समाज |

साहारा विहिन सुवेदीलाई मानसिक अपंगता परिचयपत्र: परिवारको साथ पाउने आशा जाग्यो

कैलाश लामा
चरिकोट, दोलखा, मंसिर २३ गते । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ राम्पाकी ४८ वर्षीय टिकामाया सुवेदी मानसिक रोगबाट ग्रसित भएपछि घरपरिवारबाट टाढा हुनुहुन्छ ।
२०६२ सालदेखि सुरु भएको मानसिक रोगले च्याप्दै लगेपछि घर छाडेर केहि समय उहाँ सडकमै पनि बस्ने गर्नुभयो ।
सदरमुकाम चरिकोट बजरको सडकमै बस्ने गर्न थालेपछि २०७५ साल बैशाखमा चरिकोट स्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा ल्याएर राखिएको आवाज नेपालको अध्यक्ष सिर्जना कार्की बताउनुहुन्छ ।
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा टिकामायालाई काठमाडौंमा उपचार गराएपछि परिवारसँग पुनर्मिलनको प्रयास गर्दा सम्भव नभएको उहाँले बताउनुभयो।
घरमा श्रीमान, एक छोरा र दुई छोरी भएपनि पारिवारिक बाताबरण सहज नबन्दा उहाँ घर जान सक्नुभएको छैन् ।
एकपट भीमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेत सहितको टोलीले उहाँलाई घरमा र्पुयाएपनि त्यसको केही दिनमै स्नेह केन्द्र फर्केको अध्यक्ष कार्की बताउनुहुन्छ ।
हाल टिकामाले स्नेह केन्द्रमै बसेर मानसिक रोगको औषधी सेवन गरिरहनुभएको छ । तर स्वास्थ्यमा भने खासै सुधार आएको छैन् ।
यसै कुरालाई मध्यनजर गरि भीमेश्वर नगरपालिकाले टिकामायालाई हालै ‘ख’ श्रेणीको परिचयपत्र दिएको छ ।
यो परिचयपत्र पाएपछि उहाँले मासिक एक हजार छ सय रुपियाँ भत्ता पाउने भीमेश्वर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुर्जा दहालले बताउनुभयो ।
पहिला आठ प्रकारमा परिभाषित गर्दा मानसिक रोगी नपरेको र
अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ (पहिलो संशोधन २०७५) पछि दस प्रकारमा परिभाषित गर्दा मानसिक रोगि समेत परेकोले सोही आधारमा परिचयपत्र दिईएको उहाले बताउनुभयो ।
स्नेह केन्द्रले जोखिममा परेका महिला बालबालिकालाई केहि समय आश्रय दिएर कानुनी उपचार देखि पुनर्मिलनको बाताबरण बनाउन सहयोग गर्ने भएकाले पनि टिकामायालाई सधैं राख्ने अवस्था नरहेकोमा मासिक भत्ता आउने परिचयपत्र पाएसंगै उनको जीवनयापन सहज हुने अध्यक्ष कार्की बताउनुहुन्छ ।
उहाँले टिकामायालाई अब औषधी र खान खर्च सहजै सम्भव भएकाले घरपरिवारले पनि वास्ता गर्लानकी भन्ने आशा जागेको बताउनुभयो ।
टिकामायालाई अतिअशक्त मानसिक अपांगता परिभाषित गरि १३२ नम्बरको परिचयपत्र दिइएको छ ।
हालसम्म भीमेश्वर नगरपालिकाले ‘क’ श्रेणीको एक जना र ‘ख’ श्रेणीको सात जान गरि आठ जनालाई मानसिक अपांगता परिचयपत्र दिएको छ ।
‘क’ श्रेणीको अपांगता भएकाहरुले मासिक तीन हजार भत्ता पाउछन् भने, ‘ख’ श्रेणीकोले मासिक एक हजार छ सय रुपियाँ भत्ता पाउँछ ।
नगरपालिकाले अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन को दफा ६१ ले दिएको अधिकार प्रयोग गरि अपंगता परिचयपत्र वितरण कार्यबिधि तयार गरेको छ।
सोकार्यबिधि बमोजिम नगर उपप्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय तथा चरिकोट अस्पतालका मेडिकल अधिकृत समेतको अपांगता परिचयपत्र वितरण सम्बन्धित नगर स्तरीय समितिको निर्णयबाट परिचयपत्रहरु वितरण गरिँदै आएको छ। नगरपालिकाले अति अशक्त ‘क’ बर्गको व्यक्तिहरुका लागि चिकित्सक सहितको टोलि घरदैलोमा गई अपांगता परिचयपत्र बितरण गर्ने काम गरिरहेको भीमेश्वर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।