परम्परा धान्न मात्र बन्न थाले माटोका पाला
सचिन पोखरेल
इटहरी, कात्तिक १७ गते । बजारमा रेडिमेट सामान अत्यधिक आयात हुन थालेपछि परम्परागत रुपमा उत्पादन हुँदै आएका माटोको भाँडाको उत्पादन र विक्री ओझेलमा परेको छ ।
तिहारमा प्रयोग हुने माटोको सामानको सट्टा बजारमा प्लाष्टिक तथा धातुका सामान आउन थालेपछि यस्ता सामानका उत्पादक तथा विक्रेतालाई मार परेको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ पचरुखीमा पाला, दियो, खुत्रुके लगायता माटाका सामग्रीहरु बन्छन् । यस्तै जिल्लाको इनरुवामा पनि यस्ता सामग्रीहरु उत्पादन हुन्छन् । पचरुखीमा रमेश पण्डीत र उहाँका बुबाआमाको मुख्य पेशा नै यस्ता सामग्रीको उत्पादन गर्ने र थोक विक्रेतालाई विक्री गर्ने हो ।
परापूर्वकालदेखि घरेलु विधिबाट उत्पादन हुने यस्ता सामग्रीको छुट्टै महत्व छ । तर, पछिल्लो समय बहुप्रयोगी रेडिमेट सामग्री आउन थालेपछि रमेश पण्डित जस्ताको पेशा नै धारासयी बन्दै जान थालेको छ । बजारमा आएका रेडिमेट प्लाष्टिक तथा धातुका सामग्रीका कारण माटोका सामानको बिक्री आधा कम भएको रमेशको भनाइ छ ।
उहाँकै जस्तै गुनासो छ, इनरुवा नगरपालिकामा पुस्तौँदेखि माटोको सामान उत्पादन र बिक्री गर्दै आउनुभएका सुरजकुमार पण्डितको पनि । बिहान क्याम्पन पढ्ने र दिउँसो इनरुवाबाट बुबाले बनाएका सामान लिएर सुरज इटहरी आउनुहुन्छ । उहाँ यस्ता सामानको बिक्री बितरणमा रेडिमेट सामानले चुनौती दिइरहेको सुनाउनुहुन्छ ।
प्रयोगकर्ता पनि रेडिमेट सामानको बहुप्रयोगी गुण भएकै कारण त्यस्ता सामान आफ्नो रोजाइमा पर्ने गरेको बताउँछन् । माटोको सामान जस्तो नभए पनि त्यस्ता सामानको खरिदमा आर्थिक मितव्ययिता पनि हुने इटहरीका स्थानीय होमप्रसाद पोखरेलको तर्क छ । रेडिमेट सामान बहुप्रयोगी र मितव्ययी भए पनि माटोको सामानसँग दाँज्न नहुने धेरैको बुझाइ छ ।