समाज |

तिहारमा पनि घन्किएन मादल, न त बिक्री नै भयो

भक्तिविलाश पोखरेल
गाईघाट, मङ्सिर ४ गते । यो वर्षको तिहार सकियो । तिहारमा देउसी र भैलो खेल्नेले विगतमा मादल खरिद गर्थे तर यो वर्ष व्यवसायीले बनाएका मादल बिक्री भएनन् । कोरोना महामारीका कारण आम नागरिकमा कुनै उमङ्ग नआएको र यो वर्ष देउसीभैलो खेल्न मनाही गरिएकोले पनि मादलको बिक्री नभएको व्यवसायी बताउँछन् ।
होटल व्यवसायसँगै गाईघाट बजारमा विगतदेखि नै मादलको व्यापार पनि गर्दैआउनुभएका व्यवसायी खड्गबहादुर शाहीका अनुसार पछिल्लो समयमा युवा पुस्तामा नेपाली संस्कृति जगेर्ना गर्ने केही उत्साह जागेको थियो । तर मादल बिक्री हेर्दा गाउँ घरमा पनि यो वर्ष तिहार पर्वको रौनक छाएजस्तो देखिएन ।
ढोलक, ड्रमसेट, गितार, पियानोलगायतआधुनिक बाजाहरूको प्रभाव बढ्दै गएपछि ओझेलमा पर्दैगएको नेपाली मौलिक बाजा मादलप्रति युवाको आकर्षण त्यसै पनि घट्दै गएको छ ।
विगतमा मादल बनाउने पेसा नै सङ्कटमा परेको थियो । तर पछिल्ला वर्षहरूमा भने मादल बनाउन थालिए पनि व्यापारीहरूले किनेर लैजाने नगरेकोले आफूलाई मादल बनाउने व्यवसायले फेरि निरुत्साहित तुल्याएको त्रियुगा नगरपालिका वडा न. २ खैजनपुरका उद्यमी लक्ष्मण मिजारले बताउनुभयो ।
गाईघाट बजारका मादल व्यापारी खड्गबहादुर शाहीका अनुसार उहाँको पसलमा दुई हजारदेखि पाँचहजार रुपियाँसम्म मूल्यका दुई दर्जनको सङ्ख्यामा मादल बिक्रीका लागि राखिएको थियो । तर बितेको तिहारमा खासै व्यापार नभएपछि उहाँलाई करिब एक लाख ५० हजार घाटा व्यापार भएको शाही बताउनुहुन्छ ।
लाम्पातेको ढुङ्ग्रोबाट कनेको मादलको स्वरै चखिलो हुने र ग्राहकहरूले पनि लाम्पातेकै ढुङ्ग्राको मादल किन्न माग गर्ने गरेको भए पनि यस वर्ष खासै व्यापार नभएको शाही बताउनुहुन्छ । तराइभन्दा पनि पहाडी क्षेत्रका मानिसहरू नै मादल किन्न आउने भएकोले साना ठूला सबैखाले मादलको व्यवसाय गरेको उहाँको भनाइ छ ।
त्रियुगा नगरपालिका वडा नं २ का मादल व्यवसायी ईन्द्रबहादुर मिजारले मादल बिक्री नभएकोले तिहार पर्व नै खल्लो भएको बताउनुभयो । ढुङ्ग्राे तास्न एकदिन, तना र तली मिलाउन एक दिन तथा खरी लगाएर स्वर मिलाउन एक दिन गरी जम्मा तीन दिनमा एउटा मदल तयार गर्न सकिने उहाँको भनाइ छ ।
बाहिरका अरु बजारसम्म लगेर बेच्न आफ्नाे क्षमता नभएको र स्थानीय गाईघाट बजारमा तिहार पर्वका अवसरमा पनि मादल बिक्री नभएकोमा आफू निकै चिन्तित बनेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण आफ्नाे व्यवसायसमेत धरापमा परेको उहाँको भनाइ छ ।
त्यसैगरी अघिल्लो वर्ष लक्ष्मीपूजाको अघिल्लो दिनसम्म झण्डै एक सय थान मादल बिक्री गरेका उदयपुरको सदरमुकाम गाईघाटस्थित कोसेली घरका सञ्चालक रुद्र श्रेष्ठले यो वर्ष मुस्किलले पाँच वटा मात्र बिक्री गरेको बताउनुभयो ।
तर यसपटक उहाँले लक्ष्मीपूजाको अघिल्लो दिनसम्म १७ हजार रुपियाँको मात्र मादल आफूले बिक्री गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘जुनसुकै वस्तु पनि सिजनमा बिक्री हुने हो । तर यो वर्षको सिजन कोरोना भाइरसले खायो । यस वर्ष रित्तो हात बस्नुपरेको छ ।'