समाज |

भानुभक्तको गाउँमा घाँस बेचेरै नाम पनि दाम पनि

अमरराज नहर्की
तनहुँ, मङ्सिर १७ गते । कृषक वामदेव खनालले घाँसका बिरुवामा मलजल गरेको देख्दा शुुरुशुुरुमा धेरैले जिस्काउँथे । ती आजभोलि छक्क परेका छन् । खनालले घाँस बेचेर नाम र दाम दुवै कमाएपछि जिस्काउने नै त्यसको सिको गरेर घाँसखेती गरी पशुपालनमा गर्न थालेका छन् ।
म्याग्दे गाउँपालिका–१, गुणादीका ७२ वर्षीय खनालले घाँसको बिरुवा बेचेर यो वर्ष विगतको भन्दा धेरै कमाउनुभयो । कोरोना भाइरसको सङ्क्रमणले धेरैलाई आर्थिक नोक्सान भए पनि कृषक खनालले घाँसको बेर्ना बिक्रीबाट मनग्गे आम्दानी गर्न सफल हुनुभयो । कोरोना भाइरसले युवाहरुलाई पशुपालनमा उत्प्रेरित गरेकोले माग बढेको अनुभव गरेको खनालको भनाइ छ ।
‘बिरुवाको माग धेरै आएकोले यो वर्ष असार र साउनको महिनामा मात्र २० लाख रुपियाँ घाँसको बेर्ना बिक्री गरेर मुनाफा कमाएँ’ खनालले भन्नुभयो ।
पाँच वर्षपछि घाँस बिक्रीबाट यो वर्ष धेरै कमाइ भएको उहाँले सुनाउनुभयो । ‘भूकम्प गएको वर्ष ०७२ सालमा २२ लाख ५० हजार रुपियाँ कमाएको थिएँ । त्यसपछि यसपालि राम्रो कमाइ भयो’ खनालले भन्नुभयो ।
घाँस बेचेर वार्षिक १२ देखि १५ लाख रुपियाँ मुनाफा हुने गरेको खनालले जानकारी दिनुभयो । खनालले एक सय रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती गर्नुभएको छ । साठी रोपनी आफ्नै र ४० रोपनी जग्गा भाडामा लिएर उहाँले घाँस लगाउनुभएको छ ।
खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो, पाखुरी, चिउरीलगायत डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामेलगायत भुईं घाँसका बेर्ना बिक्री गर्दै आउनुभएको छ । सुपर नेपियरको बिरुवा माग धेरै भएको उहाँले बताउनुभयो ।
भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा पु¥याउने प्रेरणादायी जन्मथलो तनहुँका आधुनिक घाँसी खनालले २३ वर्षदेखि घाँस खेती गर्दैआउनु भएको छ ।
घाँस बेचेर धनी भएपछि उहाँ नयाँ घाँसीको रुपमा चिनिनुभएको छ । पन्ध्र फिटसम्म अग्लो हुने, पात मोटो हुने र नढल्ने तथा सुख्या याममा पनि धेरै समय सम्म हरियो हुने भएकोले माग धेरै आएको उहाँले बताउनुभयो । दुई आख्लाको पाँच रुपियाँको दरले घाँसको बिरुवा बिक्री हुने गरेको खनाल बताउनुुहुन्छ । परम्परागत तरिकाले निर्वाहमुखी भैँसीपालन गर्ने साधारण किसान खनाललाई २३ वर्ष अगाडिसम्म बिहान र बेलुका हातमुख जोड्न पनि धौधौ थियो । भैँसी पाल्न कृषि विकास बैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि छ, खनालसँग ।
घाँसमा पैसा फलाउने नयाँ घाँसी खनालले घाँसकै बेर्ना बेचेर लिलामीमा गएको जग्गा फिर्ता गर्नुभएको छ । घाँसकै कमाइले थप जग्गासमेत किनेर आफ्नो कर्मको क्षेत्र झनै फराकिलो बनाएको खनाल बताउनुहुन्छ । ऋण तिर्नको लागि ८० हजार रुपियाँमा बेचेको जग्गा कामाएर पछि १५ लाखमा किनेको बताउनुभयो ।
