समाज |

दसैँकै बेला नेवार समुदायमा मनाइन्छ मोहनी नखः

यलु जोशी
काठमाडांैं, कात्तिक ८ गते । दसैँमा नेवार समुदायको फूलपाती भित्र्याउने खास विधि र चलन छैन ।े नेवार समुदायले दशैँको साटो मोहनी नखः मनाउने गर्छन् । पछिल्ला दिनहरुमा नेवार समुदायमा केहीले फूलपाती भित्र्याउने चलन सुरु गरेका छन् तर फूलपाती भित्र्याए पनि सो पर्व मोहनी नखः नै हो ।
संस्कृतविद् सत्यमोहन जोशीका अनुसार बज्रयान बौध्द धर्मअनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको हो । मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नुपर्दैन । पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि फूलपातीको प्रचलन नेपाल मण्डलमा शुरु भएको इतिहास छ । जोशीले थप्नुभयो, दशैँको सुरु आश्विन प्रतिपदा (घटस्थापना) बाट भएजस्तै मोहनी नखःको सुरु पनि यसै दिनबाट हुन्छ ।
हिन्दूहरूले घरघरमा जमरा राखेर घटस्थापना गरेजस्तै हिन्दू र गैरहिन्दू अर्थात् बौद्धमार्गी नेवारले पनि आश्विन प्रतिपदा अर्थात कौलाथ्व (पारु)कै दिन आगम घरमा ‘नलाः स्वनेगु’ अर्थात् जमरा राख्ने गर्छन् ।
उहाँको अनुसार वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठूलो चाड हो । मोहनी नखःका बेला अष्टमी, नवमी र दशमीका दिन मनाइने क्रमशः कुछी भ्वय (एक पाथी भोज), स्याक्व त्याक्व (काटमार गर्ने दिन) र चालँ (विजयादशमी)को विशेष महत्व छ । दशमीदेखि पूर्णिमासम्म नखत्या (पर्व सकेपछिको भोज) भनी छोरीज्वाइँ, दिदीबहिनीलाई भोज बोलाउनुपर्ने प्रचलन छ ।
यता संस्कृतविद् ओम धौभडेलले पनि नेवार समुदाय दशै नभएर मोहनी नखः मनाउने जानकारी दिनुयभो ।
अष्टमीका दिन नेवारहरुले घरघरमा कूछि भ्वय् (भोज) गरिन्छ । परिवारका सबै कुलका मानिसहरु ज्येष्ठताका आधारमा क्रममा बसेर भोज खाने भएकाले यसलाई कुछि भ्वय भनिएको हो । सो दिन यो मोहनीको अत्यन्तै महत्वपूर्ण दिन रहेको धारणा उहाँले ब्यक्त गर्नुभयो ।
स्थापना गरिएका देवदेवीसहित अष्टमीका दिन स्थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्नुका साथै भोज खुवाउने गरिने धौभडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नवमी, जुन दिनलाई नेपाल भाषामा स्याक्व त्याक्व पनि भनिन्छ त्यस दिन मोहनी सिन्हः फयेगु (तयार) गरिन्छ । ंतन्त्रसँग सम्बन्धित मोहनी सिन्हः टीका लगाउनु नै मोहनी नखःको प्रमुख विशेषता हो ।

