कञ्चनवनमा होली
गोरखापत्र अनलाइन
जलेश्वर, चैत ७ गते । मिथिलामा आजदेखि विधिवत् रुपमा होलीको (फागुपर्व) शुरुवात भएको छ ।
मिथिलामा बसन्तपञ्चमी पुजादेखि नै होली शुरु भएको मान्यता रहेपनि परिक्रमाबासीहरु कञ्चनवन पुगेर होली खेलेपछि विधिवत् रुपमा होलीको शुरुवात भएको मान्यता रहीआएको छ ।
जिल्लाको भंगहा नगरपालिकामा पर्ने कञ्चनवनमा आज शनिबार परिक्रमाबासीहरुले रंग र अबिर खेली होली मनाएका छन् ।
त्रेता युगमा भगवान रामले त्यहाँ होली खेलेको सम्झना स्वरुप परिक्रमाबासीहरु त्यहाँ रंग र अबिर एक आपसमा लगाएर शुभकामना दिदै होली खेल्ने गरेका छन् ।
कञ्चनवन पुगी जनकपुर स्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको शुरुवात गर्ने गर्दछन् । वसन्तपञ्चमीदेखि नै फागुको शुरुवात भएको मानिएपनि मिथिलाञ्चलमा कञ्चनवनमा होली खेलेपछि मात्रै शुरु भएको परम्परा रहँदै आएको जलेश्वर नगरपालिका बजराहीका पुरोहित शम्भु ठाकुरले बताउनुभयो ।
महोत्तरीको अन्तिम तथा परिक्रमाको सातौं पडाव स्थलको रुपमा रहेको कञ्चनवनमा साधु, सन्त, महन्थ, नागा, गृहस्थ लगायत सबैको अनुहार र कपडा रंग र अबिरको कारण रंगीचंगी देखिएको थियो ।
नेपाल भारत दुवै मुलुकका धार्मिक सांस्कृतिक एवं पारस्परिक सदभावको प्रतिक वनेको परिक्रमा यात्राको क्रममा श्रद्धालुले नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्राम स्थलमा रात्रि विश्राम गर्ने गरेका छन् ।
मिथिला महात्मय अनुसार १८ औं शताब्दीदेखि मनाइदै आएको माध्यमिकी परिक्रमा जनकपुरधामको हनुमानगढीदेखि शुरु हुदै भारतको कलाणेश्वर स्थान, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन र पूर्णिमाको विहान जनकपुरधाममा अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।
सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने विश्वाससहित धार्मिक यात्राका यात्रुहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्दै आएका छन् ।