फौदसिंहका पाँच दशक, दौरासुरुवाल नाप्दै र खुट्दै
अमृतप्रसाद पौडेल
बेनी, असोज २३ गते । बेनी र आसपासको क्षेत्रमा झण्डै दुई सय वर्षदेखि एक शिल्पी परिवार निरन्तर लत्ताकपडा सिलाइको काम गरिरहेको छ । उमेरले ६५ वर्षका फौदसिंह नेपाली त्यही परिवारको एक नाम हो, जो पुर्खाको सिलाइकटाइको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दैहुनुहुन्छ ।
वि. सं. २०१२ सालमा जन्मिनुभएका फौदसिंहलाई २०२६ मा पहिलोपल्ट उहाँका् बाबाले पुन्यबहादुर शाक्यको घरमा बालीघरे सिलाउने जिम्मा दिनुभएको सम्झना छ । त्यसपछि लुगा सिलाउने उहाँको कर्म ६५ वर्षको उमेरमा पनि रोकिएको छैन ।
केही समयअघि ‘बुढेसकाल भइसक्यो, काम नगर्नू’ भन्ने आफ्नो छोराको आग्रह मानेर आफ्नो सिलाई दोकान छोडेर घरमै आराम गर्न पनि जानुभयो । ‘तीन वर्ष जति घरमै बसेँ । तर, मेरा ग्राहकले मलाइ छाड्नुभएन । मेरो मनले पनि आफ्नो सिपालु सुचीकार हातहरुलाई त्यसै बस्न दिएन । अनि फेरि सटर लिएर आफ्नो पेसामा फर्किएँ ।’ प्रसन्न हुँदै उहाँले सुनाउनुभयो ।
अहिले बेनीबजारको सङ्गमचोकमै उहाँको सिलाइ दोकान छ । पुर्खौली सिलाइकटाइ पेसालाई रोजीरोटीका रुपमा ५१ वर्षदेखि अंँगाल्दै आउँदा उहाँले बालीघरेसँगै व्यावसायिक रुप पनि देख्नुभयो । बेनीबजारमा वि. सं. २०३४ सालमा कोठा भाडामा लिएर सिलाइ गर्न थाल्नुभएका फौदसिंहले धेरै थरी लुगा सिलाउनुभयो । तर दौरा सुरुवाल चाहिँ धेरैले मन पराएका छन् ।
नेपालको राष्ट्रिय झण्डा, नेवारी पोसाकसमेत सिलाउन माहिर फौदसिंहकोमा सबैजसो दौरा सुरुवालको अर्डर हुने गरेको उहाँ सुनाउनुहुन्छ ।
म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल भन्नुहुन्छ, ‘दौरा सुरुवाल अरुले पनि सिलाउँछन् तर फौदले जस्तो फिनिसिङ दिने मान्छे अरु छैनन्,’ उहाँ थप्नु हुन्छ, ‘कुनै भव्य कार्यक्रमहरु हुन थाले वा नेवारी पोशाक बनाउनुपर्ने भयो भने पनि सबैले सम्झने नाउँ हो फौदसिंह ।’
नेपाल भाषा मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘बेनी र आसपासका नेवारहरुको लागि फौदकै पुर्खादेखि नै नेवारी पोसाक बनाउने गरेका थिए । झण्डै २०० वर्षभन्दा पहिलादेखि नै फौदकै परिवारले हाम्रो पोसाक सिलाए र अहिले पनि नेवारी पोसाकको राम्रो फिनिसिङ दिन सक्ने उहाँ नै हुनुहुन्छ ।’
सुरुमा बाबुबाजेले काटेको कपडा उहाँले सिलाउनुहुन्थ्यो । वि. सं. २०४३ सालमा बेनीमा राजाको सवारी हुने बेला उहाँले पहिलोपटक आफैँ काटेर सिलाउनुभएको थियो । आफ्नो पहिलो कटाइको स्मरण गर्दै उहाँ भन्नुुहुन्छ, ‘बेनी नगरपालिका–१, रत्नेचौरका ओमबहादुर बोगटीले काठमाडौँमा सिलाएको पुरानो दौरा लिएर यही अनुसारको सिलाइदिनुप¥यो भन्दै अर्डर दिनुभयो । त्यही हेरेर मैले २०४३ सालमा पहिलोपटक आफैँले काटेर दौरा सिलाएको हुँ ।’ फौदले सुनाउनुभयो ।