खनालले घाँसको नर्सरीमा उत्पादन गरिएको बेर्ना देशैभर हिमालीबाहेक सबै जिल्लामा पैmलिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । खनालको नर्सरी र घाँस खेतीको अवलोकन गरेर थुप्रै व्यक्ति पशुपालन तथा घाँस खेतीमा लाग्ने गरेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यो वर्ष तनहुँका विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, लमजुङ, गोरखा, स्याङजा, चितवन, धादिङ, नवलपुर, पर्वत, म्याग्दीलगायत जिल्लाका कृषकले लगेको खनालले बताउनुभयो । अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुरलगायत जिल्लाका कृषक पनि घाँसका बिरुवा लिन आउने गरेको खनाल बताउनुहुन्छ ।
२०५४ साल जेठमा तत्कालीन पशु सेवा कार्यालयले सिफारिस गरेपछि पोखरामा सात दिने घाँस खेतीसम्बन्धी तालिम लिने मौका मिलेपछि खेती शुरु गरेको खनालले जानकारी दिनुभयो ।
‘तालिमबाट फर्कँदा घरमा पालेको गाईलाई खुवाउनलाई नेपियर बिरुवा राम्रो भयो । अर्को वर्ष नेपियरको बेर्ना बेचेर राम्रै कमाइ भएपछि पैसा त यता पो रहेछ भन्ने बुझेर आकर्षित भएँ ।’ खनालले भन्नुभयो । मुलुकभर आधुनिकको घाँसीको छवि बनाएको खनालले हजारको लगानीमा सुरु गरेको घाँस खेतीले लखपति बनाएपछि उहाँ सन्तुष्ट हुनुहुन्छ । ‘घाँस बोक्ने गाडी किनेको छु देशभर बिक्री गर्छु । तीन जनालाई रोजगारी पनि भएको छ ।’ खनालले भन्नुभयो ।
कामधेनु गौ फार्म दर्ता गरी घाँसको लागि मल पु¥याउन उन्नत जातका डेढ दर्जन बढी गाई भैंसी पनि पाल्नुभएको छ, खनालले । ती गाई र भैंसीबाट मासिक दुई लाख रुपियाँ आम्दानी हुने गरेको खनालले जानकारी दिनुभयो । यी गाईभैसींको मलले एक सय रोपनी जग्गामा पोसिला घाँस मौलाएका छन् । मललाई पाईपलाइनबाट सीधै घाँसबारीमा पुग्ने व्यवस्था मिलाइएकाले गोठ पनि सफा छ । पशुचौपायालाई खुवाउने घाँसलाई पैसासँग साटिरहनुभएका खनालले कुनै युवा रोजगारीको विदेश जान नहुने बताउनुहुन्छ ।
‘पहाडी भूगोल र चरन प्रशस्त भएको ठाउँमा बाख्रा पाल्दा फाइदा हुन्छ, बेसीमा भैँसी र गाई पाल्दा फाईदा हुन्छ । उहाँले भन्नुभयो, । धन कमाउने सपना देखेर रातो बाकसमा फकिर्नुपरेको र दीर्घरोगी बन्नु बनेको स्मरण गर्दै स्वेदशमा काम गर्न लाज नमान्ने र विदेशमा जति दुःख गर्ने हो भने यही माटोमा सुन फलाउन सकिने उहाँ बताउनुहुन्छ । व्यावसायिक पशुपालन शुरू भएपछि उन्नत जातका घाँसको माग बढेको खनालले जानकारी दिनुभयो ।
राम्रो आम्दानी हुन थालेपछि पाखोमा मात्रै नभई पनि खेतमा पनि खनालले नर्सरी बनाउनुभएको छ । घाँसखेती गर्दा अन्नबाली जस्तो दुःख नहुने र आम्दानी पनि धेरै हुने खनाल बताउनुहुन्छ । गोडमेल र सिँचाइ कम भए पुग्ने र एकपटक रोपेपछि मल र केही चिस्यान दिने हो भने घाँस फष्टाउने उहाँले जानकारी दिनुभयो । उहाँले साविक जिल्ला विकास समिति उत्कृष्ट कृषक र साविक जिल्ला कृषि विकास कार्यालबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएको छ ।