समाज |

होलीमा भीडभाड, एक हजारभन्दा बढी सवारी कारवाहीमा

गोरखापत्र अनलाइन
काठमाडौँ,चैत्र १५ गते । ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने एक हजार भन्दा बढी सवारी चालकलाई कारवाही गरेको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे नौ सय ५० र ५० वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरिएको जानकारी दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ५१ जनालाई कारवाही गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

साथै मोटर साइकलमा दुई भन्दा बढी जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । साथै यस बर्षको होली गत बर्षहरुको तुलनामा कोरोनाका कारण सामान्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

यस अघिका बर्षमा ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाउने गरिएको भए तापनि यसपाली भने त्यस्ता ठूला औपचारिक कार्यक्रमको आयोजना गरिएको पाइएन । प्रहरीले औपचारिक कार्यक्रमको आयोजना गरेर होली नखेल्न आग्रह गरेको छ । यसपाली आम नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर मनाइएको पाइएको छ ।