मठमन्दिरमा निषेधाज्ञा, प्रवेशद्वारमा पुलिसको बार, ढाेकैमा पूजा
नवीन शिशिर विक
बागलुङ, कात्र्तिक ३ गते । विशेष गरी बडा दसैँ र चैत दसैँको अवसरमा निकै भीड हुने प्रसिद्ध कालिका भगवती मन्दिर बागलुङ यसपालिका बडा दसैँमा सुनसान छ । मन्दिर छेउछाउमा भक्तजन भन्दा प्रहरी बढी देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयले बागलुङका सबै शक्ति पीठमा निषेधाज्ञा जारी गरे पछि कालिका भगवती मन्दिर लगायत जिल्लाका अधिकांश भगवती मन्दिरमा भक्तजनको उपस्थिति शुुन्य प्रायः भएको हो । घटनस्थापनाको दिनदेखि नवरात्रसम्म स्वदेश तथा विदेशका भक्तजनले ठेलम ठेल हुने कालिका मन्दिर लकडाउनमा भन्दा पनि बढी सुनसान छ । मन्दिर भित्रको जंगल हुँदै मालढुङ्गको पैदल यात्रा समेत बन्द गरिएको छ ।
निषेधाज्ञाको कारण मन्दिरमा पूजा अर्जना गर्न आउने भक्तजनले प्रवेशद्वारमै धुपबत्ति गरेर फर्कने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले जानकारी दिनुभयो । कोरोना संक्रमणको त्रासका बीच सुरक्षा मापदण्डको पालन गर्ने गरी पूजाको तयारी गरे पनि निषेधाज्ञा भए पछि नियमित बाहेकका अन्य पुजा पूर्ण रुपमा रोकिएको अध्यक्ष खडकाले बताउनुभयो ।
बागलुङ नगरपालिका–२ मा अवस्थित मन्दिर तत्कालीन पर्वतका राजा प्रतापी नारायण मल्ले वि.स १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग विवाह गर्दा उहाँकी श्रीमतीले माझकी देवी दाईजो ल्याएको र पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँमा विसाएर उठाउँदा नउठे पछि राजादम्पत्तीयले यहाँ मन्दिर स्थापना गरी पूजापाठ गर्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खडकाले बताउनुभयो ।
कालिका मन्दिरमा विशेष गरी चैते दसैँ र बडा दसैँमा नियम पूजा (सरकारी पुजा) हुँदै आएको छ । आफुनो मनोकांक्षा पूरा हुने विश्वासका साथ भत्तजनहरुले भाकल गर्ने गर्छ । त्यहाँ भाकल तथा पूजाका लागि ल्याउने बाख्रा, कुखुरा तथा राँगो बलिका लागि छुटै बलि स्थल तयार गरिएको छ भने परेवाको बली निषेध छ ।
मन्दिरको सौन्दर्य थप गर्न तामाको पाताले छानो छाइएको छ । परिसरमा ५ वटा सत्ताल, १०८ तामाका दियो, मन्दिरको मुल ढोका अगाडी, बाघको प्रतिमा, विभिन्न व्यक्ति तथा संस्थाले प्रदान गरेका घण्टाहरुले आकर्षण थप गरेको छ । दर्शनार्थीको लागि पवित्र पम्पिङ्ग प्रविधिबाट कालीगण्डकीको पानी मन्दिर जाने बाटोमा धारो निर्माण गरी उपलब्ध छ ।
मन्दिरको चारै दिशामा चार ढोका छ । पूर्व दिशाको ढोका अधिकांस समय बन्द नै रहन्छ । उक्त ढोका खोले नाग उत्पन्न हुने र अनिष्ट हुन सक्ने विश्वास गरेको अध्यक्ष खडकाले बताउनुभयो । नेपालको सय उत्कृष्ट गन्तव्यको सुचीमा रहेको मन्दिर परिषरमा थप भौतिक संरचना निर्माणको काम जारी छ ।
बन्दाबन्दीको अवस्थामा मन्दिर प्रवेशद्वारदेखि मुल मन्दिर पुग्ने करिब ३०० मिटर पैदल मार्गमा सहकारी विकास मन्त्रालयको ५० लाख रुपियाँ आर्थिक सहयोगले ताराखोलामा तयार गरिएको ढुङा विछ्याइएको छ । कालिका मन्दिर हुँदै मालढुङा जाने बाटो स्तरवृद्धि गर्न पर्यटन मन्त्रालयले १७ लाख रुपियाँ सहयोग गरेको थियो ।
मन्दिर परिसरमा वन्यजन्तु संरक्षणको लागि बागलुङ नगरपालिकाको आर्थिक सहयोगका संरक्षण पार्क समेत निर्माण गरिएको छ । सो पार्कमा हाल दुई वटा जरायो तथा खरायोहरु संरक्षण गरिएको छ । मन्दिरको पूर्वपट्टी भ्यु पोईन र त्यहाँ पुग्ने पैदल मार्ग समेत निर्माणको चरणको रहेको अध्यक्ष खडकाले जानकारी दिनुभयो ।
विश्वकै लामो दावी गरिएको बागलुङ–पर्वत जोड्न ५६७ मिटर लामो झोलुङ्गे पुल मन्दिरदेखि करिब १० मिनेटको पैदल यात्रामा पुग्न सकिने हुँद धार्मिक तथा प्राकृतिक पर्यटनलाई एक साथ जोड्न सकिने अध्यक्ष खडकाको भनाई छ ।
‘मन्दिर र पुलले पर्यटक बृद्धि हुन्छन’ अध्यक्ष खडकाले भन्नुभयो–‘स्थानीय निकाय र होटल व्यवसायीले पर्यटकलाई एक दिन भए पनि बागलुङमा राख्ने गरी तयारी गर्नुपर्छ, होईन भने पाङ जाने सम्भावना छ ।’ भारतीय पर्यटकलाई लक्षित गरी धर्मशाला र परम्परागत सत्तल निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।