समाज | फिचर | फोटो फिचर |

माधवनारायण मेला सम्पन्न (फोटो फिचर)

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गत । एक महिना लामो माधवनारायण मेलाको व्रत आज सम्पन्न भएको छ । भक्तपुरमा आज बिहान मेला समापन गर्ने भक्तजनहरुको भीड लागेको थियो । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको बताइएको छ ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला माघ १५ गते बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको थियो ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ ।
नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यबस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको र भक्तपुरका त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको पाइन्छ ।

तस्बिर सुजन गुरूङ्ग