धारा सुके, काम सुक्यो, सुकाउन छाडे कपडा
मनोजरत्न शाही / केशब गुरुङ्ग
काठमाडौँ, भदौ १५ गते । काठमाडौँ महानगर वडा नं.१७ मा धोबी चौरमा कुनै बेला १४ वटा ढुङ्गेधारा थिए, विहान उज्यालो भएदेखि रातीसम्म लुगाधुनेहरुले भरीभराउ हुन्थ्यो यो क्षेत्र । वरिपरि डोरी टाँगेर कपडा सुकाइन्थ्यो ।
शहरीकरणसँगै ढुङ्गेधारा सुक्न थालेको करीब दुई दशक भयो । ढुङ्गेधारा सुकेसँगै लुगाधुनेहरुका लागि काम पनि सुक्न थाल्यो । अहिले कोरोनाले होटलहरु वन्द भए पछि त जेनतेन चलेको लुगाधुने काम शुन्य भयो । धारामा पानी मात्र सुकेन धारा नै लोप भए । धारा भएको स्थानमा घर ठडिए अहिले त्यहाँ एउटा धारामा बाहेक अरु कुनैमा पानी आउँदैन
लुगाधुने पुस्तौली पेशा धान्दै आउनु भएका रजक समुदायका अध्यक्ष किरण मघैयाँ अहिले पानीको समस्या भएको र हातले लुगाधुन छाडेर मेसिन प्रयोग भए पछि थोरै जनशक्तिले मात्र यो काम गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो,‘हाम्रो व्यवसायको लागि पानी पहिलो आवश्यकता हो ।’ पानीको एकदमै आवश्यकता रहेकाले धेरैले बोरिङ्ग गाड्ने थाले पछि पानी सुकेको उहाँको भनाइ छ । कसैले पानी किनेर व्यवसाय गर्ने गरेको उहाँले बताउनुभयो । नेपाल सम्बत ३४० मा राजा हरिसिंहदेव मल्लको पालाबाट रजत समुदाय काठमाडौं भित्रिएको र त्यसबेलादेखि नै नेपालमा बसोबास रहेको मानिन्छ ।
उहाँका अनुसार पहिले हातले लुगा धुने काम हुन्थ्यो । त्यो समय ढुुङ्गे धाराको सयम थियो । त्यसमा गएर लुगा पखाल्ने, चौरमा सुकाउने, घरघरमा गएर लुगा संकलन गर्ने गरेको उहाँको अनुभव छ ।
त्यति बेला पनि ठिकै आम्दानी थियो करिब सय वर्ष पहिले । राणाको दरबारहरुमा गएर कपडाहरु संकलन गर्दै बाबु बाजेको पालादेखि हालसम्म आउँदा काम त त्यसरी नै गर्ने । तर नेपालमा पर्यटन क्षेत्र धेरै भएकाले होटेलहरु थिए । होटेलहरुमा काम हुने गर्छ । त्यति बेलासम्म आम्दानीको अवस्था राम्रो रहेको थियो । घरमा गएर लुगा संकलनको काम गर्ने फूर्सद नै नहुने उहाँको भनाइ छ ।
पानीका कारण व्यवसाय नै सिथिल हुन लागेको किरण मगैयाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘समयअनुसार परिवर्तन भयो, पहिले सबै काम हातले गरिन्थ्यो भने अहिले मेसिनले काम हुन्छ ।’ मेसिनले काम गर्दा जनशक्ति पनि कम भए पुग्ने भएकाले धेरै काम मेसिनले नै गर्ने गरेको उहाँले बताउनुभयो ।
हालते र मेसिनले गरेको काममा फरक रहेकाले ज्याला दिनेले पनि पहिले भन्दा अहिले सजिलै पैसा दिने गरेको उहाँले बताउनुभयो । अहिले यो समुदायको मानिसहरु धेरै जसो जागिरे भइसकेको र केही नभएकाहरुले यो काम गरिरहेको उहाँको भनाइ छ ।
कामको सिलसिलामा आर्मी, प्रहरी प्रशासन, मन्त्रालय, होटेल, विभागहरुको काम गर्दै जीविका चलाउँदै आएको उहाँले बताउनुभयो । लुगा धुने व्यवसाय आफ्नै समुदायको लागि पनि व्यपार जस्तो रहेको र यसलाई अझ विस्तार गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ हाम्रो समुदायको संख्या कम रहेकाले अन्य समुदायका मानिसले पनि अंगालेका छन् ।’ यो पेसामा आम्दानीको स्रोत राम्रो रहेकाले अन्य समुदायका ७० प्रतिशत मानिसहरुले अंगालेको देखिएको उहाँले बताउनुभयो ।
बाबु, बाजेले काम गर्दै आएको ती ढुंगे धाराको प्रयोगमा अहिले कमी आएको र सबै सुकेको उहाँले बताउनुभयो डुङ्गगे धारामा पानी नहुँदा अहिले पानी किन्नुपर्ने अवस्थामा छ । एउटा समुदाय एकै ठाउँमा रहे पनि सरकारको आँखा नपुगेको र पेशागत व्यवसायको राज्यले गर्नुपर्ने दायित्व कुनै पनि पूरा नगरेको उहाँले गुनासो पोख्नुभयो ।
कोरोनाले लुगा धुने पेसासँग सम्बन्धित पर्यटन क्षेत्र रहेकाले होटेलहरु बन्द हुँदा असर गरेको र यो कोरोनाको अवधिमा काम नपाएर बेरोजगार जस्तै बसेको र आर्थिकस्थिति नाजुक रहेकोले अब अर्को विकल्प सोच्नुपर्ने अवस्था आइसकेको उहाँले बताउनुभयो ।