समाज |

वर्षा र हिमपातले सोलुखुम्बुको जनजीवन प्रभावित : सबै उडान अवरुद्ध

सन्तोष राउत
सोलुखुम्बु पुुस १४ गते । हिमपातका कारण सोलुखुम्बुको जनजीवन प्रभावित बनेको छ । मङ्गलबार रातिदेखि लगातार हिमापात भएपछि चिसो बढ्दा स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हिमपातले चौपाया समेत प्रभावित भएका हुन् ।

खुम्बुक्षेत्रमा करिब एक फिट बढी हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा समेत हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको सल्लेरीका पशुपालक कृषक बुद्धिकहादुर बस्नेतले बताउनुभयो ।

सबै उडान अवरुद्ध
हिमपात भएपछि सोलुखुम्बुका दुवै विमानस्थलमा बुधबारका लागि हुने हवाई उडान पूर्ण रुपमा अवरुद्ध भएका छन् । सोलुखुम्बुको व्यस्त पर्यटकीय तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा सबै उडान अवरुद्ध भएका हुन् ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि तय भएका नेपाल समिट एयरका तीन उडान र तारा एयरलाइन्सका तीन वटा उडान अवरुद्ध भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा एक फिट अग्लो हिउँ जमेको छ ।

त्यस्तै, सोलुखुम्बुको सरमुकाममा रहेको फाप्लु विमानस्थलमा पनि बुधबार सबै उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ ।