गोरखापत्र समाचार प्रभाव: भीरबाट लडेर घाइते भएकी बालिकाको उपचार खर्च जुट्न थाल्यो
प्रेमराज सिम्खडा
कालीकोट, असार २८ गते । कालीकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका वडा नं २ की १३ वर्षीया बालिकाको उपचार खर्च जुट्न थालेको छ । आर्थिक अभावका कारणले उपचार गर्न समेत समस्या भएपछि परिवारका सदस्यले बालिकालाई अस्पतालको आईसियुबाट निकालेर घर ल्याउने तयारी गरेको समाचार सार्वजनिक भएपछि सहयोगी मन भएकाहरुबाट रकम जुट्न थालेको हो ।
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बिरामी बालिकाको उपचारका लागि पाँच हजार पाँच सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । गाउँपालिका अध्यक्ष बमले आफ्नो ब्यक्तिगत रुपमा बालिकालाई उपचार खर्च सहयोग गरेको बताउनुभयो । उहाँले बिरामी बालिकाका काका अविलाल बिष्टको सानिमा बैँकमा रहेको खाता नम्बर ०३००११०६०००१६७३ मा जम्मा गर्नुभएको छ।
बालिकाको उपचारका लागि सहयोग गर्ने पलाँता गाउँपालिका अध्यक्ष बम पहिलो ब्यक्ति हुनुहुन्छ । असार ८ गते भीरबाट लडेर घाइते भएकी १३ वर्षीया बालिका मञ्जु बिष्टको उपचार खर्चको अभावले आईसियुबाटै निकाल्नुपर्ने बाध्यता हुन लागेको परिवारका सदस्यले बताएका थिए । टाउकोसँगै शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेका कारण बालिकालाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लाको विषेश कक्ष आईसियुमा राखेर उपचार भइरहेका बेला परिवारले उपचार खर्च धान्न नसक्ने भएपछि फिर्ता ल्याउनुको विकल्प नभएको बताउँदैँ आएका छन् ।
बिरामीसँग जुम्ला गएका उनका काका नाता पर्ने अनिल बिष्टलाई बालिकाको आमाबुवाले आफूसँग छोरीको उपचार गर्ने पैसा नभएकाले घरमा फिर्ता ल्याइदिनु भनेका थिए । तर बिष्टले जति सकिन्छ प्रयास गर्ने भन्दै सहयोगको आचना गरेका थिए । वालिकाको उपचार खर्च अभाव भएको गोरखापत्र र द राईजिङ नेपालमा पहिलो पटक असार २२ गते किशोरीलाई उपचार अभाव शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
परिवारका सदस्यले वालिकाको उपचारका लागि सहयोग गर्ने सहयोगी मनलाई अविलाल बिष्टको सानिमा बैंकमा रहेको खाता नंम्वर ०३००११०६०००१६७३ मा जम्मा गर्न आग्रह गरेका छन् । साथै इ सेवावाट सहयोग गर्नेहरुका लागि मोबाईल नम्वर ९८४३८०८३३० र सिधै सम्पर्क गर्नका लागि मोवाईल नम्बर ९८४८३६०२५८ र ९८६४७३६६२५ मा सम्पर्क गर्न अपिल गरेका छन् ।