समाज |

परम्परागत पानीघट्ट लोप हुँदै

लोकेन्द्र जोशी

दार्चुला, माघ ६ गते । दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् ।

पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको शैल्यशिखर नगरपालिका–६ का स्थानीय धरम सिंह धामीले जानकारी दिनुभयो । दार्चुला जिल्ला भरि सयौँको संख्यामा रहेका पानीघट्टमध्ये अहिले विद्युत नपुगेको ठाउँमा मात्रै पानी घट्ट सञ्चालित छन् ।

बढ्दो प्रविधिको प्रयोग र खोलानालामा पानीको मात्रा कम हुदै जानुले परम्परागत पानी घट्ट लोप हुदै गएको मालिकार्जुन गाउँपालिका–३ का घट्ट धनी मोहन धामीले बताउनुभयो । पानी घट्टबाट अन्न पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको उहाँले बताउनुभयो । अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानी पिसानी गर्ने मिल तथा चक्कीहरु ठाउँठाउँमा सञ्चालन भएपछि घट्टमा कुटानीपिसानी गर्ने चलन घट्दै गएको लेकम गाउँपालिकाका स्थानीय हरिनाथ जोशीले बताउनुभयो ।

विद्युत नपुगेको ठाउँमा समेत परम्परागत घट्टलाई आधुनिक घट्टले विस्थापित गरेको छ । अहिले परम्परागत घट्टमा अन्न पिसानी गर्न कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आएका लेकम गाउँपालिकाका स्थानीय धनन्जय जोशीले बताउनुभयो । परम्परागत पानी घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेकोले पनि परम्परागत घट्टप्रति स्थानीयको चासो कम हुदै गएको स्थानीयहरुको भनाइ छ । मिलमा भनेकै समयमा कुटानी पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नको संख्या घट्दै जाँदा व्यवसायिक पानी घट्ट सञ्चालकहरुले पेसा परिवर्तन गर्नुपरेको जोशीको भनाइ छ । घरमा प्रयोग हुने जातोलाई घट्टले विस्थापित गरेको र घट्टलाई विद्युतीय मिलहरुले विस्थापित गरेको उहाँले बताउनुभयो।