेपत्ता सङ्गमको खोजीमा राति १४ जना युवा जाने क्रममा लमहा खोला जङ्गल क्षेत्रमा बाघले थापा र श्रेष्ठलाई आक्रमण गरेको घाइते अशोक थापाले बताउनुभयो । बाघको आक्रमणमा परी थापाको हातपाखुरा र श्रेष्ठको छातीमा चोट लागेको छ ।
अर्का घाइते श्रेष्ठका अनुसार, सङ्गमसहित स्थानीय हरि खड्का, सुदीप थापा, गुन्जबहादुर राना जङ्गल गएकोमा सङ्गम बेपत्ता हुनुभएको हो । बाघले आक्रमण गरेपछि भाग्ने क्रममा खाल्डाेमा हाम फाल्दा आफ्नो ज्यान सुरक्षित भएको हो । घाइतेहरूलाई राति चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो ।
मृतक सङ्गमलाई भने प्रहरीले बुधबार बिहान खोजी गर्ने क्रममा कम्मर तलको भाग नै नभएको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको छ ।