‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’
झिमरुक, मङ्सिर ७ गते । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताँै बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु आवका लागि रु ५६ करोड ६० लाख ३३ हजार ४५९ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाभित्र थोरै लगानीमा केही व्यवसाय सञ्चालन गरेका र आर्थिक समस्याले गर्दा व्यवसाय फस्टाउन नसकेका व्यक्तिलाई थप सहयोग गर्नका लागि कार्यक्रमले फाइदा पुग्ने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।
कोरोना सङ्क्रमणका कारण नगरक्षेत्रभित्र आएका व्यक्ति तेस्रो मुलुक तथा भारतमा सिकेको सीपलाई प्रयोग गर्न चाहेमा र नगरक्षेत्रका अन्य बेरोजगार व्यक्तिले पनि केही व्यवसाय गर्न चाहेमा यो कार्यक्रममा समेटिने उहाँले बताउनुभयो । कोभिड लक्षित कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहमार्फत अन्य बजेटसमेत विनियोजन भएकाले सोे कार्यक्रममार्फत सबै बेरोजगारलाई रोजगारी बनाउने र व्यवसायी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रम सञ्चालन गर्नका लागि कार्यपालिकाबाट ‘स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ पारित गरिएको नगरप्रमुख क्षेत्रीले बताउनुभयो । त्यसका लागि नेपाल बैंक लिमिटेड भिङ्ग्री शाखासँग सहकार्य गरिने छ । सम्झौताका लागि केन्द्रीय कार्यालयमा पत्र पठाइएको छ । उहाँले भन्नुभयो “अबको केही समयमा सम्झौता हुने छ ।” सम्झौतालगत्तै नगरपालिकाले वडामार्फत व्यवसाय गर्ने व्यक्ति तथा समूहको तथ्याङ्क सङ्कलन, व्यवसाय छनोट, संस्थागत र व्यक्तिगत व्यवसाय प्रकृतिका विषयमा तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।
सो कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका बाँझो खेतबारी कृषिमार्फत हराभरा हुनुपर्ने उहाँले बताउनुभयो । वडामार्फत बाँझो जग्गाको तथ्याङ्क सङ्कलन हुनेछ । बेरोजगारलाई आम्दानीको स्रोतसँगै आगामी दिनमा सफल व्यवसायी बनाउने योजनासहित सोे कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । नगरपालिकाले कार्यक्रमको कार्यविधिमा निम्न पिछडिएको, लगानी गर्न रकम नभएको र दलित वर्गलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।
नगरपालिकाले रु ५० लाख धरौटी बैंकमा राख्ने र बैंकले नगरपालिकाको धरौटी रकमको दोब्बर लगानी गर्नेछ । यसमार्फत संस्थागत कृषि व्यवसाय गर्नेले न्यूनतम रु २० लाख र व्यक्तिगत व्यवसाय गर्नेले न्यूनतम रु १० लाख ऋण लिन सक्नेछन् । नगरपालिकाले कृषिमा बाँझोबारीलाई हराभरा बनाउन, बाँझो बारी जोती कृषिमा आमूल परिवर्तन गर्नका लागि कार्यक्रमले सहयोग पु¥याउने नगरप्रमुख रोका क्षेत्रीले बताउनुभयो ।
नगरपालिकाले सो कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन गरेकामा रु ५० लाख बैंकमा धरौटी राखिनेछ भने रु १० लाख प्रोत्साहनका लागि खर्च गरिनेछ । कोरोना सङ्क्रमणका कारण नगरपालिकाभित्र हालसम्म भारतबाट एक हजार ९६८ र तेस्रो मुलुकबाट १५० जना व्यक्ति आएको तथ्याङ्क छ ।