छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । नेपालमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । धादिङ, बाँके, सिरहा, ललितपुर र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।
धादिङको गल्छी गाउँपालिका–७ बैरेनी बजारमा बा।१३ च ८१०९ नम्बरको स्कार्पियो र बा. ३९ प ५७८२ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश घलानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उहाँको अम्भे भरोषा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भएर ना. ७ ख २९ नम्बरको ट्रकलेसमेत मोटरसाइकललाई ठक्कर दिएको थियो । स्कार्पियो र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मा बागमती प्रदेश ०२–०१५ प ५१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक प्युठान फोली–२ बस्ने ३० वर्षीय मदन भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उहाँको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहाको बिष्णुपुर गाउँपालिका–१ खोरिया टोलस्थित भित्री सडकमा नम्बर नखुलेको ट्याक्टर आफैँ अनियन्त्रित भइर शनिबार बिहान खसेर दुर्घटना हुँदा ट्याक्टर चालक कर्जन्हा नगरपालिका–१० प्रयागपुर बस्ने २० वर्षीय मनोज कुमार महत्तोको घटनास्थलमै मृत्यु भएको हो ।
ललितपुरको ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित सडकमा प्रदेश नम्बर ७–०१–००१ ख २९०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयायुको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । शुक्रबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उहाँको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको कचनकबल गाउँपालिका–२ अंगुरभिट्टामा डब्लुबी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल र मे. ४ प ९५०० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा मे ४ प ९५०० नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ बस्ने ४० वर्षीय शेषलाल राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उहाँको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।