नेपालमा प्रतिबन्धित माछाको भुरा बरामद गरी नष्ट
अविनाश चौधरी
धनगढी, असोज २२ गते । भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित मङ्गुर माछाको भुरा कैलालीमा नष्ट गरिएको छ ।
भन्सार छलेर अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित माछाको भुरा धनगढी उपमहानगरपालिका–७ बेलीबाट बरामद गरी नष्ट गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरबाट खटेको सशस्त्र प्रहरीको टोलीले सो माछाको भुरा बरामद गरेको थियो ।
करिब २५ हजार भुरा हेडक्वार्टरमा ल्याएर सरोकारवालाको उपस्थितिमा नष्ट गरेको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टरले जानकारी दिएको छ ।
मङ्गुर माछा नेपालमा बिक्री वितरणका लागि प्रतिबन्धित माछा रहेको पशुपङ्क्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख मदनसिंह धामीले बताउनुभयो ।
मङ्गुर मांसहारी प्रजातिको माछा हो । यो आक्रमणकारी माछा रहेको र कुनै पोखरी, ताल वा नदीमा गएमा २१७ प्रजातिका माछालाई आक्रमण गरेर खाने गरेको प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । ‘त्यसैले नेपालमा यो माछा ओसारपसार गर्न पाइँदैन’, उहाँले भन्नुभयो । ‘गएको भदौदेखि यो माछा नेपालमा प्रतिबन्धित छ ।’
माछाका अरु प्रजातिको सिकार गरेर बाँच्ने आक्रमणकारी माछा प्रजाति रहेका कारण मङ्गुर माछाको कारोबारमा २०६१ सालमा पनि प्रतिबन्ध लगाइएको थियो ।