कूलछि भ्वय ्(कुछि भ्वय्)
संस्कृतिविद धौभडेलका अनुसार अष्टमीको दिनमा बिहान सबेरै टोलवासी मिलेर राँगो काटिन्छ । कुलका सबै सदस्य एकै ठाउँ भेला भएर ‘कूलछि भ्वय्’ खान्छन् । कुलछि अथवा कुछिको अर्थ ‘कुलभित्रको मात्रै’ भन्ने बुभिन्छ उहाँले भन्नुभयो, कुछि भ्वय्कै दिन जमरा राखिएको कोठामा ‘थापिँ स्वनेगु’ पनि गरिन्छ । माटोको सानो घैँटोमा जाँड अथवा रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा) एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ । दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ ।
त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने विश्वास छ । कुछिभ्वय् केराको पातमा खाने परम्परा छ जोशीले भन्नुभयो, कुछि भ्वय्मा एक पाथी चिउरा खानुपर्ने मान्यता पनि छ । पाकेको परिकार सँगै नपकाइएका र मिलाएर काटिएका फर्सी, अम्बा, स्याउ आदि काँचो तरकारी र फलफूलसहितको ‘खयपिचयपि’ तयार गरिएको सो दिनु खानुपर्ने बताउदै जसमा बाह्रथरी ल्वसाघासा (परिकार) जुटाइएको हुने जानकारी दिनुभयो ।
सयकुक्व त्यात
नेवार समुदायले नवमीको दिनलाई ‘स्याक्वत्याक्व’ भन्ने गरिन्छ । स्याक्वत्याक्वलाई बलि दिने दिनको रूपमा पनि लिइन्छ । यस दिन आफूले मानिआएका देवदेवीको पूजाआराधना गरिन्छ र बलि चढाइन्छ । यसै दिन कुछि भ्वय्को दिनमा आगम घरमा स्थापना गरिएको ‘थापिँचा’लाई पनि विधिपूर्वक पूजा गरिन्छ र तान्त्रिक विधिअनुसार मोहनी सिन्हः (कालो टीका) पनि तयार गरिन्छ।
जोशी भन्नुहुन्छ, सली (माटाका सानो पाला) मोहनी सिन्ह सङ्कलन गरी तयार पारिएको एक प्रकारको टीकालाई नेपाल भाषामा मोहनी भन्ने गरिएको र त्यसबाट नै मोहनी भएको हो । मोहनी सिन्ह अरू पूजामा पनि तयार पार्ने गरिएको जानकारी उहाँले दिनुभयो । मोहनी सिन्ह अत्यन्तै महत्वपूर्ण भएकाले नेवार समुदायमा निधारमा लगाउँदा रातो र पहेँलो टीकाभन्दा माथि लगाउने चलन भएको उहाँको धारणा छ । यो टीका लगाउँदा अञ्जन सिद्धि प्राप्त हुने विश्वास छ । यही मोहनी सिन्हःकै नाउँमा यो चाडको नाउँ नै मोहनी नखः भएको मानिन्छ ।

मोहनी सिन्हः
मोहनीको मुख्य दिन चाहिँ दशमी हो । यो दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरिन्छ । नवमीको दिनमा पूजा गरिएका विभिन्न किसिमका औजार तथा ज्यावललाई पुनः पूजा गरी पूजाकोठाबाट झिक्नुलाई चालँ क्वकायेगु भनिन्छ । यस क्रममा कुलमा सबैभन्दा ज्येष्ठ सदस्यले अरू सबै सदस्यलाई निधारमा भुइसिन्हः (सिन्दुरे टीका) र त्योभन्दा माथि मोहनी सिन्हः (कालो टीका) लगाइदिएर नलः स्वाँ र प्रसाद बाँड्ने चलन छ । गलामा ‘क्वखा’ अर्थात् रातो र सेतो कपडाको धरो पनि बाँध्ने चलन छ । अनि थापिँचाको जाँड र पोलेको मासुसहित्को समय्बजि खाने चलन छ ।
जोशीका अनुसार चतुर्दशीको दिनमा पूजाकोठामा राखिएको नलाः स्वाँ, उखु र अदुवाको बोट आदिदेखि त्यहाँ राखिएका अन्य चिजबिजलाई पनि बाहिर निकालेर पिखालखु (घरको मूलदैलो) मा राखिन्छ । आगमघरमा बलि दिएको पशु वा पन्छीको एक टुक्रा मासु सुकाएर तिहारसम्मका लागि राखिन्छ । त्यसलाई राखेर लक्ष्मीपूजा गरेपछि मोहनी नखः विधिवत सम्पन्न भएको मानिने उहाँले बताउँनुभयो ।