विकृत मानसिकता, समाज खुला हुनु, सचेतले उजुरी गर्न थाले
केशवराज पौडेल
काठमाडौं, असोज १६ गते । ‘बलात्कार मानिस मानसिक रुपमा विक्षिप्त भएपछि हुने अपराध हो’ त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रको एमफिल शोधार्थी तथा स्वतन्त्र विकास परामर्शदाता विदुर तिमल्सिना बताउनुहुन्छ ।
कडा कानुन र शिक्षित समाज भएकै कारण बलात्कारका घटना घट्ने र बढ्ने कुरा नहुने तिमल्सिना बताउनुहुन्छ । विश्वका विकसित देशहरु अमेरिका, अष्ट्रेलिया, बेलायतमा बलात्कारको बिरुद्धमा कडा कानुन भए पनि त्यहाँ बलात्कारका घटनाहरु नेपालमा भन्दा भयावह रहेको तिमल्सिनाले बताउनुभयो ।
कानुन कारबाही गर्ने हिसाबले नेपालको कानुन समेत उत्कृष्ट रहेको र त्यसले बलात्कारको घटनालाई कम गराउन सहयोगी हुने उहाँले बताउनुभयो । कानुन कडा र नरमभन्दा पनि मानिसको सोचाई, सामाजिक संञ्जालको प्रभावका कारणले बलात्कारको घटनामा बृद्धि हुने तिमल्सिनाको बुझाई छ । बलात्कारका घटनाहरुलाई कसरी घटाउन सकिन्छ भनेर अभियान संचालन गर्न सकिने तर अहिलेसम्म बलात्कारको घटना यो कारणले कमी आउँछ भनेर कही पनि पत्ता नलागेको उहाँले स्पष्ट पार्नुभयो ।
‘ठ्याक्कै यो कारणले बलात्कारको घटनामा कमी आउँछ वा रोकिन्छ भनेर जान्ने हो भने राज्यले विज्ञहरुसँग छलफल गर्ने थियो’ तिमल्सिनाले बताउनुभयो । बलात्कारको समस्या अहिलेदेखिको हैन सदियांैदेखि हुँदै आएको समस्या भएकाले यसलाई ठ्याक्कै रोक्न नसकिने उहाँको भनाइ छ । तर कम गर्न भने सकिने र त्यसमा मानिसको संयमतानै प्रमुख कारण हुने उहाँले बताउनुभयो ।
यो सदियांैदेखिको मनोगत समस्या रहेकाले यसलाई कम गराउने उपायहरुको खोजि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले यसलाई कमी गर्नको लागि कडा कानुनभन्दा पनि मनोरोगका
उपचार, यौन शिक्षा कार्यक्रम संचालन गर्न सकेमा केही निराकारण हुने उहाँले बताउनुभयो । बलात्कार जस्तो अपराध विकृत मानसिकता भएका मान्छेहरुले मात्रै गर्ने भएकाले उनीहरुलाई परामर्शको आवश्यकता पर्ने उहाँले बताउनुभयो । विकृत मानशिकता भएका मान्छेहरुलाई परामर्श मार्फत सही दिशामा ल्याउन सकिन्छ उहाँले भन्नुभयो ।
‘सामान्य व्यक्तिको सोच अचानक बिकृत हुने भएकाले त्यही अवस्थामा बलात्कारका घटनाहरु हुने गरेका छन्’ तिमल्सिनाले भन्नुभयो । त्यसका लागि मानिसको मन र मस्तिष्क भड्काउने वातावरण सृजना गराउन रोक्नु पर्ने उहाँले बताउनुभयो । त्यसमा पोर्न साइड, हामीले लगाउने लुगाफाटोको समेत भुमिका रहने उहाँले बताउनुभयो ।
हामीले अहिले समाजमा बाहिर आएका घटनाहरुको मात्रै अध्ययन गरेको र हाडनाताभित्र पर्ने धेरै बलात्कारहरुका घटनाहरु बाहिर आउनै नसकेको उहाँले बताउनुभयो । त्यस्ता घटनाहरु बाहिर आएमा यसको भयावह तस्बीर बाहिर आउन सक्ने उहाँ बताउनुहुन्छ । तर खुसीको कुरा नेपालमा बलात्कारको केसहरु कमै हुने देशमा पर्ने उहाँले बताउनुभयो ।
अधिवक्ता एंव उपभोक्ता अधिकार संरक्षणकर्मी हरिशरण दाहाल बलात्कारको घटना र बलात्कारका घटनाहरु बढ्ने कारणको अध्ययन गर्ने समय आएको बताउनुहुन्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या दैनिक रुपमा बढिरहेको र त्यसको प्रत्यक्ष असरको रुपमा बलात्कारका घटनाहरुलाई बृद्धि गराउन सहयोग गरेको उहाँले बताउनुभयो ।
‘श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा गएपछि सहयोगी आवश्यक पर्ने र सहयोगीको भूमिकामा रहेको व्यक्तिसँग यौनसम्पर्कको अवस्थालाई पछि उनीहरुबाटै छुटकारा पाउन बलात्कारसम्मको आरोप लाग्ने गरेको छ’ अधिवक्ता दाहाल भन्नुहुन्छ ।
टोल समाज र परिवारका मान्छेहरुले थाहा पाएपछि यो बलात्कारसम्मको आरोपमा पुग्ने गरेको छ । यसले बलात्कारको घटनामा बृद्धि भएको दाहाल भन्नुहुन्छ ।
बलात्कारको आरोपपछि अदालतमा आउने धेरै बलात्कार घटनामा आरोपितहरुले सफाइ पाउने गरेका उदाहरणहरुमा बृद्धि भएको उहाँले बताउनुभयो । पारिवारिक रिसइबी साँध्न बालबालिका तथा किशोरीमाथि बलात्कारको घटनामा बृद्धि हुनु भने दुखद रहेको उहाँले बताउनुभयो । त्यसमा सबै निकायले चासो दिनु आवश्यक देखिएको उहाँले बताउनुभयो ।
