समाज |

तराईका केही गाउँमा छाउगोठ बस्ने चलन कायमै

चाँदनी आचार्य
लम्की (कैलाली) कत्तिक २३ गते । उमेर पुगेसँग महिलाहरुमा हुने महिनावारीलाई अझै पनि धर्मसँग जोडेर घरभित्र बसेपछि देउता रिसाउँछन भन्ने मान्यता तराईका केही गाउँमा कायमै छ । कैलालीको घोडाघोडी, गौरीगंगा, बर्दगोरिया, लम्कीचुहा लगायतका पालिकाका विभिन्न गाउँमा अझै महिनावारी हुँदा छाउगोठमा सुत्ने चलन कायम रहेको पाइएको छ ।
घोडाघोडी नगरपालिका ८ का १३ वर्षीया जमुना (परिवर्तित नाम) पहिलोचोटी महिनावारी भएको तीन दिन भएको छ । उहाँ घरनजिकै रहेको छाउगोठमा बस्नुभएको छ । एक जना मात्र सुत्न मिल्ने बनाइएको झुप्रोमा जमुना सामान्य एकसरो पातलो कपडा ओछ्याएर सुत्नुहुन्छ । लजाउँदै जमुनाले भन्नुभयो ‘पहिलो चोटी बाहिर हुँदा बुवा दाई भाईलाई देख्न हुदैन रे अनि घरमा सुतेपछि देउता बिग्रन्छ भनेर यता बसेको ।’
पहिलोचोटी बाहिर भएका कारण अलगै बसालेको जमुनाका परिवारले बताए पनि उक्त गाउँमा देखिने छाउगोठबाट प्रष्ट हुन्छ कि अझै महिलाहरु महिनावारी हुँदा घरभन्दा अलगै छाउगोठमा सुत्ने चलन कायम छ । उक्त गाउँका एक जना महिलाले नाम नबताउने सर्तमा भन्नुभयो ‘छाउ भएका बेला घरमा सुत्यो भने देउता बिग्रन्छन अलगै छाउगोठ बनाउने कस्लाई रहर हुन्छ र ।’
पछिल्लो समय स्थानीय तहले छाउगोठ उन्मूलनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि छाउगोठ भएका घरका महिलाहरु नाम भन्न पनि हिचकिचाउँछन् । कतिपयले त पुरानो छाउगोठ हो अहिले दाउरा राख्नका लागि नभत्काएको भन्न पनि भ्याए तर घरनजिकै बनाइएको सानो झुप्रोबाट स्पष्ट हुन्छ ग्रामीण क्षेत्रका गाउँमा अझै पनि महिनावारी हुँदा छाउगोठमा सुत्ने गरिएको छ ।
घोडाघोडी नगरपालिकाका कार्यपालिका सदस्य निर्मला सन्ज्यालले छाउपडी प्रथा हटाउन वडा वडामा विद्यालयसँग समन्वय गरेर नगरपालिकाले जनचेतनाका कार्यक्रम गरेको बताउनुभयो । उहाँले जुन वडामा बढी छाउपडी प्रथा कायम छ उक्त वडामा रहेका विद्यालयसँग समन्वय गरेर केही वडामा जनचेतनामूलक कार्यक्रम गरे पनि मानसिक रुपमा अझै छाउगोठमा बस्नुहुँदैन भन्ने चेतना महिलामा नआएको सुनाउनुभयो । कैलालीका विभिन्न स्थानीय तहले नग भित्र रहेका छाउगोठलाई खोजीखोजी भत्काईरहेको छ ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीकाकुमारी थापाले नगरपालिकाले २०७४ सालबाट नै नगरका छाउपडी गोठ भएका वडामा अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘छाउपडी गोठ बनाउने घरका बुढापाकालाई सम्झाई बुझाई छाउगोठ भत्काउने कार्यसमेत गरेकाले अहिले नगरमा ८० प्रतिशतले छाउगोठ हटाएका छन् ।’
मुलुकी अपराध (संहिता ) ऐन, २०७४ को दफा १६८ (३) अनुसार महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव,छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।
 यस्तो गरे तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, व्यवहारमा भने फरक छ । समाजसेवी मैना ढकालले बनाइएका नियम कानुनहरु कडारुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले ‘भौतिकरुपमा छाउगाठ भत्काएरमात्र हुँदैन उनीहरुलाई चेतना पनि दिन सक्नुपर्छ’ भन्नुभयो ।