‘त्यतिबेलाको सिडिओ पद्मराज रेग्मीलाई त्यो दौरा मन परेछ । ओमबहादुर बोगटीमार्फत म पहिलोपटक सिडिओ साबको अगाडि गएर उभिएँ । त्यसबेला उभिँदा मलाई शरीर फुलेर बोल्नै सक्ने अवस्थामा थिइनँ । (जिल्ला प्रशासनको रेकर्डअनुसार पद्मराज रेग्मी २०३९ देखि २०४३ सालसम्म म्याग्दीको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।) तर काम गर्ने मौकाले म खुशी नै थिएँ अनि सिडिओ साबको पनि दौरा सिलाएँ ।’ उहाँले सुनाउनुहुन्छ, ‘अहिलेसम्म यति नै सिलाएँ भन्ने ठ्याक्कै त थाहा छैन तर धेरै सिलाएँ ।’
वि. सं. २०६४ सालमा फौदका कान्छा छोरा सुनिल अमेरिका जानुभयो । हालसम्म उतै रहेका सुनिल तेक्वान्दोको हेभीवेटमा खेल्ने खेलाडी हुनुहुन्थ्यो । दक्षिण एसियाली क्षेत्रीय खेलकुदको तेक्वान्दोको छनौटमा त्रिभुवन आर्मी क्लबका भीम रानाभाटसँग (८४ केजी) अंक बराबर भएपछि पुरानोका आधारमा भीमले सुनिलविरुद्ध बाजी मार्नुभएको थियो । जेठो छोरा पनि सिलाइ व्यवसायमै सक्रिय रहेकै अवस्थामा सिलाइकटाइमै खाडी मुलुक पुग्नुभएको छ । म्याग्दीको बेनीबजार क्षेत्रमा अधिकांश सिलाइ व्यवसाय गर्नेहरु फौदकै परिवारका सदस्यहरु हुनुहुन्छ । उहाँले नै सिकाएका पाँच जनाले पनि बेनीमा दौरा सुरुवाल सिलाउने गर्छन् ।
‘सिलाउन त हामी पनि सिलाउँछौँ । अहिले अरु पनि धेरै आइसके तर पनि फौदसिंंहले जस्तो फिनिसिङ म दिन सक्दिनँ ।’ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष युवराज दर्नालले भन्नुभयो । ‘संघले २०६९ मा ‘पहिरन’ स्मारिका प्रकाशन गरेको थियो । त्यो स्मारिकामा पनि फौदसिंहलाई दौरा सिलाउनका लागि कसरी काट्नुपर्छ भनेर ड्राफ्ट बनाउन लगाई प्रकाशन गरिएको थियोँ’ अध्यक्ष दर्नालले थप्नुभयो ।
वि. सं. २०३४ मा मासिक १५ रुपियाँ भाडा तिर्ने गरी कोठा लिएर पसल गरे पनि बालीघरे प्रथाका रुपमा पनि झण्डै २०६० सम्म काम गरेको फौदसिंह सुनाउनुहुन्छ । मुख्य रुपमा राष्ट्रिय झण्डा र दौरा सुरुवाललाई नै उहाँले पछिल्लो समय ध्यान दिएको बताउनुभयो ।
माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीका प्रिन्सिपल राजु के.सी भन्नुहुन्छ, ‘हामीले स्कुलमा राख्ने झण्डाहरु पनि फौदबहादुरले नै सिलाउनुभयो । दौरा, सुरुवाल र झण्डा उहाँले जस्तो अरुले बेनीमा बनाएको जस्तो मलाई लाग्दैन ।’