समाज |

वृद्ध भएकाले रिहा हुनुपर्ने भन्दै चार्ल्स शोभराज सर्वोच्चमा

काठमाडौँ, पुस ८ गते । फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा बिहीबार सार्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुँदैछ ।

जन्मकैद भोगिरहेका शोभराजले आफू वृद्ध भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । वृद्ध भएको भन्दै सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

बिकिनी किलरको रुपमा चर्चा पाएका फ्रान्सेली नागरिक शोभराजलाई नेपालमा दुई विदेशी नागरिकको हत्याको कसुरमा सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो ।

सर्वोच्चका प्रवक्ता दाहालका अनुसार कारागार नियमावली, २०२० ले ७० वर्ष उमेर पुगेका र असल आचरण भएका नागरिकलाई ७५ प्रतिशत कैद मिनाहा गर्न सकिने व्यवस्था गरेको छ । दाहालका अनुसार विदेशी नागरिकको हकमा नियमावली मौन छ ।

शोभराजले आफ्नो उमेर ७७ वर्षमाथि पुगेको भन्दै उक्त सुविधा पाउनुपर्ने दाबी गरेका छन् । शोभराजले यसअघि पटकपटक दिएका निवेदन दरपिठ भएका थिए ।

शोभराजमाथि नेपालबाहेक भारत, थाइल्याण्ड, इरान, टर्कीलगायत देशमा २० बढी मानिसको हत्या अभियोग लागेको छ । उनी ‘विकिनी किलर’ र ‘सिरियल किलर’ उपनामले चिनिन्छन् ।