सार्वजनिक ठाउँमै दुर्व्यवहार भोग्दै पारलैङ्गिक समुदाय
शान्ति लामा
काठमाडौँ, मङ्सिर ५ गते । केही दिनअघि भक्तपुरकी निकिशा श्रेष्ठमाथि सार्वजनिक स्थलमा नै दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भयो । दुर्व्यवहार गर्ने समूहले निकिशालाई अपशब्द बोली सडकमै पछ्याउँदै आफैँ भिडिओ खिची सामाजिक सञ्जालमा पोस्ट गरे ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले दुर्व्यवहारविरुद्ध बोले र प्रहरीमा उजुरी गरे । नेपाल प्रहरीले तत्कालै खोजी गरी सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्ने तीन जनालाई पक्राउ गरी कारबाही थालेको छ ।
निकिशा श्रेष्ठ जन्मदा बालक भनी इङ्गित गरिएकाे थियाे तर उहाँकाे लैङ्गिक अभिव्यक्ति र पहिचान भने महिलाकाे रहेकाे छ । उहाँले लैङ्गिकताका कारण दुर्व्यवहार भोगेको पहिलोपटक भने होइन । टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा उहाँमाथि अपाच्य शब्दको प्रयोग गरिएका सामग्रीहरू छ्याप्छ्याप्ती पाइन्छन् ।
निकिशामाथि भएको दुर्व्यवहार पारलैङ्गिक तथा विविध लैङ्गिक व्यक्तिहरूमाथि हुने गरेको दुर्व्यवहारको सानो उदाहरण मात्र भएको बताउनुहुन्छ, रुक्शना कपाली । आफूले पनि यस्ता दुर्व्यवहारहरू थुप्रै ठाउँमा भोगेको उहाँले सुनाउनुभयो । कपाली आफूलाई पारलैङ्गिक महिला भनी चिनाउन चाहनुहुन्छ ।
‘म आफैँ पहिलेपहिले घरबाट निस्कनै डराउँथे । घरको ढोकाबाट बाहिर निस्कनेबित्तिकै देखि नै दुर्व्यवहारमा परिरहेका हुन्छौँ । दैनिकजसो जुनसुकै स्थलमा पनि दुर्व्यवहार हुने गरेका छन् ।’ उहाँले भन्नुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विभिन्न वर्गमध्ये पनि विशेष गरी पारलैङ्गिक महिला तथा पुरुषहरूमाथि अझ बढी दुर्व्यवहार हुने गरेको क्वएर युथ ग्रुपको नेतृत्वसमेत गर्नुहुने रुक्शना कपाली बताउनुहुन्छ । ‘समयाैनिक, द्वियाेनिक, अन्तरलिङ्गी व्यक्तिहरूलाई बाहिरी समाजले त्यति सजिलै पहिचान गर्न सक्दैन । तर पारलैङ्गिक व्यक्तिहरू समाजको सामान्य भनिने भाष्यभन्दा फरक देखिने हुनाले उनीहरूमाथि दुर्व्यवहार बढी हुने गर्छ ।’ कपालीले बताउनुभयो ।
उहाँका अनुसार पारलैङ्गिक महिला तथा पुरुषमाथि कैयौँ प्रकारका दुर्व्यवहारको सिकार भएका बाँच्न विवश छन् । बाटो, सार्वजनिक यातायात, पसल, सरकारी कार्यालयहरूमा समेत आफूहरू दुर्व्यवहारमा परेको कपाली बताउनुहुन्छ ।
घुरेर हेर्ने, अमर्यादित शब्द बोलेर जिस्काउने, हेरेर हाँस्ने, बाटामै अपरिचित व्यक्तिले फोटो खिच्ने जस्ता दुर्व्यवहार अनुभूति हुने क्रियाकलापहरू दैनिक भोग्नुपरेको उहाँको भनाइ छ । ‘अझ कतिपयले त कुट्ने, छुने, तान्ने गरी शारीरिक दुर्व्यवहारसमेत गर्छन् ।’ उहाँले थप्नुभयो ।
कतिपय व्यक्ति यस्तो हुने डरले आफ्नो यौनिक पहिचान लुकाएर बाँच्न बाध्य हुन्छन् । जसले गर्दा मनोवैज्ञानिक स्वास्थ्यमा असर पर्ने गरेको क्वएर युथ ग्रुपकी अगुवा रुक्शना कपाली बताउनुहुन्छ । सार्वजनिक स्थलहरूमै हुने प्रत्यक्ष अप्रत्यक्ष दुर्व्यवहारहरूले पारलैङ्गिक व्यक्तिहरूको स्वतन्त्रतापूर्वक सामान्य जीवन बाँच्ने अधिकार नै कुण्ठित हुने गरेको उहाँको भनाइ छ ।
प्रहरीबाट बेवास्ता हुने डरका कारण यस्ता दुर्व्यवहारका घटना लिएर पारलैङ्गिक व्यक्तिहरू प्रहरीकहाँ नजाने गरेको उहाँको अनुभव छ ।
सामाजिक सञ्जालमा पनि दुर्व्यवहार
पछिल्लो समय सामाजिक सञ्जालहरू पारलैङ्गिक पहिचानका व्यक्तिहरूमाथि प्रहार गर्ने नयाँ थलो बनेका छन् । अश्लील सन्देश, फोटो, भिडिओ पठाएर दुर्व्यवहार हुने गरेको पारलैङ्गिक व्यक्तिहरू बताउँछन् । लवाइ, हिँडाइलाई लिएर गाली गलौचको भाषामा कमेन्ट गर्ने धेरै रहेको कपाली बताउनुहुन्छ ।
पारलैङ्गिक व्यक्तिहरूमाथि गरिएका गालीगलौज, अमर्यादित टिप्पणीहरू सामाजिक सञ्जालमा व्यापक भेटिने भए पनि नेपाल प्रहरीको साइबर ब्युरोमा भने नगण्य मात्रामा उजुरी आउने गरेको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी पशुपति कुमार राय बताउनुहुन्छ । प्रहरीले बेवास्ता गर्ला भन्ने डरले दुर्व्यवहार सहेर नबस्न उहाँले पारलैङ्गिक व्यक्तिहरूलाई आग्रह गर्नुभएको छ ।
‘कुनै एक प्रहरीका व्यक्तिले बेवास्ता गरे कार्यालय प्रमुखलाई भेट्न सकिन्छ । नभए प्रहरीको हटलाइन नम्बर १०० को सेवा प्रयोग गर्न सकिन्छ । कुनै पनि बाहनामा दुर्व्यवहार र हिंसा सह्य हुँदैन ।’ एसपी रायले भन्नुभयो ।