समाज |

बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ९ गते । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर पर्नुभएको छ । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलालाई विश्वबाट खोज गरिन्छ र वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ ।
बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गर्नुभएको सान मरिन सबैभन्दा शीर्ष स्थानमा हुनुहुन्छ । त्यसैगरी, अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा हुनुहुन्छ । बीबीसीको उक्त सूचीमा एकजना महिलाको स्थान रिक्त राखिएको छ । बीबीसीको अनलाइन संस्करणले लेखेको छ, “असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगन्ती महिलाले त्याग गरेको हुनसक्छ, श्रद्धाञ्जली स्वरुप एकजनाको नाममा एक स्थान रिक्त राखिएको छ । ”
तीन महिनासम्म घरवारविहीन बन्न पुगेकी सपनाले काठमाडौंको यात्रा गर्नुभयो । काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव ब्यवस्थापन गर्ने एक संगठनमा उहाँ आबद्ध हुन पुग्नुभयो ।
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले ब्यवस्थापन गर्दै आएको छ । सपना आबद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम गराउँछ । ३५ दिनसम्म कुनै ब्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आबद्ध संस्थाले धार्मिक परम्परा अनुसार सदगद् गर्दै आएको छ । दागबत्ती दिने कामदेखि प्राबिधिक काममा सपना प्रत्यक्ष संलग्न हुँदै आउनुभएको छ । सपनाले आफैं पनि सडकमा बेवारिशे जीवन ब्यतित गर्नुभएको छ । उहाँलाई सडकबाट उद्धार गरी सामाजिक सेवाका लागि प्रेरित गर्ने बिनयबाबु बस्नेतसँगै मिलेर उहाँले समाज सेवामा समर्पित हुन पुग्नुभयो । सपना र विनयले हालसम्म कम्तीमा तीन सयभन्दा बढी शवको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्नुभएको छ ।
बीबीसी एक सय प्रभावशाली महिलाको सूचीमा परेपछि उहाँले आफ्नो सामाजिक सञ्जालमा सबैप्रति आभार ब्यक्त गर्नुभएको छ ।

उक्त सूचीमा आबद्ध हुनुअघि सपना रोका मगरले भन्नुभएको छ, “विश्वमा धेरै घरवारबिहीन भएर त्यागिएका ब्यक्ति छन् । सडक र गल्लीमा मृत्यु हुनेले समेत आफ्नो अन्तिम अधिकार पाउनुपर्छ, सामाजिक सेवाको रुपमा मात्र नभई मैले आफ्नो मन मस्तिष्कमा शान्तिको लागि उक्त काम गर्दै आएकी छु ।”