घोडाघोडी ताल क्षेत्रमा हरिहाँसको सङ्ख्यामा वृद्धि
अविनाश चौधरी
धनगढी, असोज २३ गते । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो १० वर्षमा हरिहाँसको सङ्ख्यामा वृद्धि भएको छ ।
सो ताल क्षेत्रमा एक दशकसम्म अध्ययन/अनुगमन गरी हरिहाँसको सङ्ख्यामा वृद्धि भएको निष्कर्ष निकालिएको हो । चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) र स्थानीय साझेदार चरा संरक्षण सञ्जाल कैलालीले सन २००९ देखि २०२० सम्म हरिहाँसको अध्ययन/अनुगमन गरेको थियो ।
घोडाघोडी ताल क्षेत्रमा एक दशकसम्म हरिहाँसको बारेमा गरिएको अध्ययन बारेको लेखसमेत प्रकाशित भएको छ ।
जैविक विविधताले अत्यन्त महत्वपूर्ण घोडाघोडी ताल क्षेत्रको लागि हरिहाँस सूचक प्रजाति मानिन्छ । यो ताल क्षेत्रमा हरिहाँसबाहेक विश्वमै दुर्लभ र लोप हुने अवस्थामा पुगेका जल र स्थल पक्षी पनि पाइने गरेका छन् । घोडाघोडी ताल क्षेत्रमा जाडो र गर्मी गरी दुई दुवै सिजनमा चराको अध्ययन/अनुगमन हुँदै आएको छ ।
दश वर्षसम्म गरिएको अध्ययन अनुसार घोडाघोडी ताल क्षेत्रमा हरिहाँस सङ्ख्या २००९ देखि २०२० सम्म क्रमशः १५५, १८८, २४३, २९०, ३००, २८९, ३५७, ३२९, ३६०, ३७४, ३९२ र ३६८ अभिलेख गरिएको छ । यो जाडो यामको सङ्ख्या हो । गर्मी याममा भने जाडो यामको तुलनामा सङ्ख्या कम अभिलेख गरिएको छ । गर्मी याममा क्रमशः १३९, १८०, १७५, २५२, २८८, १७५, १४३, १५३, १७४, १६४, १५६ र १९० हरिहाँस अभिलेख गरिएका छन् ।
बर्खायाममा तालबाहेक अन्यत्र पनि पानी हुने गरेका कारणले यो चरा यत्रतत्र जाने गरेको जनाइएको छ । घोडाघोडी ताल क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा सुधार आएको कारण हरिहाँसको सङ्ख्या बढेको अध्ययनकर्ताको ठहर छ ।
चरा अनुगमनको क्रममा हिउँद र गर्मी दुवै याममा हरिहाँसको सङ्ख्यामा वृद्धि भएको पाइएको चराविदसमेत रहनु भएका चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो । ‘बीचमा एक/दुई वर्षबाहेक प्रायः सबै वर्ष गरिएको अनुगमनको क्रममा सङ्ख्या बढेको पाइयो’, उहाँले भन्नुभयो ।
सन १९९२ मा यो ताल क्षेत्रमा ६६६ वटा हरिहाँस गणना गरिएको थियो । त्यसपछि सङ्ख्या निकै घटे पनि पछिल्लो एक दशकयतामात्रै हरिहाँसको सङ्ख्यामा वृद्धि हुन थालेको हो । प्राकृतिक बासस्थानको विनाश नै हरिहाँसका लागि मुख्य चुनौती रहेको अध्यक्ष चौधरी बताउनुहुन्छ । यसकासाथै, चोरी सिकार, ‘ब्रिडीङ’ सिजनमा मानवीय हस्तक्षेप हरिहाँसको लागि चुनौती रहेको उहाँको बुझाइ छ ।
कृषिमा रासायनिक मलको बढ्दो प्रयोग पनि हरिहाँसको लागि ज्यादै हानिकारक रहेको अध्ययनको निष्कर्ष छ ।