ज्येष्ठ नागरिकका समस्यालाई पाठ्यपुस्तकमा समावेश गरिनुपर्छ
केशब गुरुङ्ग
काठमाडौं, असोज १५ गते । संयुक्त राष्ट्र संघले गरेको घोषणा अनुरुप सन् १९९१ देखि हरेक अक्टोबर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइने गरिएको छ । ज्येष्ठ नागरिकको जीवन सम्मानित, मर्यादितर सुखमय बनाउन उनीहरुको समस्या पहिचान गरि समाधान गर्नुपर्ने दायित्व सरकार लगायत ज्येष्ठ नागरिकका घरपरिवार तथा आफन्त सबैको भएको बताइएएको छ ।
२०५१ सालमा तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सम्झना स्वरुप मासिक एक सय रुपिया वृद्धभत्ता वितरण गर्ने सवाल आएपछि समाजमा ज्येष्ठ नागरिकको सवालहरु थप बाहिर आएको समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्की बताउनुहुन्छ ।
अहिले मासिक वृद्ध भत्ता चार हजार रुपिया पुगेको छ । कर्णाली क्षेत्र र दलित समुदायको हकमा ६० वर्ष पुग्नुभएका र अन्यको हकमा ७० वर्ष उमेर पुग्नुभएका झण्डै १३ लाख ज्येष्ठ नागरिकहरुले यो वृद्ध भत्ताको उपभोग गर्नुभएको उहाँ बताउँनुहुन्छ । तर वृद्धभत्ता दिएर मात्रै ज्येष्ठ नागरिकप्रति सही अर्थमा सम्मान हुन नसक्ने पनि उहाँको विचार छ ।
सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको कामहरु सराहनीय रहेको बताउनुहुँदै उहाँले घरपरिवार र समाजका ज्येष्ठ नागरिकहरुको सम्मानका लागि सरकारको मात्रै मुख ताक्नु भने उचित नहुने बताउनुभयो । यसका लागि छोराछोरी जिम्मेवार रहेको बताउनुहुदै उहाँले परिवार र समाजबाट वञ्चित भए पनि बाध्यात्मक अवस्थामा मात्रै वृद्धवृद्धा आश्रम पुग्ने गरेको बताउनुभयो ।
सरकारले ज्येष्ठ नागरिक क्लब, घुम्ने–खेल्ने ठाउँ, वृद्धवृद्धामैत्री मनोरञ्जनात्मक पार्कहरु निर्माण गर्ने बताउदै आएको छ । यसखाले कार्यहरु संघीय सरकारबाट गर्दा ज्यादै खर्चिलो हुनेहुँदा स्थानीय सरकारले नै गर्नुपर्ने उहाँको सुझाव छ । “वृद्धवृद्धालाई भजनकीर्तन/छलफल गर्ने वातावरणको व्यवस्था मिलाइए अझ राम्रो हुन्छ, वृद्धाआश्रमहरुको मनोटरिङ पनि सरकारले गर्नपर्छ, वृद्धाआश्रममा ज्येष्ठ नागरिकहरुले म एक्लो छु भन्ने महसुस गर्न नपर्ने वातावरण हुनुपर्छ। ज्येष्ठ नागरिकलाई परिवारले शारीरिक र मानसिक हिंसा मात्रै गर्छ भनेर नकरात्मक सोचबाट मात्रै नजाऔं तर, उनीहरुमाथि हुने हिंसा प्रहरीसम्म ज्यादै कम पुग्छ, अझ सम्पत्तिबाट वञ्चित हुनुपरेको उजुरीहरु कम पुगेको छ”, कार्की बताउनुहुन्छ । हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधता अनुरुप ज्येष्ठ नागरिकहरुको समस्याको प्रकृति पनि फरक–फरक हुन्छन्, यसलाई स्थानीय तहले नै पहिचान गरेर कार्यक्रम अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ ।
कार्कीको विचारमा ज्येष्ठ नागरिकको समस्याहरु विद्यालय तहकै पाठ्य पुस्तकमा समावेश गरिनुपर्छ । र ज्येष्ठ नागरिकलाई कस्तो व्यवहार एवम् सम्मान गर्ने भनेर विद्यालयस्तरदेखि नै शिक्षा दिइनुपर्छ । यतिमात्रै होइन, ज्येष्ठ नागरिकले बोलेका, भोगेका र सुनेका इतिहासहरुलाई संकलन एवम्र संरक्षण गर्दै अघि बढ्न सके ज्येष्ठ नागरिकहरुप्रति सही अर्थमा सम्मान हुने धारणा उहाँको छ ।