समाज |

एउटै वडामा एक वर्षमा पाँच वटा हाडनाताका विवाह

राजन रावत
हुम्ला, चैत २३ गते । सिमकोट गाउँपालिकाको एउटै गाउँमा एक वर्षमा पाँच वटा हाडनाताका विवाह भएका छन् । एक आपसमा माया प्रेम बसेर बिबाह भइसकेपछि लाज हुने डरले कसैले त्यसको विरोध नगर्दा यो विवाहले मौलाउन पाएको हो ।
यो वर्ष मात्र सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँमा मात्र पाँच जना युवा युवतीको जोडीले हाडनाता लाग्ने बिबाह गरेको सोही गाउँका स्थानीय मन्दिर सिंहले बताउनुभयो । केटा केटीबीच बसेको माया विवाहमा परिणत हुँदासम्म कसैले पनि त्यसको बिरोध गर्न नसकेको कारण हाडनाता विवाह बढ्दै गएको उहाँले बताउनुभयो । उक्त गाउँ ठकुरीको बस्ती हो । समाजमा लाज हुने डरले केटा र केटी पक्षका घरपरिवार र आफन्तले विरोध वा उजुरी गर्न नसकेपछि हाडनाता विवाहले मौलाउन पाएको उहाँले बताउनुभयो । विवाह गर्ने केटोकटी पक्षले मात्र नभई गाउँले पनि चुपचाप बस्नाले यस्तो विवाह हुने गरेको छ । यसरी हाडनाता विवाह गर्नेको संख्या उक्त गाउँमा सात पुगेको उहाँले बताउनुभयो । हाडनाता विवाह गरेपछि गाउँमा नबसेर भारत वा तराईतिर झर्ने र लामो समयपछि मात्र गाउँ फर्कने गरिन्छ ।

हाडनाताको विवाहमा प्रहरीमा उजुरी नलाग्ने र सिधैँ अदालतमा मुद्धा दर्ता हुने प्रहरी निरीक्षक सीताराम बिष्टले बताउनुभयो । तर हालसम्म अदालतमा एउटा पनि हाडनाता विवाहका मुद्धा दर्ता नभएको तामेलदार डिठ्ठा राजबहादुर शाहीले बताउनुभयो । यस्तो विवाहलाई निरुत्साहीत गर्न गाउँलेले मुद्धा दर्ता गरेर सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । विवाहका लागि कुल कुटुम्म गाउँमा नभएपछि जिल्लाका ठकुरी बस्तीमा हाडनाता विवाहका घटना हुँदै आएका छन् ।