सामाजिक संञ्जालप्रतिको सहजतता, पोर्न साइडहरुको सहज उपलब्धताको कारणले यौनबाट कुण्ठित समुहले बलात्कार जस्तो कार्यमा संम्लग्न हुने गरेको उहाँले बताउनुभयो । धेरै बलात्कारका घटनाहरु समाजमै तथा प्रहरी कार्यालयमा समेत मिलाउने प्रयास हुने र अन्तिममा मात्रै बाहिर आउने गरेको समेत उहाँले भन्नुभयो ।
बलात्कारका घटनाहरुमा धेरै फर्जी बलात्कारका घटना बाहिर आउने तर वास्तविक बलात्कारका घटनाहरु भने ओझेलमा परेको उहाँले भन्नुभयो । धेरै समाजमा मिलाउन खोज्ने त्यसपछि प्रहरीको मिलाउने र अन्तिममा मात्रै बाहिर आउने उहाँले बताउनुभयो । तर समाजमा केही समयअघिदेखि बढ्दै गएको वास्तविक बलात्कारका घटनाहरुभने ओझेलमा पर्न थालेका छन् । यसले वास्तविक पिडितहरु झनै पिडित हुने गरेका छन् । यसका लागि सचेतना कार्यक्रम संचालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
वास्तविक बलात्कार घटनाहरु समाजमा लुकाइने घटनाहरु समेत बृद्धि भएको उहाँले बताउनुभयो । बहुबिबाहको मुद्धाका घटनाहरुमा कमी आएको तर सुरुमा सहमतीमा हुने यौनसम्पर्कमका कुराहरु अन्तिममा बलात्कारसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । यसले वास्तविक बलात्कारका घटनालाई ओझेलमा पार्छ उहाँले भन्नुभयो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायत प्रहरीसँग बलात्कारको उजुरी लग्नु पर्छ भन्ने चेतना बढेसँगै पिडितहरुले उजुरी गर्नेहरुको संख्यामा बृद्धि भएको बताउनुभयो । आम संचारका माध्यमहरुमा पँहुच बढ्ने डिजिटल प्रविधिको विकासको कारणले बलात्कारको घटनाहरु बाहिर आएको र उजुरी समेत बढेको उहाँले बताउनुभयो ।
मानिसनहरुको पँहुच राष्ट्रिय तथा अन्तरािष्ट्रय संचार माध्यममा समेत भएकाले त्यसबाट आम नागरिकहरुले धेरै कुरा बुझ्नु भएको छ त्यसले बलात्कारको उजुरीको संख्या बढेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरीले हरेक जिल्ला जिल्लामा सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत घर–घरमा पुगेर सचेतना कार्यक्रम संचालन गरेसँगै निर्धक्क भएर प्रहरीसम्म उजुरी गर्न आउनेहरुको संख्यामा बृद्धि भएको उहाँले बताउनुभयो । अहिले कोभिडको कारणले रोकिएको सचेतना कार्यक्रमले कोभिडको जोखिम कम भएसँगै निरन्तरता हुने उहाँले बताउनुभयो ।
उहाँले बलात्कार मात्रै नभएर जघन्य अपराधको अनुसुचि १ मा रहेका कुनै पनि कुरामा नेपाल प्रहरीले मिलापत्र गराउने भन्ने बिषयमनै नआउने बताउनुभयो । ‘बलात्कारजस्तो जघन्य अपराधमा नेपालको कानुननले स्पष्ट पारेको कुरामा मिलापत्र गराउने भन्ने कुरानै रहन्न’ प्ररही प्रवक्ता कठायत भन्नुहुन्छ । ‘धेरै मुद्दा घरायसी विवाद भनेर आउँछन् त्यसमा बलात्कार भन्ने कुरानै जोडिएको हुँदैन पछि अनुशन्धानमा बलात्कार भएपछि धेरैमा मुद्दा चलाएका छौं,बलात्कारजस्तो जघन्य अपराधमा प्रहरीबाट मिलापत्र हुन्छ भन्ने कुरा सोच्ननै सकिदैन’ कठायतले भन्नुभयो । पछिल्लो समय बलात्कारका घटनाहरु बाहिर ल्याउनमा मिडिया तथा अधिकारकर्मीहरुको समेत बिशेष भ्ुमिका रहेको उहाँले भन्नुभयो ।
बलात्कारका घटना नेपालमा कम
गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा बलात्कारका घटना विश्वका विकसित देशको तुलनामा निकै कम हुने गरेको बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उहाँले दुईसय भन्दा बढी देशको तुलना गर्दा नेपाल बढी घटना हुने सूचीमा निकै तल रहेको उहाँले बताउनुभएको हो । पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढिरहेका बेला संसदीय समितिमा बुधबार गृहमन्त्री थापा, प्रहरी महानिरिक्षक शैलेश थापालगायतलाई बोलाइएकोमा थापाले नेपालमा तुलनात्मक रुपमा कम बलात्कारका घटनाहरु हुने गरेको बताउनुभएको हो । उहाँले बलात्कारका घटना कम गर्न सरकार प्रयत्नशील रहेको र अपराधीलाई पक्राउ गर्न प्रयासरत रहेको बताउनुभयो ।
गृहमन्त्री थापाले भन्नुभयो ‘सवा २०० कन्ट्री(देश) हरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन,सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छ , पछाडिबाट हेर्दा हामी टप १५ मा छौ ।’